चिकित्सा विज्ञानमा
सुरुआती पाठको त्यो निर्दोष भ्यागुतो जस्तै
मेरो छाती चिर्दै सिलाउँदै गयौ
पहिलो पटक सियो र धागो छोडेर गयौ
दोस्रो पटक कैँची छोडेर गयौ
तेस्रो पटक
धारिलो हतियार छोडेर गयौ
अब त प्राण नै रहेन
महसुस गर्नको लागि
जहाँ चिर्ने चिर
जहाँ सिलाउने सिलाऊ
आखिर तिम्रो प्रयोगशाला त रहेछ मेरो शरीर
जे गर्ने गर
जसो गर्ने गर
जोड अथवा घटाऊ
भाग गर वा गुणन
केर वा मेट
बिगार अथवा मिलाऊ
कालोपाटी जस्तै त रहेछ मेरो शरीर
डस्टर लगाऊ अथवा राख
बस्, एउटा आविष्कार गर
जो सास नफेरी बाँच्न सकोस्
तिमीजस्तै तालबिना नाच्न सकोस्
सासहरू थुनेर घाँटीको चिरफार गर्यौ
आवाजहरू रोकेर कानको आकार हेर्यौ
बोलीहरू रोकेर जिब्रोको प्रकार हेर्यौ
टाउकोमाथि टेकेर उफ्रियौ
अनि संसार हेर्यौ
मुटु झिक्यौ, कलेजो निचोर्यौ
अनि जीवन जिउनुको आधार हेर्यौ
रगत चुस्यौ अनि रङ हेर्यौ
आखिर
तिम्रो प्रयोगशाला त रहेछ मेरो मेरो शरीर
नशाहरू चुँडायौ
बारबार हेर्यौ, लगातार हेर्यौ
तिम्रो पर्खाईमा कैयौँ दिन ननिदाएका
राता दुई गोला मेरा आँखाहरूलाई
ग्यालिलियो बनेर चर्को आगो लगाएर उमाल्यौ
तिम्रो यादमा
कैदी बनेका मेरा कमजोर गिदीहरूलाई
इदि अमिन बनेर मदिरासँग धुमाल्यौ
सेतो कागज के बनिदिएको थिएँ
सेक्सपियर बनेर लेख्नु लेख्यौ
क्यान्भास बनेर तिम्रो अगाडि के उभिएको थिएँ
भिन्ची बनेर कोर्नु कोर्यौ
न मोनालिसा बनायौ
न ह्याम्लेट, न म्याक्बेथ
आखिर तिम्रो प्रयोगशाला त रहेछ मेरो शरीर
आयौ, लुछेउ चिथोर्यौ, गयौ
बिन्ती
लुछ्दा नदुख्ने
दुख्दा नबोल्ने एउटा आविष्कार गर न!
रगत बग्ने नसाहरू टुटाएर
त्यस्को नाप निकाल्न खोज्यौ
छातीमाथि पैताला राखेर
चाप निकाल्न खोज्यौ
न्युटन बनेर ढुकढुकीको गति
अनि दुई मुटुहरूबीचको गुरुत्वाकर्षण निकाल्न खोज्यौ
बेन्जामिन फ्रान्क्लिन बनेर
फोक्सोमा तार बेरिदियौ
अलेजेण्डर ग्राहम बनेर
प्रसारण गर्न खोज्यौ
आखिर तिम्रो प्रयोगशाला त रहेछ मेरो शरीर
लुकाउन पनि सकिनँ, देखाउन पनि जानिनँ
स्टिफिन हकिङ बनेर
भविष्यको खुबै कुरा गर्थ्यौ
न भविष्य आयो न तिमी आयौ
आखिर तिम्रो प्रयोगशाला त रहेछ मेरो शरीर
केही पत्थर अनि केही माटोले बनेको
साँघुरो बाटो अनि
पर्खालहरूले घेरिएको
बिन्ती
एउटा आविष्कार गर न
जहाँ भूत, भविष्य र वर्तमान
पानीजस्तै छर्लङ्ग होस्
अनि अविरल बगिरहोस्
अविरल बगिरहोस्!