अनायास आज
मिठो भोक लाग्यो
के खाउँ के
आँत हर्रर गर्यो
मनको तृष्णा जाग्यो
अनि
यसै
खै के भएर हो
बौको पापा
याद आयो
त्यसपछि सँगै
आफूलाई केही
चाहिएको बेला
झोक चल्दा
आमाविरुद्ध
अनेक माग राख्दै
अनशन बस्दा
आमाले खाकी खा भनेर
किताब-कलम दिएर
भोक हड्ताल
तोडाउनु हुन्थ्यो
यो भोक
जवानीको प्यास
पनि हुनसक्छ
कसैको बोली वचन
व्यवहार
हेराइ
बास्ना
छुवाइको
अहिलेको भोकले
विगतको भोक बल्झायो
कलकली
एक अंखरा
पानी पिएर
कम्मरमा पटुकी
कसी सुतेको
मेला पातबाट
आफू एक गाँस
कम खाई
आमाले पोल्टोमा
पोको पारेको
चना र अचार
नाकाबन्दीको
फुको चिउरा
आँसुसँग मुछेर खाएको
प्रवेशिका दिने बेला
बल्लतल्ल
कहिलेकाहीँ
दालमोठ चाउचाउको फाको
आकलझुक्कल
कर्कलाको गाभासँग
कनिका मुछेको
रित्तो कराई
छोपेर आमाले
पाक्-पाक्
भन्दा भन्दै
म लोलाएको
आजको यो
मिठो अदभूत भोक
अनुभूत गर्दागर्दै
व्यस्तता
फुर्सद
मन्दीले
त्यसै टर्यो।