प्रसंग सुरु गरौँ नेपाल हुँदा कल्पना गरिने अमेरिका-अस्ट्रेलियाको तस्बिरबाट। नेपालबाट हेर्दा अमेरिका-अस्ट्रेलिया स्वर्गकै टुक्रा होला भन्ने कल्पना जो कोहीले गर्ने गर्दछन्। विदेशमा हुनेहरूले सामाजिक संजालमा पोष्ट्याउने तस्बिरहरू हेर्दा त झन् मन कटक्कै खाने नै भयो।
ठूला-ठूला भवन, सफा र फराकिला सडक, आकाश नै फरक हो कि जस्तो देखिने निलो गगनलाई पृष्ठभूमिमा राखेर चट्ट परेका कपडा भिरेर फोटो खिचेपछि नेपालबाट त्यस्तो कल्पना गरिनु स्वभाविक नै हो।
अमेरिका-अस्ट्रेलिया हुनेहरूले सामाजिक संजालमा पोष्ट गर्ने सामाग्री नै गुणस्तरिय लाग्छ। अनि नेपालतिर उसकै चर्चा चल्न थाल्छ- ‘वाह! क्या लाइफ बाँचेको छ फलानाले।’
उनीहरूलाई के थाहा, त्यो एउटा फोटो खिचाउन कति दिन घोटिएको छ फलानो। उनीहरूलाई के थाहा, त्यो १ घण्टाको रमाइलोको लागि कति ‘घण्टा’ हानेको छ उसले। उनीहरूलाई झन् के थाहा, त्यो एकछिनको मुस्काउन देखाउन कति रात रोएको छ फलानो।
ऊ नेपालबाट अमेरिका, अस्ट्रेलिया पुगेको हैन। ऊ ‘घण्टा’ हान्ने देशमा पुगेको हो, ‘घण्टा’ हान्न। अर्थात् उसले गरेको कामको हिसाब प्रत्येक घण्टाको हुन्छ। यहाँ घण्टा नहानी एक डेग पनि चल्ल सक्दैन ऊ। जति धेरै घण्टा काम गर्यो त्यति धेरै सामाजिक संजालमा देखाउन सक्छ उसले।
घण्टा हानेको फोटो भने पटक्कै पोष्ट्याउँदैन ऊ। त्यो फोटो पोष्ट्याएपछि त वास्तविकता देखिहाल्थ्यो नि। तर अहँ! ऊ कहिल्यै पोष्ट्याउँदैन। ६ दिन मस्त घण्टा हान्छ, एक दिन यसो समुन्द्र छेउछाउ तिर पुगेर चटके फोटो पोष्ट्याउन भ्याउँछ। अनि नेपालबाट हेर्नेलाई ‘वाह! क्या लाइफ’ लाग्ने नै भयो।
विचरा फलानो, ऊ पनि त बाध्यतामा छ। बाध्यतामा नभएको भए आफ्नो जन्मभूमि छोडेर किन आउँथ्यो र यहाँ? उसलाई पनि साथीभाइ, आफन्तको अगाडि ‘वाह! क्या लाइफ’ देखाउनु नै छ। जो ऊभन्दा अगाडिका सबैले देखाए। चलिआएको परम्परा जो पर्यो।
उसलाई देखाउनु पर्ने नैतिक दबाब पनि छ। नदेखाए कसरी यहाँ आएको औचित्य पुष्टि गर्ने? देखाएरै भए पनि खुसी हुनेलाई खुसी, रिस गर्नेलाई रिस थोपरिदिनै पर्यो। सबैभन्दा मुख्य कुरा त दुनियाँलाई ‘वाह! क्या लाइफ’ देखाउने मिसनमा डौडिएको छ ऊ। नेपालबाट हेर्नेहरूलाई लोभ्याउन पनि उसले यसो गरेको हुनसक्छ।
ऊभित्र जति दर्द भए पनि पटक्कै देखाउँदैन। यहाँ आएर सिकेको नै यही हो उसले। यहाँ आएर उसले धेरै कुरा सिक्यो। नेपाल छोड्ने बेला एयारपोर्ट पुग्दा नपुग्दै देशको माया सिक्यो उसले। जहाज उड्ने बेलामा आँसुको मूल्य बुझ्यो उसले। यहाँ आएपछि आफ्नो लागि गर्ने आफैले हो भन्ने मूल पाठ केही दिनमै सिकिहाल्यो। अझै सिक्ने क्रममै छ। बिरानो देशले के-के सिकाउँछ थाहा छैन उसलाई।
ऊ अहिले दैनिक नेपालका दिनहरू याद गर्दै घण्टा गन्दै काम गर्छ। नेपालको जस्तो ‘लाइफ’ पाउन पाए भनेर सोचिबस्छ। त्यो माटोको सुगन्ध, ती मायालु अनुहारहरू, त्यो धुलो, त्यो धुँवा सबै-सबैले उसलाई रात-दिन बोलाइरहन्छ। तर विचरा! फलानो बाध्यतामा फसिसक्यो। अब ऊ ‘कि गर कि मर’ को अवस्थामा छ।
ऊ सुनौलो भविष्यको सपनामा ‘घण्टा’ हान्ने मिसनमा अगाडि बढिसक्यो। तर पनि ‘लाइफ त नेपालमै छ यार’ भन्ने कथनबाट बाहिरिन सकेको छैन। सायद बाहिरिँदैन पनि।
यहाँ यता हेर्छ दौडिएकाहरू मात्रै देख्छ, उता हेर्छ त्यस्तै देख्छ। अगाडि त्यस्तै, पछाडि त्यस्तै। अनि सोच्छ- ‘डौडिएका चाहिँ कता हुन्? सबै घण्टा हान्न?’
घण्टा हानेअनुसारको मूल्य पाएकोमा भने मख्ख छ। ‘लाइफ’ नभए पनि ‘लाइफस्टाइल’ त छ नि भनेर चित्त बुझाउँछ।
नेपालको जस्तो फुर्सदिलो समय कहाँ पाउनु यहाँ? अरुको उछिटो काट्ने फुर्सदै छैन उसलाई। नेपालका जस्ता साथीभाइ कहाँ पाउनु यहाँ? दिनभरि चियाको चुस्कीमा गफ लडाउनै पाउँदैन उसले। नेपालको जस्तो अर्गानिक जीवन नभए पनि ऊ यतैको जीवनमा भिज्न खोज्दै छ।
उसले भनेजस्तो कार चढेकै छ। केही समय दुःख गर्ने बित्तिकै घर किन्न पनि कुनै आइतबार छैन उसलाई। ठूला-ठूला विलाशी होटेलमा खान ठूलो कुरा हैन उसका लागि। काम नपाउने डर छैन। आफ्नो क्षमता र दक्षताअनुसारको काम पाएकै छ।
बिरामी भए उपचारको चिन्ता छैन। जति घण्टा हान्न सक्यो त्यति सोचेअनुसारको जीवनशैली बिताउन सक्छ उसले। तर खै कुन्नी! किन हो ऊ सन्तुष्ट छैन। उसलाई सधैँ-सधैँ लागिरहन्छ, लाइफ त नेपालमै छ यार!