देवदत्त एक इमान्दार, कर्तव्यनिष्ठ, धार्मिक प्रवृत्तिका मानिस हुन्। परिवारमा एउटै मात्र पुत्र भएर सबैको माया पाएर पनि मनमौजी भएर भाँडिएका थिएनन्। पढाइमा अब्बल भएकोले लोक सेवाको परीक्षामा नाम निकालेर नेपाल सरकारको अधिकृतको जागिरे भए।
अधिकृतको जागिर, पढाइमा तेज र चरित्रमा बेदाग हुनहार युवालाई छोरी दिनेको लाइनै थियो। सुशील र सुन्दर कन्या छानेर उनका पिताजीले देवदत्तको लगागाँठो बाँधिदिए र संसारिक मोहपासबाट मुक्त भएर ताला साँचो, बहिखाता सबै छोरालाई जिम्मा लगाएर आफू बनारसको तटमा विश्वनाथको आश्रममा बस्न गए।
उनकी जहान देवदत्तकी माताजी पनि केही वर्षपछि परलोक गइन्। घरमा अब सबै कामको बोझ देवदत्तको काँधमा आइलाग्यो।
समय बित्दै जाँदा देवदत्तको एक पुत्र र एक पुत्री भए। बुवाकै सिको गर्दै दुवै छोराछोरी अध्ययनमा तेज निक्लिए। परिवार बढ्दै गएसँगै जिम्मेवारी पनि बढ्दै गयो। घरायसी खर्च पनि बढ्दै गयो। सामाजिक रीति-रिवाज र बन्धनबाट टाढा हुन नसकेपछि ती सबै दायित्वहरू पनि पूरा गर्दै जानु पर्यो।
सरल र साधारण रेखामा हिँडिरहेका देवदत्तलाई छोराछोरीको पढाइ खर्च, घर खर्च, सामाजिक दायित्वको बोझले थिच्दै गएपछि अतिरिक्त आम्दानीको आवश्यक पर्न थाल्यो।
दश-पाँच कार्यालयको काम सकेपछि कुनै एउटा निजी कम्पनीमा साँझ तीन/चार घण्टा पार्टटाईम जागिर पनि गर्न थाले। घर त जसोतसो चलेकै थियो। तर अगाडिको जिम्मेवारी झन् भयावह थियो। छोरा र छोरीको उच्च शिक्षा, त्यसपछि तिनीहरूको बिहेवारी।
सोच्दा नै देवदत्त हैरान हुन्थे। सरकारी जागिरको आम्दानीबाट यी सबै पार पाउने कुनै उपाय थिएन। नियम कानुन मिचेर अवैधानिक काममा जसैगरे पनि मन गएन। भयभित हुन्थे सामाजिक मर्यादामा कतै आँच आउला भनेर।
सदाचारी र धार्मिक प्रवृत्तिका देवदत्त कार्यालयमा मर्यादित र अनुशासित जीवन बिताउँदै जाँदा सहकर्मीहरूबाट पछि पर्दै गएको अनुभूति पनि गर्दै गएका थिए।
लोक सेवा पास गर्दा उच्च अंकसहित अघिल्लो पंक्तिमा नाम निकालेकोमा जागिरको पन्ध्र वर्ष शाखा अधिकृतको पदमा जुत्ता खियाउँदा पनि पदोन्नति भएको होइन। आफ्ना सहकर्मीहरूको पदोन्नति हुँदै गएको र आफू पिँधमा पर्दै गएको टुलुटुलु हेर्दै बसेका थिए।
आफूले अतिरिक्त आम्दानी गर्न नसकेपछि आफूभन्दा माथिका हाकिमहरूलाई रिझाउन सकिने अवस्था पनि रहेन। उनीहरूको नजरमा कहिल्यै कार्यसम्पादनमा उम्दा रहन सकेनन्।
जीवनबाट आजित र थकित देवदत्त यो बन्धन र मोहपासबाट के गर्ने र कसरी जीवनलाई अगाडि बढाउने भन्ने द्विविधामा नै बसिरहेका थिए।
सहपाठी मधु पढाइमा मध्यम तर अतिरिक्त कृयाकलापमा अग्रणी थियो। बोलिचालीमा मह जत्तिकै मिठो थियो मधु। धूर्त र चलाख थियो। देवदत्तको मिल्ने साथीहरूमध्येको उनी एक थिए। मध्यमभन्दा माथि पढ्न सकेन। ऊ ठेकेदार भएको रहेछ। देवदत्तकै कार्यालयमा खुलेको ठेक्कामा उसले पनि भाग लिएको रहेछ।
देवदत्त टेण्डर मूल्याङ्कन समितिको सदस्य थिए। देवदत्तले खास केही नगर्दा पनि प्राविधिक मूल्याङ्कनमा मधुको टेण्डर छानिएको थियो। आर्थिक दरमा भने उसको कम्पनी अरुको भन्दा निकै माथि थियो। खै के कसरी मिलायो उसले समितिका सबै सदस्यहरूलाई उसैको टेण्डर स्विकृत गर्ने तजबीज मिलाए र राजी भए।
देवदत्तले केही बोलेन। उसले बोलेको भए केही फरक पर्ने थियो। उसको चारित्रिक विशेषता र निर्भिकता अरु सदस्यहरूको लागि घाँटीको हाड हुने थियो। तर ऊ बोलेन। खै किन बोलेन उसैलाई थाहा भएन।
ठेक्का स्विकृत भएको खुसीमा मधुले ठूलै पार्टीको आयोजना गरेको थियो। त्यो पार्टीमा देवदत्त पनि आमन्त्रित थियो। ठूल्ठूला नेता र वरिष्ठ हाकिमहरू समेतको उपस्थिति भएको ठाउँमा ऊ किनारमा बसेर हेरिरह्यो।
ऊ साथीको प्रगति हेरिरहेको थियो वा मन्त्री र वरिष्ठ हाकिमहरूको उठबस्, बोलिचाली र व्यवहार केही मेसो पाएन। ऊ एक मनले रमायो र अर्को मनले द्रवीत भयो आफ्नै निरीहतामा।
देवदत्तले सधैं आफूलाई केन्द्रमा राखेर हेर्यो। ऊ नै उसको घर चलाउने प्रमुख आधार हो। ऊ भएन भने घर चल्दैन। ऊ भएन भने छोराछोरीको पढाइ चल्दैन, बिहेवारी हुँदैन र सबै व्यवहार बिग्रन्छ। ऊ आफू सम्हालिएर हिँड्नु पर्दछ। सदाचार र धर्म उसको पद-प्रदर्शक भएर उभिने छन्, उसलाई यस्तै लागेको थियो।
सपना नभएको मानिस के मानिस। सपना बोकेर हिँड्नु र त्यसलाई प्राप्ति गर्न अहोरात्र खटिनु मानिसको नियति हो। एकाग्र चित्तले निर्दिष्ट उद्देश्यमा लगन रहनु सफलताको ध्येय हो। तर, अरु अनेक प्रपञ्चले मानिसको एकाग्रतामा भाँजो हाल्ने तत्वहरू सकृय भई नै हाल्दछन्।
देवदत्तको टेबलमा रंगिन कागजले बेरिएको डब्बा थियो, कोसेलीको रुपमा मधुले पठाएको। बाहिर मधुकै नाम थियो। त्यसैले उसले सोच्यो, यो मधुले पठाएको कोसेली हो। उसले खोलेर हेर्यो, त्यहाँ हजार-हजारका बण्डल थिए। कति थिए त्या पनि गन्न भ्याएको थिएन उसले।
उसले केही बोल्न नै भ्याएको थिएन दुई/चार जना सुन्डमुसुन्ड पसेर कर्याप्प समाए। आँखै अगाडि बत्ती झ्याप्प निभेको देख्यो देवदत्तले।
‘गवन,’ ‘घुस,’ ‘अनियमितता,’ ‘भ्रष्टाचार,’ अनैतिक काम जो उसले कहिल्यै सोचेन आज उसैको निधार डामिँदै छ। निधारमा ‘भ्रष्टाचारी’ भनेर छाप लगाएर त्रिशुल डामेर छोडेको गोरुजस्तो छोडिदियो भने मानिसले के गर्छ होला?
उसले धैर्यता हारेन, अर्थात् पागल भएन। पाँच वर्षको जेलको सजाय भयो र कारागारमा जाकियो। कारागारमा गएको दिन घरबाट श्रीमती, छोराछोरी सबै कपडा पुर्याउन गएका थिए। त्यसपछि हप्ता-हप्तामा श्रीमती केही खानेकुरा लिएर भेट्न आउँथिन।
यो क्रम महिना दिनसम्म चल्यो। त्यसपछि पन्ध्र दिनमा एक पटक। वर्षदिन जेलमा बसेपछि महिना दिनमा एक पटक घरबाट मानिसहरू भेट्न आउँथे। दोश्रो वर्षदेखि आक्कलझुक्कल कहिलेकाहीँ देखिन थाले।
देवदत्त पहिला-पहिला घरका सदस्यहरूलाई हेर्न निकै लालायित हुन्थे। पछि हुँदै गएपछि जीवनको बस्तुस्थिति र वास्तविकतासँग साक्षात्कार भएछन् कि के हो निस्पृह रहन थालेको देखिन्थे। ती व्यक्तिहरू जसको लागि उनी सधैं चिन्तित रहन्थे। अहोरात्र खटिएर काम गर्दथे। कमाइको गेडीगेडी जोडेर उनीहरूको आवश्यकता टार्दथे।
आफ्नो इच्छा र चाहनाहरूलाई दबाएर उनीहरूको खुसीमा नै रमाए, ती आज एकान्तबासमा एकान्तसँग रमाइरहेका थिए। पाँच वर्षको काराबासको समय पनि सकिँदै थियो। स्वतन्त्र नागरिक भएर बाहिर निक्लँदै थिए।
जेलबाट बाहिर निक्लने दिनको अघिल्लो रात देवदत्त निदाउन सकेनन्। छटपटिएर नै रात बिताए। भोलि हुने सूर्योदय र त्यसले ल्याउने जीवनको परिवर्तनको लेखाजोखा गर्न असमर्थ भएका थिए। पढाइमा त्यस्तो अब्बल र तेज देवदत्त आज आफ्नै जीवनको हिसाबकिताब बहिखाता नमिलेको देखेर हतास देखिन्थे।
विज्ञान र गणित उनको मनपरेको प्रिय विषय थियो। गणितका शुत्रहरू जस्तो जीवनका शुत्रहरू पनि भइदिएका भए, उनलाई यस्तै लाग्दो हो। तर, जीवन त आकस्मिकता न हो। एउटै शुत्र कालजयी हुँदैन।
‘म नभए मेरो परिवार बाँच्न सक्दैन’ भन्ने लाग्दथ्यो देवदत्तलाई। मित्थ्या गर्वमा आफूलाई समाहित गर्नु र त्यसैमा पौडिएर जीवनको नौका पार लगाउँछु भन्नु एउटा भ्रम नै हो।
उनी रातभर सोच्दै रहे, ‘भोलि मलाई लिन को आउँछ होला?’
‘छोरीलाई नदेखेको पनि निकै भयो। ठूली भई होला। बिहे पनि गरिदिन सकिएन। आफू जेल परिहालियो। कतै लफंगाको फेला पो परी कि! कतै बिग्रिएर पो हिँडी कि!’ यस्तै यस्तै तर्कना गरे।
‘छोरी नआए पनि श्रीमती त पक्कै पनि आउँछे होली। ऊ मलाई भेट्न नआएको पनि वर्षदिन भन्दा बढी भइसक्यो। कतै त्यो छिमेकी बेखामानको छोरो कुसुमेले पो बिगार्यो कि। भाउजू भाउजू भनेर पछि लाग्थ्यो। नत्र किन नआएकी त एक वर्षसम्म मलाई भेट्न?’ मनभित्रको हावा बेस्सरी हुँडरियो देवदत्तको।
‘जो जता गए पनि छोरो त आउला नि लिन’ मनमनै गमे। के थाहा त्यो पनि कुसंगतमा परेर बिग्रिसक्यो कि! चोर, पाकेटमार भएर जेलमै सडेको पो छ कि!’
घर गएर के गर्ने होला। टोल छिमेकले कुन नजरले हेर्लान्। के भनेर मैले तिनीहरूसंग मिलेर बस्ने होला। जति-जति सोच्दै गयो त्यति-त्यति जीवनको औचित्यताभन्दा नैराश्यता र अनौचित्यता हात लाग्दै गयो। बरु जेलभित्रकै जीवन सुन्दर त हैन कतै? चार दिवार भित्रको आफ्नै संसार त हुन्छ। वयक्तिक स्वतन्त्रलाई बिर्सिएर रमाउन सक्ने हो भने जेल पनि एउटा छुट्टै संसार हो।
‘जीवनलाई के तत्वले डोर्याउँछ। माया, लगाव, आशा, ईर्ष्या, लोभ, लाभ, प्राप्ति, कर्तव्य, पराक्रम, सफलता कुन तत्वले? मैले केही कसैको बिगार गरेको त थिइनँ। न त राजकीय जिम्मेवारीबाट कर्तव्यच्यूत। फेरि मैमाथि यो बज्रपात किन आइलाग्यो?’
कतैबाट जवाफ आउने ठाउँ पनि थिएन। जवाफ पाएर नै पनि त्यसको उपयोगिता केही थिएन।
आँखा मिच्दै उठेर बिहानको नित्यकर्मपछि लुगाफाटो मिलाउन थाले। जेलरको कोठामा लगेर खै के-के कागजमा सही गराए र अब स्वतन्त्र भयौ भनेर बाहिर पठाइदिए।
जेलभित्रको चार दिवारबाट देखिएको आकाशको परिवेशभन्दा बाहिर निक्लेर उन्मुक्त परिवेशको स्वतन्त्र निलो आकाशलाई नियालेर हेर्दा जुन अनुभूति देवदत्तले गरे सायद त्यो यसअघि कहिल्यै भएको थिएन। आकाशलाई नियालेर हेरिसकेपछि बाहिरी परिवेशलाई हेरे। आफूले छोडेर गएको दृष्यभन्दा केही फरक थिएन। फरक थियो भने मानिसहरूको व्यवहार र मन।
घरबाट कोही त आएको हुनुपर्छ भनेर कुनाकाप्चा चियाएर हेरे। अहँ, कतै कसैलाई देखेनन्। जेलबाट कैदीबन्दी मुक्त हुने सूचना घर परिवारलाई दिइएकै हुन्छ। खबर पाएर पनि कोही लिन आएनन्। यसमा देवदत्तलाई नमिठो लाग्यो। अमिलो भयो र चस्स मनमा घोच्यो।
मानिसको जीवनमा पीडाको कुनै सिमान्तकृत नापो हुँदैन। जसले जति सहन सक्यो त्यसको अन्तिम किनारा त्यही हो। देवदत्तले पनि नुनिलो आँसु घुटुक्क पियो।
एउटा गाडी धुलो उडाउँदै आयो र देवदत्तकै अगाडि रोकियो। मधु रहेछ गाडीमा। उसलाई हेर्न र बोल्न पनि मन लागेन। आखिर उसले के बिगार गरेको थियो र मधुको उसको जीवनलाई धुलिसात गर्ने गरी दरकिनारा लगाउन पर्नेरु के खण्डखातिर पर्यो र यो शत्रुतापूर्ण व्यवहार गर्यो मलाई?
‘देवदत्त आऊ, म तिमीलाई लिन आएको। तिम्रो घरबाट कोही पनि लिन आउँदैनन्। हिँड मसँग।
मसँग तिमी रिसाएका छौ। त्यो मलाई थाहा छ। तिमीलाई मैले फसाएको होइन। मेरा विरोधीहरूले फसाएका हुन्। आर्थिक प्रस्तावमा सबैभन्दा कम भएर पनि ठेक्का पाउन नसकेको पीडामा तिमीलाई बलीको बोको बनाइएको हो।
मलाई ठेक्का दिनुमा तिम्रो हात छ भन्ने उनीहरूको विचार भएकोले तिमीलाई फसाइएको हो। यो कुरा बुझ। तिम्रो सदाचारिताबाट परिचित मैले ठेक्काको विषयमा तिमीलाई केही भनेको थिइनँ। जे गर्न पर्ने थियो त्यो सबै माथिका ठूला नेताहरूसँग मिलाइसकेको थिएँ।
तिम्रो परिवारको आर्थिक अवस्थाबाट म भलिभाँती परिचित थिएँ। तिम्रो छोरो मेरै कम्पनीमा जागिरे छ। छोरीको बिहे भएर पनि अहिले ज्वाइँसँग अष्ट्रेलियामा छिन्। आमालाई पनि उतै लगेकी छिन्। तिम्रो छोरो काम विशेषले बाहिर पठाएको छु। अब तिम्रो व्यवस्थापन मात्र बाँकी छ। त्यो पनि हुन्छ। अब गाडीमा बस र मसँग हिँड।’
दुवै जना कुरा गर्दै घर पुगे। देवदत्तको घर पहिलाजस्तो थिएन। घर अगाडि छोराको गाडी थियो। घर-आँगन फूलका बिरुवाहरूले सजिएका थिए। आफू छोडर जाँदा रङ्गबिना खुइलिएको घरले रङ्गरोगन पाएछ।
देवदत्तलाई लाग्यो- ‘म नभए पनि जिन्दगी त चल्दो रहेछ। त्यसैगरी जसरी चल्दै आएको थियो। सबैले आ–आफ्नो कर्म लेखेर नै ल्याएका हुन्छन् कि के हो, या फगत आकस्मिकता?’
भोलिपल्ट बिहान मधुलाई बसपार्कमा लगेर छोडिदिन भन्यो देवदत्तले।
मधुले सोध्यो, ‘के गर्दै छौ, कता जाने सोच बनायौं देवदत्त?’
देवदत्तले भने- ‘जीवन सादृष्य सापेक्ष रहेछ। हेरेँ, देखेँ र भोगेँ पनि। अब त्रिनेत्र जगत्धारी सोमनाथको शरणमा जान्छु। पिता पनि उतै गए र म पनि। सनातनको डोरी जो छ।’