अध्ययनको सिलसिलाले काठमाडौं आएको नि आज छ वर्ष भएछ। उच्चस्तरीय शिक्षाको लागि गाउँमा उचित व्यवस्थापन नभएकै कारण अधिकांश विद्यार्थी राजधानी प्रवेश गर्न बाध्य हुनुपर्थ्यो।
त्यही बाध्यकारी अवस्थले म पनि पीडित थिएँ। पछिल्लो छ वर्षमा पाएको सफलता वा असफलता, मित्रहरूको मितव्ययी व्यवहार, गुरुहरूको आशिष, अग्रज दाइदिदीहरूको माया र परिवारको सहयोगबाहेक मसँग अरु त्यति ठूलो प्रगतिको चाङ भने थिएन।
यी कुराहरू पाउँदा सिधा एउटा कुरा मात्र पाउँथें जस्तै- सफल हुँदा खुसी, असफल हुँदा दुखी हुन्थें। गुरुको आशिष पाउँदा फुरुङ्ग हुन्थें त गाली पाउँदा निराश।
दाइदिदीको माया पाउँदा भाग्यमानी सम्झिने म रिसाउँदा अभागी भएको महसुस गर्थें। परिवारको सहयोग मिल्दा चन्द्रमामा सफल अवतरण भएको महसुस गर्ने म सहयोग नमिल्दा टाइटनिक डुबेको सम्झन्थें।
परिस्थिति कहिलेकाहीँ यस्तो आइपर्छ कि सुखदुःख, आशिष, निराश, भाग्यमानी, अभागी, सफल र असफल यी सम्पूर्णले एकैचोटि बज्रपात जीवनमा गराउँछ तब ऊ जिउँदो मुडो बन्छ, कसैको सहारा नपाएको बेसहारा बन्छ। जिन्दगीको परिपाटीबाट हरेस खान्छ। सफलताको परिसूचक गुमेको ठान्छ।
त्यस्तै म पनि आजभोलि जिउँदो मुडो भएको छु, बेसहारा भएको छु, हरेस खाएको छु। कारण मेरो मनको प्रश्न- उनी मेरी सिनियर कि पहिलो प्रेम?
प्रकृतिको एक अनुपम सृष्टि थिइन् उनी। स्वर्गको अप्सराहरूलाई मात दिने थिइन्। अर्बौंमा एक थिइन् उनी। एसइई दिएको वर्ष र प्लस-टु सक्काएको वर्ष एकै भए तापनि उनी बिएस्सी तेस्रो वर्ष पुग्दा म दोस्रो वर्ष पुगेको थिएँ कारण मैले पाएको असफलता, हण्डरगोता र अन्य।
उनीसँग कलेजमा भएको एक कार्यक्रमबाट औपचारिक रुपमा चिनजान बढेको थियो। चिनजान बढिसकेपछि माध्यम जेसुकै होस्, प्रायः उनीसँग कलेजमा भेट, कुराकानी भइराख्थ्यो। उनको रुप, बोली, हाउभाउ र मुस्कानले म उनीसँग बोलिरहँदा नतमस्तक हुन्थें।
नतमस्तक भए पनि म उनीसँग नजिक हुन खोज्थेँ, मनको कुरा खोल्न खोज्थेँ। तिमी नै मेरो सारा संसार हौ भन्न खोज्थेँ तर सक्दिनथेँ।
नजिकैबाट मेरो सारा गतिविधि नियालेका मेरा साथीहरूले मेरो यो पारा देख्दा बेलाबेला ‘सिनियर हो तपाईं भन् के तिमी भनेको? गएर नमस्ते गर्, के हाई गरेको? दिदी बना, के प्रेमिका बनाउन खोजेको' भन्दै जिस्काउँथे।
मनमनै लाग्थ्यो साथीहरूको कामै जिस्काउने त हो तर म आफ्नो गन्तव्यबाट विचलित हुनु हुँदैन, म विचलित भएको पनि थिइनँ। मैले ठानेको थिएँ सिनियर भए पनि उनी नै मेरो पहिलो प्रेम हुन्।
दिनहरू बित्दै गएको थियो। मेरो साहित्यिक शब्दहरू उनलाई साह्रै मन पर्थ्यो। कलेजमा भइराख्ने विभिन्न खाले कार्यक्रमहरूमा सहभागिता जनाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उनकै तारिफ गरिरहेको हुन्थेँ। यही भएर पनि उनीसँग मेरो राम्रोसँग कुराकानी हुन्थ्यो।
बेलाबेला 'तिमी कस्तो राम्रो लेख्छौ है! तिमी त उपन्यासकार नै बन्छौ, साहित्यकार नै बन्छौ' भन्दा मलाई ‘तिमी मेरै हुन्छौ नि है, तिमी बिना म अधुरो छु है' भनेको जस्तो लाग्थ्यो।
उमेरले २० वर्ष उमेरसम्म आइपुग्दा मैले उनी जति मनले खाएको अरु भेटेको थिइनँ। मलाई मेरो तन, मन, मस्तिष्कले सधैं यही भनिराख्थ्यो कि- उनी तेरो पहिलो प्रेम हो अलि ख्याल गर्। र, मैले पनि मानेको थिएँ उनी मेरो पहिलो प्रेम।
समय पनि अचम्मको छ बुझ्नै नसकिने। सिनियरले सिनियर हेर्छन्, मैले चाहिँ जुनियर भइकन पनि सिनियर हेरेको थिएँ। मनमनै माया गरेको थिएँ। दोहोरो नभए नि निःस्वार्थ प्रेम गरेको थिएँ। मेरो यी मैले गरेको एकोहोरो मायाको छाल उनीसँग पुग्यो कि पुगेन त्यो मलाई थाहा छैन तर पनि उनीलाई प्रेम गरी नै रहेको थिएँ।
विस्तारै बुझ्दै जाँदा र उनलाई नजिकैबाट चिन्ने कोसिस गर्दा उनले त सिनियरको पनि सिनियरसँग सम्बन्ध अगाडि बढाएको, जुनी-जुनी सँगै बाँच्ने कसम खाएको कुरा र आउने वसन्तमा वैवाहिक जीवनमा बाँधिने कुरा थाहा पाएँ। त्यसपछि त म नमस्ते झरनाको टुप्पोबाट खसेको जस्तो भएँ।
मेरो एकाएक ओठमुख सुकेर आयो, जीउ गर्मीले फुलेर आयो, ठूलो बज्रपात परेर आयो। मलाई यति ठूलो बज्रपात पर्दा म जिउँदो मुडो भएको थिएँ।
‘जे हुन्छ राम्रो हुनको लागि हुन्छ' यो सुनेको मात्र थिएँ, आज आएर प्रमाणित भएको महसुस गरेँ। खैर! केही छैन। सिनियर भएर पनि दिदी भन्न परेन, तपाईं भन्न परेन, पराई सम्झन परेन, नबोल्ने हो कि भन्ने डर भएन, आफूले गर्ने माया घटाउनु परेन, भाइ बन्न परेन, कस्तो निष्ठुरी रैछ भन्न परेन, प्रेम छुट्ला भन्ने डर भएन।
मुख्यतः आमाबुबाले देख्नुभएको जुन सपना पूरा गर्न काठमाडौं आएको थिएँ, त्यो टुट्ला भन्ने पीर भएन। आमाबुबाको विश्वास गुम्ला भन्ने पीर भएन। उनी मसँग रिसाउलिन् कि भन्ने पीर भएन।
अब तपाईं नै भन्नु, उनी मेरी सिनियर कि पहिलो प्रेम?