कति हराभरा भएको छ
तिमीले पसिना बगाएको मरुभूमि पनि
तिम्रा पसिनाको सिँचाइले
मरुभूमिमा फुलेका
अकबरी फूलहरूको बास्नाले
विश्व मगमगिएको छ।
कति सामर्थ्य लुकेको रहेछ है!
तिम्रो पसिना र रक्तभित्र
तिमी त्यसैले त वीर सपूतका
सन्तान हौ
तिम्रो सामर्थ्यले सजिएका
मरुभूमिहरूले आज समृद्धिको
लामो यात्रा पार गरिसके
तिम्रो कठोर परिश्रमले
आज अर्कैको उजाड मरुभूमि
फुलेको छ, फक्रिएको छ
सजिएको छ, उन्नत भएको छ।
तिमी साँच्चै महान् हौ
तर महान् भएर पनि लाचार छौ।
तिमी अर्कैको मरुभूमि
हराभरा पारेका मान्छे
एकपटक हेर त
तिम्रो आफ्नै करेसा
उर्वर भएर पनि उजाड भएको छ
तिम्रो आफ्नै करेसामा
न त तिमीले नै सिँचाइ गर्यौ
न त तिम्रा दाजुभाइले नै
रोपिदिए मखमली फूलका बुट्टाहरू
न त गोडमेल गर्न जाँगर नै चलाए
तिम्रा दिदी र बहिनीहरूले।
तिमीले रोपेका फूलहरूको
बास्नाले आज सुदूर प्रदेशका गल्लीहरू
उजाड मरुभूमिका ढिस्काहरू
रङमङिरहँदा
तिमी कसरी हेर्न सकौला
आफ्नो उजाड-उजाड भएको जन्मभूमि
कसरी हेर्न सकौला
प्रदेशको निर्मम त्यो भूमिमा
पसिना खन्याउँदा खन्याउँदै
फुस्रो भएको आफ्नो निधार
बैँस र उमेर निथ्रनै आँटेको
आफ्नै जिन्दगी।
त्यसैले आऊ अब
आफ्नै उर्बर करेसामा
रोप्नुपर्छ
समृद्धिका मखमली बिरुवाहरू
उकास्नु पर्छ आफ्नै उर्वर भूमि
र गर्नुपर्छ, गरिरहनुपर्छ
पसिनाको सिँचाइ।