दलबल सहित विराटरूपमा
सधैँ चुनावमा उठिरहने
र सधैँ जितिरहने उम्मेदवार
अनि उसकै अगाडि
त्यो पढ्न अवसर नपाएको
कामको खोजीमा भौँतारिरहेको
एक छाक खान पनि धौ-धौ पर्ने
झुप्रोमा बस्ने देशको नागरिकलाई
पत्रकारले सोध्नुभयो-
तिमीलाई विकास चाहिन्छ कि पैसा?
‘हजुर त्यो विकास कहिले-कहिले
मलाई त भोको पेट भर्न पैसा चाहिन्छ।’
कसरी लुटिएका रहेछन् त
सिधासाधा नेपाली जनता
विकास सुन्दा-सुन्दा
कहिल्यै नदेखेका
अनि त्यो दुखी विचराकै अगाडि
राजनीतिमा लागेर सधैँ जित्ने
पटक-पटक मन्त्री भएर
सबैतिरबाट सम्पन्न भएको
यसपालि पनि चुनावमा उठेको
सुखी धनधान्य उम्मेदवारलाई
पत्रकारले सोध्नुभयो-
ए नेता
यो कस्तो तिम्रो गठबन्धन?
के तिमी कांग्रेस हौ?
कि कम्युनिष्ट?
नढाँटिकन भन
छातीमा हात राखेर भन
तिम्रो सँच्चा रूप के हो?
पत्रकारको यस्तो महत्वपूर्ण
प्रश्नमा पनि
नेता मुसुक्क मुस्कायो
पत्रकारको प्रश्न नसुने झैँ गरी
जनतासँग एक भोट माग्यो
अनि त्यो जनताको मनले
मनमनै भन्नथाल्यो-
कहिले रूखलाई भोट माग्छौ
कहिले हँसिया हथौडालाई
कहिले सूर्यलाई
के हामी जनता भेडा हौँ?
तिमीले जे रूप बदलिए पनि
पछि-पछि हिँडनु पर्ने?
तिमीलाई जिताउनु पर्ने?
उम्मेदवारको प्रश्नले
दुखी गरिब जनता झल्याँस्स भयो
उम्मेदवारले फेरि दोहोराएर सोध्यो-
तिमीलाई विकास चाहिन्छ कि पैसा?
‘हजुर, त्यो विकास कहिले-कहिले
मलाई त भोको पेट भर्न पैसा चाहिन्छ।’