आमाले प्यावा पैसाले किनेर लगाएको
बजारे सुनौलो रंगको त्यो लुर्कना
जति-जति रंग गएर सेतो हुँदै गयो लुर्कनाको
त्यति-त्यति उज्याली देखिँदै गइन् हाम्री आमा
कति राम्री हाम्री आमा है कान्छा!
बाबुले चाँदीको लुर्कना आमालाई दिउँला भनेको
सानैदेखि सुनेथ्यौं है कान्छा हामीले
आमाको कान निकै दिन बुच्चै थियो
आमाको कानको लोती समातेर
त्यो स्यानो छिँडबाट
मैले तँलाई
तैंले मलाई
हेर्नेथ्यौँ है
कुक्कु हा! गरेको याद छ कान्छा?
आमा रमाउनु हुन्थ्यो
जति-जति रंग गएर सेतो हुँदै गयो लुर्कनाको
त्यति-त्यति हाम्री आमा उज्याली देखिँदै गइन्।
पहिले आमाको कानमा बाँसको सिन्का लाग्यो
आमा गहुँगोरी देखिन थालिन्
आमाको कान पाक्यो सिन्काले होला सायद
तेल फुकेर ल्याउनु हुन्थ्यो
जन्तरे बाको घरबाट
हामीले आमाको कानको अनेकौं रूप
देख्यौं है कान्छा
जति-जति रंग गएर सेतो हुँदै गयो लुर्कनाको
त्यति-त्यति हाम्री आमा उज्याली देखिँदै गइन्।
फ्याँक्यो सूर्यले किरण एकाबिहानै
झन् टल्कियो आमाको लुर्कना
फुर्कियौं हामी
कति तेजिलो है हाम्री आमा कान्छा!
पूर्णिमाको रातमा आमाको लुर्कना टल्कियो
जून लुक्यो लाजले
आमाको लुर्कना झन् तेजिलो जूनभन्दा
बादलले छोप्यो जूनलाई
जति-जति रंग गएर सेतो हुँदै गयो लुर्कना
त्यति-त्यति हाम्री आमा उज्याली देखिँदै गइन्।
देखिनु थाल्नु भयो हाम्री आमा हिरा जस्ती
लगाएको त्यो बजारे लुर्कनाले नै
झन् सुनको लुर्कनना भए त!
बर्मामा रहेका मावलाका हजुरबाले
सुनको लुर्कना दिनुहुन्छ भन्नु हुन्थ्यो आमा
कसले बनाइदिने पासपोर्ट
कसले देला भिसा
यता हामी
बर्मामा मावला!
लु जा अन्तरे र कान्छा मावका!
कताबाट आवोस सुनको लुर्कना
हाई हाम्री आमा!
मेरो माइती! मेरो माइती! भन्दै गइन् हाम्री आमा
थिएन कुनै प्यावा पैसा आमाको
जति-जति रंग गएर सेतो हुँदै गयो त्यो बजारे लुर्कना
त्यति-त्यति हाम्री आमा उज्याली देखिँदै गइन्।