पुस्तक पढ्न नमान्ने अटेरी हो।
मलाई माफ गरिदेऊ तिम्रो नाममा एउटा पत्र लेख्दै छु।
यो पत्र ती अटेरीहरूको लागि हो जो बढो आनन्दले पुस्तक किन्न सक्ने औकातमा छन् तर पुस्तक किन्दैनन्। कसैले सित्तैमा पुस्तक दियो भने पनि पढ्दैनन्। नपढ्नुमा अनेक बहानाबाजी गफ निकाल्छन्।
भन्छन्, ‘मलाई पुस्तकका पाना पल्टाउनी बित्तिकै झपक्क निन्द्रा लाग्छ।’
‘आजकालको जमानामा पनि कोही पुस्तक किनी बस्छ, सबैकुरा फेसबुकमा आइहाल्छ नि।’
‘सुलुत्त दुई गाँस भात निल्ने फुर्सद छैन, कहिले पढ्नु।’
‘अब पढेर लडी पुच्छर, मर्ने बेलामा हरियो काँक्रो भनेजस्तो।’
‘च्याउँ र म्याउँले ख्याउँ-ख्याउँ गर्छन्, कसरी पढ्नु?’
बहानाबाजीका थुप्रै तरिकाहरू छन्। जसलाई पुस्तक पढ्न मनै लाग्दैन उनीहरूसँग झन् धेरै बहानाहरू छन्। सायद उनीहरूको घोप्टे नजरको निष्कर्ष यो हुनसक्छ- यो पुस्तक भन्ने चिज बेकारको कुसेत्रो हो। दिमाग बटारेर के कामले पढ्नु?
अटेरीहरूको काइते पारा देख्दा उदेक लाग्छ। यसो विचार गर्छु के तिनको पुर्पुरोमा अर्कै अर्गानिक पाराको कुनै तत्त्व पसेर यस्तो भन्न लगाउँछ भने भिन्नै कुरा हो नत्र त कुरो मिलेन। अहिलेसम्म संसारमा जति मानिसहरूले पुस्तक लेखे, जतिले पढे तिनीहरूले जीवन गुजाराको सबै काम सकेर अब चाहिँ पढम् न त भनेर सिरानीमा ढल्केर, सिलाम चबाउँदै, उप्परखुट्टी लगाएर पढेका होइनन्। अझ कति दर्दनाक आर्थिक अभावको अवस्थामा पनि पढ्ने कोसिस गरिरहेका छन्।
अटेरी महोदय! तिम्रो लागि यो दुनियाँ पुस्तकबिना नै रोमान्चित छ। जे गर्यो जसो गर्यो खाइसार कि लाइसार, मरेपछि लम्पसार केको पुस्तक भन्ने लाग्ला तिमीलाई।
तिमीलाई यस कुराको याद छैन, तिमीले जस्तो जीवन जिएका छौ। तिमी नलेखिएको तर तिमी वरिपरिको समाजले पढिसकेको तिमी त एउटा पुस्तक हौ। त्यसैले तिमी पुस्तकबाट जतिसुकै टाढा रहन्छु भन्छौ भने पनि पुस्तक त तिमी जन्मँदै तिम्रो पुर्पुरोमा टाँसिएर आएको छ।
तिमीले आफ्नो पुर्पुरोको पुस्तक नपल्टाएर के भयो र? तिमी वरिपरिको समाजले तिमी सिङ्गो पुस्तकलाई दिनदिनै पाना पल्टाएर पढिरहेको छ। तिम्रा आँखाहरूले के हेरिरहेको छ? तिम्रा कानहरूले के सुनिरहेको छ? तिम्रो जिब्रोले के कुरा फड्कारिरहेको छ? तिम्रो नाकले केको बास्ना खोजिरहेको छ? दुस्मनीको भावना, झैँझगडामा सिपालुपना, ईर्ष्या, स्वार्थीपना, फुट र गुठबन्दी गर्नमा तिमी कति तालिम प्राप्त छौ भन्ने कुरालाई कसले पढेको हुँदैन र?
त्यसैले त ढिपी गर्छु, आफू एउटा असल पुस्तक बन्नको लागि थुप्रै असल पुस्तक पढ्नु पर्छ। तिमी अटेरीको गलामा अक्षरको माला पहिर्याउन खोज्छु। हात जोडेर नमस्कार टक्राउँदै यो सालबाट महिनामा दुई/चार वटा पुस्तक किनेर पढ्न लाग्दा तिम्रो पुर्पुरोमा बिपत्ती नआउला।
तिमीलाई पुस्तक पढ्ने समय छैन। यहीँनेर तिम्रो पुर्पुरोमा एउटा झटारो हान्न मन लाग्छ। हो त नि, तिमीलाई तासको अखडामा बादशाहको मिसी पल्टाउने समय तिम्री आमाले तोरीमा आलु साटेर आलुमा पिँडालु साटेर ल्याइदेकी हुन्?
टोलभरिका मान्छे जम्मा पारेर कालिमैयाँको यौनदेखि गोरिमैयाँको तिउनसम्मका कुरा झिक्दै घोडाको तालमा हिनहिनाउँदै वरिपरि हिँड्नु पर्छ भनेर तिम्रा बाउबाजेले अर्ती दिएका हुन्?
भट्टीमा पसेर दुई गिलास लोकल पिई सक्कली स्वभावमा फुई लडाउँदै बेलुका बारमा पसेर पच्चिस हजार वार-पार गराएपछि मलाई गोर्खा स्ट्रङले लुल्याइदिन्छ, वल्ड दरबारले पछारिदिन्छ। अनि पो म जिउँदो हुनाको हुङ्कार झिक्छु। जुन हुङ्कार सुकरातले मच्चाएनन्। क्राइस्टले चिच्याएनन्। जंगबहादुर जंगिएनन्। अब म एक्लै काफी छु। भन न बरु म पत्याउँला।
पुस्तक पढ्न भनेपछि तिमीलाई क्या गजबको कामजरो आउँछ है! मानिलिउँ पुस्तक भन्ने जिनिस तिम्रो पुर्पुरोमा चिलाउने काउसो हो। छोयो भने पुर्पुरो बर्बाद।
तिमी अटेरीलाई के थाहा पुस्तक सबभन्दा नजिकको आत्मिय मित्र हो भन्ने कुरा, जसले जीवन जिउन गाह्रो परेका साँघुरा घाँटीहरूमा सास फेर्न मद्धत पुर्याउँछ। पुस्तक एकान्तको प्रिय गुरु हो जसले जीवनमा काम लाग्ने असल कुरा सिकाउँछ। पुस्तक विश्व ब्रमाण्डको आँखीझ्याल हो जसले संसारलाई चियाउँदै हेर्न सिकाउँछ।
पुस्तक एउटा यस्तो मध्यस्तकर्ता हो जसले विपन्नदेखि सम्पन्नसम्म भाँतीभाँतीमा जीवनसँग परिचय गराइदिन्छ। पुस्तक एउटा यस्तो गोरेटो हो जसले तिमीलाई ध्यानसँग विचार पुर्याएर बुद्धिमानीपूर्वक हिँड्न सिकाउँछ। पुस्तक दोबाटो पनि हो अब असल बाटो यता हो कि उता हो भनेर तिम्रो पुर्पुरोमा प्रश्नवाचक चिन्हको खाप्स्यो गाडिदिन्छ।
तर तिमी पुस्तकबिना नै राक्षसका डंका डढाउने गुड्डी हाँक्छौ। गति हराएको विचार बकेको सुन्दा बालखै छौ बाबु आफ्नो खोपडीको दिउरी बोकेर केही विद्वानहरूको मजेरीमा गएर अलिकति ज्ञानको लिटो माग भन्नु जस्तो लाग्छ। तर तिमी त्यता नगएर नाङ्गा पैतालाभन्दा माथि-माथि, निकै माथिसम्म देखाएर नाङ्गै नाच्ने नग्नघर तिर जान्छौ।
फ्रान्स तिरबाट आएको वाइनमा मित्रताको ज्वाइन मिलाउँदै मांसहारी भोजनमा हाँसोको खित्का उडाउँदै आकाश छेडौँला जस्तै गरी चिहिलिन्छौ तर पुस्तक पढ्दैनौ। तिमी पुस्तक पढ्नमा साह्रै अटेरी छौ। अनेक बहानाबाजी गर्छौ।
प्रिय अटेरी हो! संसारभर लाखौँप्रति पुस्तकहरू प्रकाशित भैरहन्छ। हजारौँ लेखकहरूले लेखिरहन्छन्। सयौँको संख्यामा रहेका प्रकाशकहरूले छापिरहन्छन्। एक घुट्की नशापानीलाई घुटुक्क निलिसकेर एक फेरि आफ्नै बुद्धिको ढकनीलाई अलिकति उचालेर सोच त, पुस्तकप्रति कति ठूलो लगानी छ।
अझ सम्झँदा महत्वपूर्ण कुरा यो हो कि पुस्तक कसैको दिमागी तन्तु पग्लिएर प्रिन्ट भएर आएको कुरा हो। अझै पनि तिमीलाई यो कुरा सामान्य लाग्ला। तिमी यसरी बुझिदेऊ न जसरी कोलमा तोरी पेलेर तेल आउँछ, त्यसैगरी रचनाकारलाई पनि दिमाग पेलिएर पुस्तक तयार पार्न कहाँ सजिलो छ।
तिमी फेरि यसो पनि भन्न सक्छौ- कहर गरेर तोरी पेलेझैँ किन दिमाग पेलेर पुस्तक निकाल्नु पर्यो त? कुरो यसो हो। रचनाकारको दिमागमा हजारौँ हजार शब्द फल्छन्। ती शब्दहरूलाई उसै नाश पार्नु भनेको त ज्ञानको भोकमारी चलाउनु जत्तिकै हो।
एकचोटि यो कुरा विचार गर त। यो संसारमा कसैले पनि केही कुरा रचना गरेको हुँदैनथ्यो भने संसार कस्तो हुन्थ्यो? विचरा त्यो रचनाकारले कति ठूलो जोखिम मोलेर रचना गर्छ। दिमागमा शब्द पेल्दा-पेल्दा उसले कति धेरै भोकहरूलाई पेलिसकेको हुन्छ। निजी घरबारमा तरबार चल्न थालिसकेको हुन्छ। तिमीजस्तै अटेरीहरूको माझमा त झन् ऊ अर्कै भूगोलबाट आएको एक फिरन्ते जस्तै देखिन्छ।
अटेरी दाजुहरू, अटेरी भाउजूहरू। पुस्तक नपढ्ने मामिलामा तिमीहरूको एउटै ड्याङमा बसोबास छ। हामी त पुस्तक पढ्दैनौँ भन्ने एउटै सवालजवाफ छ। तर यो कुरा ख्याल राख्नुस्, ब्युटीपार्लरबाट प्याजी बनेर निस्कदैँ रेस्टुरेन्टमा पुगेर पिज्जा चपाउँदै, बनारसी झिल्के सारी पहिरेर मस्किँदै कर्के नजरमा ठाँटिएको भरमा जहिल्यै जिन्दगीले उकालो गति लिँदैन। ओरालोमा अमलिसरि पछारिनी समय पनि आउन सक्छ।
सम्झेर ल्याउँदा हिजोअस्तिको त्यो रमझम् सपना हो कि विपना हो भने जस्तो लाग्ने समय पनि आउन सक्छ। दिनमा सत्र चोटि बैँसको सिउँदो सजाउँदै हेरेको ऐनालाई टाढैबाट देख्दा पनि खप्परलाई फुटाएर फालिदिन पाए पनि हुन्थ्यो नि भने जस्तो हुनसक्छ।
अटेरी भाउजू पुस्तक नपढ्नेहरूको लागि पुराना दिन सम्झेर मनमा साह्रै आगत पर्नसक्छ। तर पुस्तक पढ्नेहरूको लागि चाहे आकाशले असिनै असिना वर्षाओस्, चाहे समुद्रले पातालमा छाल उरालोस्, उसको घरमा सयौँको संख्यामा पुस्तक हुन्छन्। जस्तो समय आउँछ ऊ त्यस्तै पुस्तकसँग मित्रता गाँसेर रमाउन सक्छ।
अटेरी दाजु र भाउजू दुवैलाई चेतना भया, पुस्तकभित्र अति कठिन परिस्थितिलाई पनि सामाना गरेर जीवन जिउने मानिसहरूको संसार भेटिन्छ। सितिमिती दुःखले जिन्दगीलाई गलाउँदैन। तिमीलाई थाहै छ। दुई/चार वटा पुस्तक नकिनी, नपढी तिमीहरूले पनि यो संसारबाट सासलाई पास गराउने हौ कि क्या हो! एउटा कुरा यता सुन, ज्ञानको अभावले समाजमा कति ठूलो कोलाहल मच्चिएको छ।
मानाचारेक पखाला पोखौला जसरी हाम्रो वरिपरि कतिपय मानिसहरू चिच्याइरहेका छन्। लौ यसो भएन, अब उसो हुनु पर्छ भन्दै चिच्याउँछन्। उसले भने जस्तो उसो गर्यो भने त झन् वरवादिको भड्खारो त्यहीँ नजिकै छ। तर पनि ऊ च्याँठिन छाड्दैन। ऊ ढिपी गर्छ- ‘यसै हुनुपर्छ।’
ऊ नबुझी चिच्याइरहेको छ। ऊ नबुझी दौडिरहेको छ। ऊ आफैंलाई थाह छैन यो दौडमा आफू कहाँ पुग्छु भन्ने कुरा। कुन कुरा स्थापित गर्ने हो यो कुराको उसलाई पटक्कै ज्ञान छैन तर ऊ अर्को कसैलाई विस्थापित गर्न पाए परीको हातबाट पापा पाउँला जस्तो गर्छ।
हेर ज्ञान भन्ने कुरा उसै माथिबाट आकाशवाणी हुँदैन। पुर्खाले अर्ति दिएको भरले मात्रै पनि पुग्दैन। ए त्यस्ता जाबा पुस्तक मैले पनि उहिल्यै स्कुलमा पढ्या हो भनेर पनि हुँदैन। वर्तमानलाई वर्तमानकै अध्ययन अनुसन्धान बढी प्रभावकारी हुन्छ। त्यसको लागि त साँच्चिकै पढ्नु पर्यो।
प्रिय अटेरी हो, हामी पुस्तक प्रेमीहरूको संख्या संसारमा ठूलो छ। तर पनि समाजको एउटा पाटोमा उभिएर हेर्दा यो संख्या निकै सानो देखिन्छ। हामी थुप्रै अटेरीहरूको माझमा छौँ। हाम्रा घरघरमा अटेरीहरू छन्। टोल-टोलमा अटेरीहरू छन्। वडा-वडामा अटेरीहरू छन्। जिल्ला-जिल्लामा अटेरीहरू छन्।
देशको मुख्य सहरहरूमा अटेरीहरू छन्। अटेरीका कुरा र हाम्रा कुरा फरक छन्। उनीहरूका सामु हामी एक बुदबुदाइरहेका छौँ। उनीहरू विद्वान, हामीहरू मूर्ख जस्ता भएका छौं। यस्तो हुँदा हाम्रा मनहरू चसक्क चस्किन्छन्। हामी हेराइको दृष्टिकोणले गर्दा एउटै बस्तु फरक-फरक देखिन्छ भन्छौँ, उनीहरू जे हेरेको त्यही नै देखिन्छ कसरी फरक हुन्छ भन्छन्।
यो सालबाट लौ न पुस्तकप्रेमी मित्रजन हो तिमी हामी मिलेर एकगठ हौँ। हाम्रो समाजमा रहेका अटेरीहरूको हातमा पुस्तक पुर्याएर नपढेता लाजै हुन्छ भन्ने कार्यक्रम ल्याउँ। नेतालाई भनौँ आफ्ना कार्यकर्तालाई भेट्दा पहिलो चरणको गफ। हिजोआज कुन पुस्तक पढ्दै छौ भनेर सोध्न लगाउँ।
विद्यार्थीहरूको माझमा कति वटा कुन-कुन पुस्तकको चर्चा गर्नुभयो मास्टर साब, स्कुलमा पुस्तकालयको हालखबर के छ भनेर बाटैमा मास्टर साबलाई रोकेर एकछिन कुरा गरौँ। पिरतीमा अल्झिएका तरुना-तरुनीहरूलाई पनि पिरतीको गति सप्रिन पुस्तकको ठूलो भूमिका हुन्छ भनौँ।
अस्पतालतिर डाक्टर साब र नर्स दिदीबहिनीहरूले पनि बिरामीको अवस्थालाई हेरी बुझी मिलेसम्म पुस्तकका विषयमा कुराकानी गरौँ। यातायात, चिया पसल, सार्वजानिक स्थल, पार्क, पँधेरा जता मिल्छ त्यतातिर पनि पुस्तक पढ्नलाई प्रेरणा दिने कुरा उल्लेख गरौँ। पुस्तक किन्न सक्नेले किनौँ, किन्न नसक्नेलाई सहायता पुर्याउँ।
मामाले भान्जालाई भेट्दा, फुपूले भदा भेट्दा, सालीले भिना भेट्दा, भिनाले मिना भेट्दा, हजुरबाले नाति भेट्दा, नातिले साथी भेट्दा, पास्टरले मास्टर भेट्दा, मास्टरले डाक्टर भेट्दा, डाक्टरले कन्डक्टर भेट्दा, कर्मचारीले ब्रह्मचारी भेट्दा, ब्रह्मचारीले मर्मचारी भेट्दा, पुलिसले चोर भेट्दा, चोरले खोर भेट्दा, राम्रीले राम्रो भेट्दा, राम्रोले हाम्रो भेट्दा अब सोध्ने गरौँ- हिजोआज तपाईं कुन पुस्तक पढ्दै हुनुहुन्छ?
मैले यसो लेख्दै गर्दा तपाईं पनि मलाई प्रश्न गर्न सक्नुहुन्छ- तिमी चाहिँ कुन पुस्तक पढ्दै छौ भनेर। हेर अहिले त म डाक्टर नवराज केसीको पुस्तक ‘शून्यको मूल्य’ भित्र हराइरहेको छु। त्यहाँभित्र मेरो भेडिनी कान्छीसित चिनजान हुँदैछ। पहिलो भेटमै कस्तो नजर जुध्यो भेडिनी कान्छीसित।
भेडिनी कान्छीको जिन्दगीलाई पढ्दै जाँदा मलाई त यस्तो भयो कि कतै पापरहित, भोकरहित, लोभरहित उनको घरबारमा बाधा नपर्ने, उनको पिरतीमा खति नहुने, त्यस्तो निस्खोट पाराको ‘आई लभ यू’ कतै लुकेर बसेको हुन्थ्यो भने।
हो, त्यस्तो पाराको आई लभ यूलाई सुटुक्क टिपेर ओठमा झुण्ड्याएर भेडिनी कान्छीको कानमा पुर्याउन मन लागेको छ- हेर पुस्तकले त मलाई यस्तो पो गराउँछ।