कहिल्यै हालखबरसम्म नसोध्ने आफन्तीले मेरो विवाहका प्रश्न गर्न घर धाउन थालेका छन्। हजुरलाई के कसैले विवाह कहिले गर्ने भनेर सोध्दैनन्?
विवाहित मान्छेहरूको जमात देख्दा तिमीले विवाहका लागि सोचिनौ भन्नुहोला।
बिहे गरेका मान्छेहरूको जीवन देख्दा मलाई कहिल्यै त्यो विवाहित जीवनको लोभ लागेन। मलाई आफ्नो इच्छा निमोठेर इच्छा विपरीत बाँच्न मन लागेन। मैले कहिल्यै आफ्नो लक्ष्यभन्दा अर्को पनि संसार छ सोचिनँ र त्यो कहिल्यै थाहा पनि पाइनँ।
तर मेरा आफन्तलाई मेरो विवाहको चिन्ता दिनदिनै बढ्दैछ। बिहे कहिले गर्ने, उमेर धेरै भयो, छारीको विवाह गर्न ढिला गर्नु हुँदैन, ढिला गरे विवाह हुँदैन जस्ता अनावश्यक प्रश्न र मेरो बारेमा चिन्ता गर्ने मेरा आफन्तलाई धन्यवाद।
कतिपय अवस्थामा प्रेम पाएर सिन्दुर नपाउनु र सिन्दुर पाएर प्रेम नपाउनु विवाहसँगै जोडिएका कुरा भएकाले पनि होला मैले विवाहलाई महत्त्व दिन सकिनँ होला।
हजारौंका लाखौं प्रश्नले मलाई पनि छेउमा असल मान्छेको चाहना बढ्दैछ। भनिन्छ नि भाग्यभन्दा धेरै र समयभन्दा पहिले प्राप्ति सम्भव छैन। सबै कुरा सही समय आएपछि हुन्छ रे, म त्यही समयको प्रतीक्षामा छु।
हजुरलाई पनि प्रश्न आउला- यतिका समय हाम्रो भेट किन भएन?
एक दिन हाम्रो भेट हुनेछ प्रिय कल्पनाको राजा। हजुरलाई म एउटा चिठी कोर्दैछु। हामी एक भएपछिका प्रतिवद्धता यही चिठीमा उल्लेख गर्छु-
प्रिय मान्छे,
हजुरको घरमा बुहारी होइन छोरीको रुपमा भित्रिन चाहन्छु। मेरो घरको हजुर ज्वाइँ होइन छोरा भएर आउनु पर्छ, सक्नु हुन्छ? जसरी नि आउनै पर्छ त म भन्न सक्दिनँ तर आउन चाहनुहुन्छ भने मेरो घरको ढोका सधैं खुला हुनेछ।
अहिलेका धेरै वैवाहिक सम्बन्धहरू जागिर, पैसा, धन, सम्पत्ति, खानदान हेरेर जोडिन्छ। यस्ता सर्तमा जोडिएका सम्बन्धमा म कहिल्यै प्रेम देख्दिनँ।
गरगहनाको प्रदर्शन गर्ने, पार्टी प्यालेसमा गएर तामझामका साथ मान्छेहरूलाई बोलाएर भोज खुवाउने र सामाजिक सञ्चालनमा अनावश्यक फोटो पोष्ट गर्ने, यो बहानाको विवाह परम्परालाई मैलेजस्तै अस्वीकार गर्न सक्नुहुन्छ या सक्नु हुन्न?
यो अनावश्यक खर्चको सदुपयोग गरी समाजमा देखिएको भोकमरीको समस्या समाधानमा सहयोगी बन्न सक्छौं। दूर-दराजका बालबालिकालाई समान शिक्षाको पहुँच ल्याउने माध्यम बन्न सक्छौं। त्यति गर्न नसके भविष्यमा आउने जोखिमको लागि सोचेर राखे पनि हुन्छ जस्तो लाग्छ।
नेपाली समाजमा एउटी बुहारी भित्रिँदा त्यस घरमा एक किसिमको शीत युद्ध चल्छ। एउटै घरभित्र ठाउँ-ठाउँमा चुलो बल्न थाल्छ। विस्तारै घर फाट्छ, खेतबारीमा किल्ला गाडिन्छ। अंशबण्डा लाग्छ, सबै हिसाब हुन्छ। बाँकी रहेको बाआमाको जिउनी भनेर आफ्नै बाआमालाई जग्गा छुट्टाइन्छ।
प्रिय मान्छे, मलाई परिवारका सबै सदस्य एउटै छानामुनि बसेर एउटै भाडामा पाकेको मिठो-मसिनो खाएको असाध्यै मनपर्छ। मेरो कारणले हजुर परिवारबाट टाढा भएर बस्नु पर्दैन। एउटै घरबाट अलग भएका सहोदर दाजुभाइका परिवार र आवश्यक परे दिदीबहिनीलाई पनि घरको दैलो खोलिदिन सक्छु। यदि यो आवश्यक परेन भने पनि म मन खोलेर हजुरको परिवारलाई आफ्नो परिवार सम्झी हृदयदेखि प्रेम गर्न सक्छु।
जसरी एउटै घरमा हामी दुवैका परिवार अटाउन सक्छौँ, त्यस्तै मेरो परिवारमा हजुर अटाउन सक्नुहुन्छ?
अर्को कुरा, बिहेपछि हजुरको घरको संस्कारको निर्माता म बन्नेछु अनि हजुर बाँकीको मेरो भविष्य निर्माणमा सहयोगी बन्नुहुन्छ। मान्छे विवाहपछि दास बन्नुपर्छ भन्ने छैन। के हजुर मेरो जीवनमा आएपछि मैले मेरा इच्छा मारेर बाँच्नु पर्ला र? के प्रेम यति निर्दय हुन्छ?
हाम्रो प्रेम यस्तो नहोस् जहाँ कसैका इच्छा, चाहना र सपना मरून। कसैका कारणले कोही कसैको इच्छा र सपना कहिल्यै वन्दित नहोस्। बरु एकअर्काका चाहना, इच्छा, सपना पूरा गर्न एकअर्काको प्रेम सशक्त ऊर्जा बनोस्।
प्राय: आमाबुबाहरू छोरीको विवाह गर्दा केटाको सम्पत्ति र जग्गा प्राथमिकतामा राखेर हेर्छन्। त्यो त्यति अनावश्यक पनि होइन। अभिभावकहरू आफूले भोगेको दु:ख, गरिबी तथा अभाव आफ्ना सन्तानमा नपरोस् चाहन्छन्। तर म यो निर्णयलाई स्वीकार गर्दिनँ।
म आफ्नो जीन्दगीको जिम्मेवारी लिन म आफै आत्मविश्वासका साथ तयार छु। एउटी नारीले पुरुषको सम्पत्ति हेरेर विवाह गरेका दिनदेखि त्यही पुरुषको दास भएर बाँच्नु परेको छ र पर्छ पनि। न ऊ आफ्नो जिन्दगी आफ्नो खुसीले बाँच्न पाउँछे न त त्यो घरको सदस्यझैँ।
हजुरले मेरो परिवारसँग दाइजोका रुपमा सम्पत्ति, खरखजना नखोज्नू होला। छोरी अन्माउँदा सम्पत्ति दिएर ज्वाइँलाई लाचार बनाएको हेर्न सक्ने शक्ति ममा छैन। आशा गर्छु हजुरले यस्ता कुनै सर्त राख्नु हुने छैन प्रिय मान्छे।
मेरो उच्च शिक्षाको प्रमाणपत्र बुबाको रगतले कोरिएको छ। शृङ्गार सिकाउने फुर्सद त थिएन आमासँग तर संघर्ष, सम्मान, संस्कार र घर व्यवहार मजाले सिकाउनु भएको छ। म त्यहीँ लिएर हजुरको घर भित्रने छु।
हामी हामीलाई चाहिने जति सम्पत्ति आफैले कमाउँला। ठूलो घर-गाडी र जग्गा-जमिन महत्त्वपूर्ण होइन। त्यो घरभित्र बस्ने मानिसको आपसी माया र सम्मानले घर ठूलो बनाउने हो। हामी दुवै मिलेर कुनै आफ्नै क्षमताले भ्याउने काम गरौंला, आवश्यकअनुसार सानो एउटा घर बनाउँला।
अरुकै नियन्त्रण निर्देशनमा काम गर्ने जागिरे जिन्दगी काहीँ खुसि हुन्छ र? मेरा हातहरू भान्सामा र वासिङ मेसिनमा मात्र सीमित राख्न चाहन्नँ। मेरा काम गर्ने हात र हिम्मतलाई हजुरको तर्फबाट कहीँकतै प्रतिबन्ध नलागोस्।
हजुरका हरेक पाइलामा हौसला र प्रेमको कमी हुन दिनेछैन। यो समाजमा अथाह शक्ति र ऊर्जा भए पनि श्रीमानमा मात्र आश्रित भएर बाँच्ने परनिर्भर नारी भएर कदापि म बाँच्ने छैन। सकेसम्म यस्ता नारीहरूका लागि प्रेरणाको स्रोत बन्नेछु।
कसैको जिन्दगी सधैं एकनास हुँदैन। आज जे छ, भोलि त्यस्तै हुन्छ भन्ने हुँदैन। भोलि जे छ त्यहीँ भविष्यमा रहन्छ भन्ने पनि छैन। परिवर्तनशील समय छ, कुनै पनि परिस्थिति परिवर्तन हुन्छ। जिन्दगीमा कुनै पनि दिन म नहुन सक्छु।
त्यतिबेला हजुरले आफ्नो एक्लोपनको अर्को साथ खोज्नू। त्यसको लागि हजुर स्वतन्त्र हुनुहुन्छ। तर आफ्नो जीवन गुजाराको लागि कसैको अगाडि सहानुभूतिको पात्र भएर बाँच्न कदापि हजुरलाई छुट हुने छैन।