बाले प्याजमा खरानी हाल्दै थिएँ। म पनि के कम? प्याज कुल्चँदै भए पनि बाकहाँ पुगेँ।
‘हेर त, प्याज सबै कुल्चियो!’
बा रिसाए। तर बाको गालीले मलाई छेकेन। बाको नजिकै पुगेँ।
‘बा! के हालेको?’ मैले सोधेँ।
‘खरानी हालेको नि।’
‘बा, किन हालेको त खरानी?’ मैले फेरि सोधेँ।
‘धेरै फलोस् भनेर नि,’ बाले जवाफ दिए।
‘थोरै फले के हुन्छ र बा?’ फेरि मैले सोधेँ।
बालाई झर्को लागेछ क्यारे, मेरो मुखमा हेरे। केही पनि बोलेनन्।
हावा लाग्दा खरानी उडेर सिमलको रुखको टुप्पोसम्म पुग्थ्यो। बाले खरानी उडेर खेर नजाओस् भनेर निहुरिएर बोट-बोटमा हाल्थे। मनमनै मलाई बाले त्यसरी खरानी नहालून् भन्ने लाग्थ्यो। किनभने मलाई खरानी हावामा उडेको हेर्न खुब मज्जा लाग्थ्यो।
‘बा, म नि खरानी हाल्ने नि,’ भाँडोमा हात हाल्दै बालाई सोधेँ।
‘यसलाई उता लैजा त, प्याजभरि सबै कुल्चिसक्यो,’ बाले आमालाई बोलाए।
बाको अवरोध हुँदाहुँदै नि एक मुठी खरानी हावामा उडाएरै छाडेँ। मनमनै रमाएँ।
धान काट्ने चटारो थियो।
‘आमै, भोलि बिहानै हामीलाई नि उठाएँ है। तिमीसँगै खेत जाने,’ सुत्नुअघि आमालाई हामीले फेरि भन्यौँ।
‘मेरा कालेहरूलाई लगिहाल्छु नि भन्दै आमाले हाम्रो कपाल सुम्सम्याउँदै म्वाइँ खाइन्। हामी नि फुरुंगै भयौँ।
बिहान आँखा खुल्ने बित्तिकै मेरा हातले आमालाई खोजेँ। आमा भनेर बोलाएँ। आवाज नै आएन। सिरक फालेँ। कट्टुको तुना बाधेँ अनि झ्यालतिर दौडिएँ। आमा खेतमा पुगिसकेकी थिइन्। पहेँलो क्यानभासमा रातो धोती आकर्षक देखिएको थियो। आज नि हामीलाई लगिनन् भनेर भित्रभित्रै रिसाएँ।
दिउँसो गाई-बाख्रालाई घाँस हाल्न अनि अरनी लिन आमा घर आइन्।
‘भाइलाई राम्रोसँग हेरेस्। केही बिन्ठाई नगर्नु,’ खेत जानुअघि आमाले मलाई भनिन्। र, भाइले नदेखोस् भनेर अर्कै बाटो प्रयोग गरिन्।
अरु दिन रोइरहने भाइ आज नरुँदा आमा दंग थिइन् रे। एक मनले आनन्दित थिइन् रे किनभने काम गर्न कुनै अवरोध थिएन। अर्को मनले अलि डराइन् रे। छोरोलाई केही भयो कि भनेर। त्यही नि छिटो काम सक्नु थियो। घर आउने आँट गरिनन्।
घरको करेसापट्टि बरियोको पिङ थियो। दिनभरि हामी त्यसैमा खेल्थ्यौँ। एकपटक भाइ पिङमा राम्रोसँग बस्न नपाउँदै धकेली दिएछु। भाइ भुइँमा नराम्रोसँग पछारियो। धन्न त्यस्तो ठूलो चोट लागेन। निधारमा सानो टुटुल्को मात्र उठ्यो।
माथिको कोठा जाने ढोकामा साङ्लो लगाइएको थियो। हातले भेट्टाउनलाई उचाइ पुग्दैनथ्यो। साङ्लो भेट्टाउनु आकाशको फल आँखा तरी मर जस्तै भयो। बा जत्तिकै अग्लो भए त भेट्थेँ होला। मनमनै सोचेँ।
छेवैमा डोको थियो। डोकोलाई घोप्टो पारेँ। ‘डोको राम्रोसँग थाम् है,’ भाइलाई भनेँ।
भाइले मुन्टो हल्लायो। तीन चोटिको प्रयासमा धौँ-धौँ गरी डोकोमाथि चढेँ। त्यही नि भेट्टाउन सकिनँ। कुर्कुच्चा उचालेँ। ‘राम्रोसँग थाम् है!’ भाइलाई फेरि सचेत बनाएँ।
सन्तुलन मिलेन छ क्यारे नराम्रोसँग भुइँमा पछारिएँ। हातको छाला कोतारियो। रिसले चुर हुँदै भाइतिर हेरेँ। भाइ त खिस्स दाँत देखाउँदै हाँसिरहेको। रिसको झोकमा एकपटक टाउकोमा हानेँ। अलि बेस्सरी लागेछ क्यारे, भाइका आँखाहरू रसाए।
‘अब चाहिँ राम्रोसँग थाम् है!’ रिसाउँदै भनेँ।
डोकोमा चढेँ। कुर्कुच्चा उचालेँ। डोको फेरि ढलपल-ढलपल गर्न थाल्यो। डरले मुटु काँप्यो। त्यही नि आँट गरेँ। सफल भएँ।
कोठा अँध्यारो थियो। झ्याल खोलेँ। घामका मधुरा किरणहरू भित्र छिरे। हामी त्यही खेल्न थाल्यौँ। यत्तिकैमा मेरो आँखा एउटा बोरामा गयो। बाबियोको डोराले मुख बाँधिएको थियो, कसक्क पारेर। सजिलै फुकाउन सकिनँ। दाँतले टोकेरै भए नि चुँडालेँ। बोराभित्र खरानी रहेछ। बाले प्याजमा खरानी हालेको याद आयो। मन चङ्गा भयो। जति नि उडाउन पाउने। अवरोध गर्ने कोही नै भएन।
हामीले खरानी मुठ्ठी पार्दै झ्यालबाट उडाउन थाल्यौं। मन्द बतास चलिरहेको थियो। केराका पातहरू पेण्डुलम सरि हल्लिरहेका थिए। सिमलको रुख दिन प्रतिदिन उजाड बन्दै गएको थियो। रुख उजाड भएर के भो र, त्यसलाई आकर्षक बनाउन बेलाबेलामा हिउँजस्तै सेता भुँवाहरू उड्थे।
आँगन छेवैमा बाँधेका बाख्राहरू पनि शान्त थिए। सायद हामीसँगै रमाइरहेका थिए होलान्। पाठाहरू बुरुक्क-बुरुक्क उफ्रिँदै यताउता गरिरहेका थिए। यत्तिकैमा बोराको सबै खरानी सकियो।
क्षितिजमा सूर्य अस्ताउँदै थियो। हाम्रो रहर अझै मेटिएको थिएन। आँगनमा खसेको खरानीलाई एकअर्काको जीउमा हाल्न थाल्यौँ। मानौँ हामी खरानीको होली खेलिरहेका थियौँ। हाम्रा परेला, कपाल, कपडा सबै सेता भए। घट्टेलाको जस्तो। राता बाख्राहरू नि सेता भए। काली गाई नि गोरी भई, फेयर एण्ड लब्ली लगाएकी जस्ती। तर असुहाउँदो।
हामी खेल्दाखेल्दै आमा घर आइपुगिन्।
‘हे भगवान्!’ आमाले सुस्केरा हालिन्। तिम्रा बिठ्याइँ गर्ने हात भन्दै हिर्काइन्। बुबु खाने भन्दै भाइ आमासँग टाँसिन पुग्यो। म चाहिँ वरै बसेँ। आमालाई हेरिरहेँ। आमाको मुख मलिन थियो। ओठहरू सुकेका। आँखा नि सुकेका।
‘बा आए भने यिनलाई के बाँकी राख्लान् र! पाँच-पाँच पाथी पिठो सकेछन्। कुन दिन जन्माउन पुगेछु यिनलाई। तँ त अलि ठूलो भाको। थाहा पाउन सक्दैनस्रु? केही न केही नबिगारेर त बस्नै नसक्ने,’ आमा कराइन्।
आमालाई पिठोको भन्दा नि बाले पिट्लान् भन्ने कुराले बढी पीर परेछ। बाले नपिटुन् भनेर मलाई खाटमुनि लुकाइन्।
‘बा नआउन्जेल यहीँ बसिराख् है! म आउँला अनि बाहिर आउलास्,’ आमाले भनिन्।
मैले टाउको हल्लाएँ। आमाको आँखामा पुलुक्क हेरेँ। पूर्णिमाको जुन जस्तो धपक्क हुने अनुहारमा कहाँ चमक थियो र! सायद संसारमा जति पनि सम्बन्ध र नाता छन्, त्यसमा आमाको नाता धेरै प्रेमपूर्ण र घनिष्ठ छ होला।
आमाले आँगन बढार्दा बढार्दै बा घर आइपुगे।
‘जताततै सेतो देख्छु त बुढी! किन हो?’ बाले सोधे।
‘के हुनु नि, दिनभर किन रोएनन् भनेको यही देख्नलाई रहेछ। पिठो जति सबै सकेछन्। थोरै भए पनि हुँदैनथ्यो र! थैले रित्ताएछन्,’ आमाले भनिन्।
आमाको कुरा सुनेर बा हाँसे।
‘भैगो नरिसा अब। बच्चा हुन्, काम बिगारिहाल्छन् नि। बालापनमा उट्पट्याङ नगरे कहिले गरुन् त?’ अरु दिन केही काम बिगार्दा रिसाउने बाले त्यस्तो समझदारी कुरा गर्दा आमाका आँखाबाट बर्रर आँसु झरे। एक्कासी मुसलधारे पानी परेको जस्तो।
‘ठूलो बाबु खोइ त?’ बाले सोधे।
‘तिम्ले पिटौला भनेर सुत्ने कोठाको खाटमुनि लुकाइछु। धोतीको सप्कोले आँसु पुछ्दै भनिन्।
कोठा क्रमशः अँध्यारो हुँदै थियो। बाको आवाज सुनेँ। मुटु बेजोडले धड्किन थाल्यो। ढुकढुक, ढुकढुक। म अलि कुनातिर सरेँ। माकुराको जालो मुखैभरि टाँसियो। छिटो-छिटो जालो हटाएँ। कुप्रिएर बसेँ।
ढ्याप्प-ढ्याप्प गर्दै जुत्ताको आवाज आयो। पक्कै बा आए भनेर लख काटेँ। आमा आएको भए त चुराको आवाज आउँथ्यो। प्रेमिल भावना नजिक नआउँदै पोखिइसकेको हुन्थ्यो।
‘बाबु’ बाले बोलाए। म बोलिनँ। झन् कुप्रिएँ। भित्तालाई बेस्सरी धकेलेँ।
‘बाबु!’ बाले फेरि बोलाए। त्यही नि बोलिनँ। आवाज नै फुटेन।
बाले खाटमुनि हेरे। बालाई देख्ना बित्तिकै काम्दै हजुर भनेँ। मुख रातो भयो, पाकेको गोलभेडा जस्तो।
‘बाहिर आइज,’ बाले बोलाए।
घिस्रिँदै-घिस्रिँदै बाहिर निस्किएँ। बाको अगाडि उभिएँ। मुखमा हेर्ने आँटै आएन। टाउको निहुराएँ। एउटा कुख्यात अपराधी जस्तो निःशब्द भएर उभिएँ।
बाले च्याप्प समाते। काखमा लिए। मेरो घोसेमुन्टो सिधा पारे।
‘कस्ती रहिछ! मेरो कालेलाई यस्तो ठाउँमा बस्न लगाउने’ भन्दै आमालाई गाली गरे। कपाल सुमसुम्याउँदै छातीमा टाँसे। मेरा आँखाबाट बर्रर आँसु झरे। घुक्क-घुक्क गर्दै रोएँ।
बाले मलाई सुमसुमाइरहे।