तक्मा देशको गहना, जसले कर्मको मूल्य तिर्दछ
फलस्वरुप कर्मवीरले अस्तित्वको मान राख्न भिर्दछ
आज बडो गहन वजनदार वस्तु, साह्रै हल्का भएछ
जब तक्मा लिने हातको वजन तक्माको जति रहेनछ।
भन्थे तक्मा पौरखीलाई इनाम, देशको गौरव मान्नुपर्छ
तसर्थ तक्माले छुट्टै संघर्षको पाठ सिकाउन जान्नुपर्छ
विडम्बना आज फगत तक्मा झन्-झन् सस्तो भएछ
जस्तो छ भिर्नेको मन उस्तै कुरुप देखिँदै गएछ।
सुन्थेँ तक्माले त स्वभिमानी र देशको शिर उठाउँछ
अविरल यात्रीको कठिन यात्राको सबै पीर भुलाउँछ
विडम्बना आज उही तक्मा उभिनै नसक्ने भएछ
आफ्नै स्वरुप आफै हेरी रातो-पिरो भएर लजाएछ।
तक्मा जो मेहेनत, इमान र देशप्रेमको प्रतीक रहेछ
कसरी व्यपारीको आडमा कौडीको भाउमा गएछ
तटस्थ तक्मा सिफारिसमा आफ्नो मान्छे छान्ने भएछ
सजिलै तक्मा त गलत नसुहाउने हातमा पो गएछ।
लौ न अब वर्षौंदेखि खिइएका नङले के भन्छ
अनवरत घोटिएर खुइलिएका रङ कस्तो बन्छ
तक्मा नि ढाडस पार्दै सुकिलामुकिला तिर लम्केछ
गहन अमूल्य वस्तु थियो आज मात्र शो-पिस भएछ।