खुब चहलपहल छ
आज आमा औंसी
ओहो !
रातै, पहेँलै
लर्कन छ छोरीहरुको
यी सबै आमालाई भेट्न
हिँडेका होलान् है !
म त भाग्यमानी
सधैं तिमीसँगै छु
तिमीसँग छु के भनुँ
सँगै भएर पनि
कहिल्यै सँगै छैनौ आमा।
मैले तिम्रो मुख
सधैं हेरिरहेकी छु
तर तिमीले मलाई कहिल्यै
हेरिनौ आमा
सन्तानका लागि आमा भित्र
यति धेरै वात्सल्य हुँदो रहेछ !
प्रेम हुँदो रहेछ !
करोडौं आशीवार्दहरु हुँदा रहेछन् !
आफू आमा बनेपछि बल्ल
थाहा पाएँ ।
तर तिम्रो वात्सल्य
मैले कहिल्यै पाइनँ
जसरी जून रुँदा
शित बनेर थोपा खस्छ
त्यसैगरि
जून र म सँगैस्ँगै रुन्थ्यौं
प्रभाती प्रहरसम्मै ।
म रुँदा
न मेरा आँसु पुछ्यौं
म ननिदाउँदा
न तिमीले एकादेशको कथा बुन्यौ
तिमीले पिटेका डामहरु
अझै पिठ्युँमा होलान् आमा
आङ सिरिङ हुन्छ सम्झिँदा
कसरी आमा यति
निर्दयी हुन सक्छन !
आमा हृदय पाषाण हुन सक्छ,
यो त कल्पना भन्दा पनि बाहिरको कुरा ।
म तिम्रो गर्भमा सात महिनाकी छँदा
बा स्वर्गे हुनु भएको रे
तिमी भनिरहन्थ्यौ,
मैले नै बालाई खाएकी रे !
कसरी खाएँ आमा
के बा खान मिल्ने बस्तु थिए र ?
बाको मृत्यूलाई
सधैं मेरो जन्मसँग जोडिरहयौ ।
बाको वित्नुमा मेरो
के दोष आमा ?
तिमीले मलाई
बाको हत्यारा बनायौ
अपराधी बनायौ
त्यही अपराधी जीवन
अझै विताउँदैछु आमा ।
म सम्झन्छु
सानी छँदा न तिमीले
मेरा कपाल समेटेर बाटिदियौ
न कुनै दिन
मनतातो पानीले नुहाइदियौ
न त कुनै दिन
कोखाई, कोखाई भन्दै
मलाई भात खुवाइदियौ ।
तिम्रो काखमा नबसीकन
तिम्ले तेल नघसिकन
म कसरी ठुली भएँ आमा ?
पल्ला घरे साहिँली काकीले
सबितेको कपाल बाटिदिँदै गर्दा
तिमी भने मेरा कपाल समाएर
मलाई हपार्दै हुन्थ्यौ
अनि म सबितेलाई हेर्दै
आँसु झादै हुन्थें ।
तिमीले मेरा रहरहरुका
पँखेटा काटिदियौ
सपनाहरुका मुना चुँडिदियौ।
कसरी उभिन सिकें, जान्दिन !
मलाई ताते ताते गराउँदै
समाउने न तिम्रा औंला थिए
न तिम्रो फरियाको फेरो नै
लडेर कसरी उठ्न सिकें होला ?
म छोरी तिमीलाई बिझाउँछु आमा
कटुसको काँडा जस्तै ।
तिमी मेरा लागि सिउँडीको फूल
अनि म चाहिँ तिम्रा लागि
त्यही सिउँडीको काँडा ।
आज
फूलजस्ती आमालाई
यो काँडा छोरीको
अनेकौं शुभकामना ।
तर
आमा मनभित्रको एउटा प्रश्न
तिमीले मलाई भनेझैं
बाउ खाने छोरीहरु
अरु पनि छन् कि
म मात्रै हुँ ?