जब म फुर्सदमा हुन्छु
स्वयम् आफूलाई नियाल्छु
विगत फर्केर हेर्छु
केही आनन्द, केही पीडा भेट्छु
वर्तमान अंगाल्छु
अंगालोमा आँसु भेट्छु, हाँसो भेट्छु
थोरै अगाडि बढेर भविष्य अनुमान गर्छु
अन्योल देख्छु, सबै अन्धकार देख्छु
जब म फुर्सदमा हुन्छु
खुब तनावमा हुन्छु।
देखिन्न बाटो
भेटिन्न लक्ष्य
आरोह अवरोह जताततै भेट्छु
चल्दैन जाँगर
उचालिन्न यी हातपाउ
जब म फुर्सदमा हुन्छु
खुब तनावमा हुन्छु।
हेर्छु आमाको ज्यानको पुरानो लुगा
देख्छु बाबाको शिरको फाटेको टोपी
लाग्छ केही त गर्नुपर्छ
हिँड्छु भौतारिँदै गल्ली-गल्ली
नियाल्छु पत्रपत्रिका
देख्छु आवश्यकता लेखेको विज्ञापन
जान्नु हिँड्दै-हिँडदै
जागिर माग्न
पहिचानको मान्छे को छ? प्रश्न पाउँछु
मसँग भएको शैक्षिक प्रमाणपत्र देखाउँछु
कति दिन सक्छ? तिखो वचन पाउँछु
फर्कन्छु रित्तै त्यसरी नै
जसरी गएको थिएँ
नियाल्छु शैक्षिक प्रमाणपत्रहरू
खुब तनावमा हुन्छु
जब म फुर्सदमा हुन्छु।