एकदिन आमाका पैतालाहरू
मध्यरातमै निस्किन्छन् मोक्षको खोजीमा
यो पृथ्वीको गोलाद्धबाट कहीँकतै प्राचीन ग्रहको
कुनै प्राचीन गुफामा।
कर्कश ध्वनीसँगै जब ब्युँझिन्छन् भालेहरू
र लामो समयसम्म पनि
नफर्केपछि स्त्रीका पाइलाहरू
पृथ्वीको कुना-कुनामा हलचल मच्चिन्छ।
उनीहरूका आँखाहरू सशंकित थिए
अब नारीहरूले कुनै अन्य ग्रहका प्रजातिका गर्भ बोकेर
यो जमिनमा फर्किनेछन्
कोही-कोहीले यो पनि अनुमान लगाउँदै थिएँ
कतै जननीहरूले खतरनाक हतियार बनाएर
युद्धको घोषण पो गर्ने हो कि?
उनीहरूले यसो पनि भन्दै थिए
जहाँ पुगे पनि फर्किएर आखिर यही माटोमा आउनेछन्।
जब लामो समयको अन्तर्ध्यानपछि
आफैंभित्रको बुद्धत्वलाई भेटेर
स्त्रीहरू पुनः फर्किए यही मसानघाटमा
उनीहरू आश्चर्यमा थिए
ती मरिसकेका स्वास्नीमान्छेहरूले
कसरी ज्ञान प्राप्त गर्न सक्छन्
यो हुनै सक्दैन
हाम्रो अनुमती बेगर ती आइमाईका आत्माहरू
कसरी मुक्त हुन सक्छन्?
ती भालेहरूले एकै स्वरमा भने
तिमीहरूको पवित्रताको
हामीलाई प्रमाण देऊ?
त्यसपछि आमाहरूले
आफ्नै छातीमा डढेलो लगाइदिए र
आफ्नो दुवै कानलाई थुनेर
एकनासले हिँडिरहे निर्वाणको यात्रामा।