कोट्याउनुपर्छ माटो, काँडा र फूल छुट्याउन
झिम्क्याउनुपर्छ आँखा यौवनको मट्केनो छचल्क्याउन
कोक्याउनुपर्छ यादहरू प्रितको भोक तिर्खा मेटाउन
भेट्टाउनुपर्छ पत्थर पनि देउरालीमा चढाउन।
सुनगाभामा फक्रिएकी तिमी गुलाबमा मुस्कुराउन
सिरेटोमा तैरिएकी तिमी झरीसितै लजाउन
आकृतिमा भेटिन्छयौ कि प्रकृतिकी परी तिमी
खोज्छु पास भाग्छ्यौ टाढा छायाँ बन्दै झुक्याउन।
नियाल्नुपर्छ सम्पदा तिम्रा आँचल फहराउन
टोलाउनुपर्छ बिर्सी तिम्रा स्मृति गुनगुनाउन
बनमा फूल ओइलियो कि यता छाती चहर्याउन
खोज्दैछु पत्थर एउटा देउरालीमा चढाउन।
फूल्यो कि दिलमा झुम्दै झुम्कना जो चमत्कार छ
किन्तु एउटा पृथ्वी जो छ, मिल्नु जे छ उसैमा छ
चाँदनी लुकेको रात सितारा गन्नुपर्छ र?
ब्युँतनुपर्छ यहाँ मर्दै: यसमा केही भन्नुपर्छ र?
(अधिकारी नेपाल विद्युत प्राधिकरणका निर्देशक तथा पूर्वप्रवक्ता हुन्।)