रिना २०१५ मा अमेरिका आएकी थिइन्। त्यो अवसर उनलाई भर्जिनियामा बस्ने जेठी दिदीकी छोरीले जुराइदिएकी थिइन्। उनी छोरीको ग्र्याजुएसन समारोहमा सहभागी हुन यता आएकी थिइन्।
धेरैका लागि दुर्भाग्य भएको २०१५ को भूकम्पले उनको लागि भने भाग्यको ढोका खोलिदियो। भूकम्पले उनको अमेरिका बसाइ लम्बाइदियो। उनले अल्पकालीन बसाइको अनुमति पाइन्। केही महिनाको भर्जिनिया बसाइपछि उनी न्यूयोर्क गइन् र त्यतै काम गर्न थालिन्।
त्यो ठूलो सहरमा काम पाउन उनलाई त्यति गाह्रो भएन। त्यसमा जस्तोसुकै वातावरणमा पनि सजिलै घुलमिल हुनसक्ने उनको व्यक्तित्वले उनलाई साथ दिएको थियो। उनले एउटा रेस्टुरेन्टमा काम पाइन्।
रिना बोलक्कड थिइन्। मनमा कुरा लुकाएर राख्ने बानी उनको थिएन। सामान्यतया मानिसहरू आफ्नो व्यक्तिगत जीवनका कुराहरू आफ्ना सहकर्मीमाझ बताउन हिच्किचाउँछन्। तर रिनाको मन खुला थियो।
मनमा कुरा नराखी बताउने बानीले उनलाई कति पटक धोका नभएको होइन तर त्यो बानी बदल्ने कुरा उनको हातमा थिएन। तर काममा भने उनी धेरै लगनशील थिइन्। त्यसका अलावा समस्याहरूसँग भिड्ने र खरो उत्रने उनीसँग अभूतपूर्व क्षमता थियो।
अमेरिका आएको दुई वर्षमा उनले सामान्य अरु नेपालीले ५ वर्षमा हासिल गर्न नसकेको उपलब्धि हासिल गरेकी थिइन्। अमेरिका आएको केही महिनामा नै गाडी चालक अनुमति पत्र लिइन्, टोयोटा कम्पनीको कोरोला कार किनिन्, सिटी कलेजमा गएर अंग्रेजी बोल्ने कक्षामा भर्ना भएर अंग्रेजी भाषामा राम्रोसँग बोल्न सक्ने भइन्, कम्प्युटरमा आफ्नो दक्षता बढाइन् अनि त्यसैको आधारमा रेस्टुरेन्टको जागिर छोडेर ठूलो र धेरै तलब र सुविधा पाइने कम्प्युटर सेल्स कम्पनीमा जागिर मिलाइन्।
घरमा सहयोग गर्न बिसौँ हजार डलर पैसा ट्रान्सफर गर्न सफल भइन्। त्यति मात्र होइन, छोटो समयमा नै उनले भेगसलगायत अन्य अमेरिकाका पर्यटन गन्तव्यहरूको यात्रा तय गरिसकेकी थिइन्। अरु मानिसका नजरमा उनी एक सफल र सुन्दर महिला थिइन्।
रिना अरुका नजरमा मात्र होइन आफैंमा पनि त्यति नै सुन्दर थिइन्। उनलाई कसैले पनि कलेज जाने छोराकी आमा भनेर पत्याउँदैन थिए। चाहे उनको काउकुती लगाउने प्रेम कथाले होस् या सुरिलो आवाजले २०१६ को न्यूयोर्कस्थित नेपाली समुदायको तीज कार्यक्रममा उनी सबै सहभागीहरूको आकर्षणको केन्द्र भइन्।
त्यति मात्र होइन, उनी डान्स गर्नमा पनि माहिर थिइन्। त्यो कार्यक्रममा मानिसहरूले उनको बहुआयामिक व्यक्तित्वको मुक्तकण्ठले प्रशंसा गरेका थिए।
मानिसहरूको प्रशंसालाई उनले उत्तिकै चलाखी र सावधानीपूर्वक उत्तर दिन्थिन्- ‘मलाई मन पराइदिनु भएकोमा धेरै धन्यवाद। म त केवल सिकारु मात्र हुँ। यो केही होइन, म यति धेरै प्रशंसाको लायक छैन।’
तर उनी प्रशंसाको भोको नभएकी भने होइन। अवसर पायो कि आफ्नो बारेमा बखान गर्न उनी हरदम तयार हुन्थिन्। त्यो कार्यक्रम एकजनाले गरेको प्रशंसाको प्रतिउत्तरमा उनी यसरी पोखिएकी थिइन्- ‘म जम्मा दश कक्षा पढेकी मान्छे। मैले धेरै पढेको भए म ठूलो प्रगति गर्न सक्थेँ होला।’
त्यति भनेर उनी आफ्नो जीवनको कथा धारा प्रवाह बताउन थालिन्। उनी निरन्तर आफ्नो बारेमा बोलिरहिन्। त्यत्तिकैमा एकजनाले सोधे- ‘तपाईं आफ्नो परिवारलाई कत्तिको मिस गर्नुहुन्छ?’
‘कसले मिस गर्दैन र!’ यति भनिसक्दा उनको अनुहारमा बादल लाग्यो।
उनले लामो श्वास लिइन् र भन्न थालिन्- ‘म शब्दमा भन्न सक्दिनँ, म कति मिस गर्छु भनेर। मैले प्रत्येक दिन मेसेन्जरमा च्याट नगरेसम्म मेरी छोरी सुत्न मान्दिन। म प्रत्येक दिन नेपालमा कल गर्छु। मलाई एक्लै हुन मन लाग्दैन, त्यसैले आज म यहाँ आएर धेरै खुसी भएँ।’
अमेरिका आएका सुरुका वर्षहरूमा टेलिफोनको स्क्रीनमा छोरीलाई हेर्दै रुनु रिनाको दैनिकी भएको थियो। बाथरुममा समस्या आएको बेला बनाइदिने ज्यामीलाई कति पैसा दिने हो देखि छोरीलाई स्कुलमा खाजा के हालिदिने हो भन्ने सम्मका कुरा सोध्न प्रेम उनलाई फोन गर्ने गर्थे। कुनै बेला प्रेम नै रिनासँग टाढिनु परेकोमा दुखी भएको भन्दै फोनमै भावुक हुने गर्दथे।
तर रिनालाई प्रेमको त्यो भोलापन मन पर्दैन थियो। कति पटक उनले प्रेमलाई साहसिक केटा जस्तो हुन सम्झाएकी थिइन्। कति पटक त उनीहरूको त्यस विषयमा झगडा हुने गर्दथ्यो तर रिनाले मन बुझाएकी थिइन् किनकि उनीसँग अर्को उपाय पनि थिएन।
‘आफैंले रोजेको बुढो, के भन्नु र’ त्यही सम्झेर उनी मन बुझाउने गर्थिन्।
एक दिन कामको ब्रेकरुममा उनी खाजा खाइरहेकी थिइन्। उनको मोबाइल टेबलमा थियो। उनको मोबाइलमा एउटा मेसेज आयो। खाजा खाँदै उनले मेसेन्जर खोलिन्। श्रीमानको म्यासेज थियो। त्यो म्यासेज पढेर उनी किंकर्तव्यविमूढ भइन्।
श्रीमानले उनलाई चाँडै घर फर्कन आग्रह गर्दै थिए। तर उनको योजना घर फर्कने थिएन। उनी सकेसम्म परिवारलाई अमेरिका नै ल्याउन चाहन्थिन्। त्यसैले उनले आउने बित्तिकै असाइलमको लागि आवेदन दिएकी थिइन् जुन अध्यागमनमा विचाराधीन थियो।
अध्यागमनको निर्णयले उनी बस्ने वा फर्कने निधो गर्दैथियो। हुन त उनीसँग अदालत जाने विकल्प पनि थियो। उनलाई अमेरिकाको ग्रीन कार्ड पाएर परिवारसँग यतै एकाकार हुन दशकौं लाग्न सक्थ्यो। तर उनी कुनै हालतमा पनि अमेरिका नै बस्ने योजनामा थिइन् किनकि उनी अमेरिकाको दैनिकी, यहाँको संस्कार, चालचलन, सुख सुविधा र स्वतन्त्र जीवनसँग बानी परिसकेकी थिइन्।
श्रीमान् उनलाई कुनै हालतमा पनि फर्काउन चाहन्थे। उनलाई फर्किने दबाब थियो तर उनी भने अमेरिकी नागरिक हुने सपनामा चुर्लुम्म डुबेकी थिइन्। उनलाई ब्रान्डेड कार चढ्नु थियो, ब्रान्डेड कपडा लगाएर पार्टीमा जानुथियो, अनि हवाईको समुद्री तटमा भ्याकेसन मनाउन जानु थियो।
उनी कसरी त्यो दुःखको सागरमा फर्किन सक्थिन् जहाँ हर्कुलसले गरे जति मेहनत गर्दा पनि सानो खुसी कमाउन गाह्रो हुन्छ। उनी पाएको अवसरलाई गुमाउन चाहन्न थिइन्।
रिना नेपालको एक सम्पन्न परिवारमा जन्मिएकी थिइन्। जब उनी हाई स्कुलमा पढ्थिन उनको सहपाठी साथीसँग माया बस्यो। ऊ सोझो र लजालु थियो तर उनी भने चञ्चल र हक्की। जब परिवारले उनीहरूको प्रेम सम्बन्धको बारेमा थाहा पाए, उनीहरूलाई छुटाउन ठूलो प्रयत्न गरे तर रिनाको हठको अगाडि उनीहरूको केही चलेन उनले आफ्नो मुटुको आवाजलाई ढाँटेर प्रेमसँगको प्रेम तोड्न सकिनन्।
रिनाले भागी विवाह गरिन्। तर त्यो विवाह उनीहरूको निम्ति महँगो साबित भयो। परिवार र समाजले उनीहरूको अन्तरजातीय विवाह स्वीकार गरेन। उनीहरू सामाजिक रुपमा बहिष्कृत भए। समाज र परिवारको तिरस्कार सहन नसकी उनीहरू सहरतिर भासिए जहाँ उनीहरूलाई कसैले चिन्दैन थियो।
उनीहरू स्वतन्त्र रुपमा बस्न र काम गर्न सक्थे। सहरमा उनीहरूले एउटा कोठा भाडामा लिए अनि रिनाले अरुको घरमा बच्चा हेर्ने काम पाइन् भने प्रेमले स्कुलमा शिक्षकको जागिर पाए। रिनाको पेटमा पहिलो बच्चा आउँदासम्ममा उनले आफ्नै शृङ्गारको सामग्री बेच्ने पसल खोलिसकेकी थिइन्।
छोराको दोश्रो जन्मदिन आउने बेलासम्ममा रिना फेरी गर्भवती भैसकेकी थिइन्। तर आफू गर्भवती भए पनि उनले श्रीमानलाई विदेश पठाइन्। गर्भवती श्रीमतीलाई एक्लै छोडेर प्रेम वैदेशिक रोजगारीमा जान चाहँदैन थिए गर रिनाको अडान र हठको अगाडि उनको आग्रहको कुनै अर्थ थिएन।
श्रीमानलाई विदेश पठाएर उनी राम्रो घर बनाउन चाहन्थिन्, गाडी किन्न चाहन्थिन् अनि आफ्नो परिवारलाई आफ्ना दिदीहरूको जस्तै सम्पन्न र सुखी बनाउन चाहन्थिन्। उनको योजनाअनुसारै दोश्रो बच्चा पेटमा भएकै बेला उनले घर बनाउन सुरु गरिन्।
श्रीमानले पठाएको पैसा र आफूले कमाएर बचाएको पैसाले उनले दुई तले घर बनाइन्। श्रीमान ३ वर्षमा नेपाल आउँदा रिनाले उनलाई दुई वटा कुरा उपहार दिएकी थिइन्- तीन वर्षकी छोरी र दुई तले घर।
रिना अमेरिका बसेको पनि ६ वर्ष पुगेर सात वर्ष लागिसकेको थियो। उनी सानो कोठा छोडेर दुई बेडरुमको अपार्टमेन्टमा बस्न थालेकी थिइन्। यस वर्षको क्रिशमस उनले आफ्नै अपार्टमेन्टमा साथीभाइसँग मनाइन्।
नेपाली समुदायले मनाउने तिज कार्यक्रममा उनले २०१६ पछि कहिलै सहभागी हुने अवसर पाएकी थिइनन्। उनलाई फुर्सद नै भएन। त्यसैले पनि यसपालि उनले आफ्नै अपार्टमेन्टको पार्टी रुम बुकिङ गरेर क्रिशमस मनाउने निर्णय गरेकी थिइन्। अनि धेरैभन्दा धेरै साथीहरू बोलाएकी थिइन्।
त्यहाँ सबै नेपाली मात्र थिएनन्। त्यो पार्टीमा रिनाले खुलेर पिएकी थिइन् अनि एक युवकसँग झुमेर नाचेकी थिइन्। त्यहाँ बोलाइएका नेपालीहरू रिनासँग त्यसरी नाच्ने मानिस को हो भनेर चियो चर्चो गरिरहेका थिए। धेरै बेरको नाचगानपछि रिनाले सबै सहभागीसँग उनको परिचय गराएकी थिइन्।
उनको नाम राकेश थियो। उनी एक सफ्टवेयर इन्जिनियर थिए। उनी रिना काम गर्ने कम्पनीमा काम गर्दथे। विगत केही समयदेखि रिना र राकेश नजिकिएका थिए। राकेशले रिनालाई कम्पनीको काममा मात्र होइन एसाइलम् समन्धी काममा पनि सहयोग गरेका थिए।
कार्यक्रममा आएका धेरै नेपाली साथीहरूले रिनाको सुरिलो स्वरमा यसपालि पनि गीत सुन्ने आशा लिएका थिए। आमन्त्रित मध्ये धेरै नेपालीहरूका कानमा रिनाको सुरिलो आवाजमा २०१६ को तीज कार्यक्रम सुनेको लोक गीत गुञ्जिरहेको थियो। कतिपयले त उनलाई गीत गाउन आग्रह गरे तर उनले ‘एकछिन एकछिन्’ भन्दै टारेकी थिइन्।
न उनले नेपाली गीत गाइन् न त नेपाली गीतमा नाचिन् नै। धेरै जसो समय उनी हिन्दी गीतमा राकेशसँग नाच्नमै व्यस्त भइन्। मानिसहरू उनको कुरा काटिरहेका थिए। अनि राकेशसँगको उनको सम्बन्धको बारेमा कानेखुसी गरिरहेका थिए।
रातको एघार बजे कार्यक्रम सकियो। सबै आमन्त्रित साथीहरू बिदा भए। राजेशलाई भने रिनाले बिदा दिइनन्। थकित भएर उनीहरू सोफामा बसिरहेका थिए। त्यतिकैमा रिनाको फोन बज्यो। फोन राकेश बसेको सोफा नजिकै थियो।
उनका आँखा फोनको स्क्रीनमा परे। त्यो फोन रिनाका श्रीमान प्रेमको थियो। राकेशले रिनालाई फोन दिँदै भने- ‘तिम्रो फोन।’
‘कसले गरेको?’
‘प्रेम।’
उनले पुलुक्क राकेशतर्फ हेरिन् अनि भनिन्- ‘काटिदेऊ, म थकित छु।’