सुनसान ओपिडी थर्काउँदै फोन बज्यो।
फोन उठाएँ, नर्सिङ स्टेशनबाट नर्सले एकै सासमा भनिन्- ‘नमस्ते म्याडम, बेड नम्बर ८०२ मा तपाईंले खानपानसम्बन्धी परामर्श दिनुपर्नेछ।’
मैले हवस् एकछिनमा आए भन्दै फोन राख्न मात्रै खोजेको थिएँ, फेरि उतैबाट नर्स बोलिन्- ‘कृपया छिटो आइदिनूहोला। तपाईंलाई नसोधी केही नखाने भनेर बिरामी जिद्दी गर्दै हुनुहुन्छ।’
मैले हवस्, आइहालेँ भन्दै फोन काटेँ।
जेठको गर्मीका कारण रापिएको मेरो शरीरलाई एक ग्लास पानीले तृप्त नगराई माथि चढ्ने आँट गर्न सकिनँ। पहिलो तल्लाबाट उक्लिँदै सातौं तल्लामा पुग्दा सास बढ्यो, एकैछिन रोकिएँ।
मनलाई सान्त्वना दिँदै भने, ‘अब जम्मा २३ खुड्किला बाँकी त हुन्।’
हो, गन्तीले नै भने २३ खुड्किला!
लिफ्ट नचडी भर्याङ चड्छु भनेर धेरैले याद गरेका छन् मलाई यहाँ। अझ यति तल्ला आइपुग्दा यति खुड्किला छन् भने त काम नपाएर खुड्किला नै गन्दै बस्दी रहिछ भन्दाहुन् मलाई भन्ने मनमा लाग्यो।
फेरि आफैंलाई सम्झाएँ, ‘आ! अरुले जे सोचे नि, जे भने पनि अरुका सोचाइका कारण म आफूले अप्ठ्यारो महसुस गर्नुहुन्न। मेरो पेसाले नै मलाई खानपान र आफ्नो जीवनशैलीसँग अनुशासित रहन सिकाएको छ। यदि यो सब म आफैंले गर्दिनँ त मैले नै व्यवहारमा नउतारेका कुराहरू अरुलाई गर्नु भनेर कसरी परामर्श दिन सक्थें होला र!’
बेड नं. ८०२ को फाइल पल्टाउँदै सरसर्ती हेरेँ-
३५ वर्षीय पुरुष, उचाइ ५ फिट ५ इन्च र तौल ११० केजी।
समस्या: अनियन्त्रित मधुमेहका साथै हाइपोथाइरोडिज्म, अधिकतम् कोलेस्ट्रोल, ग्रेड थ्री फ्याटी लिभर रहेछन्। रिर्पोटमा एचबीए वान सी १०.१% देखियो।
यी बाहेक फाइलमा बिरामीको हस्ताक्षर भएको एउटा सर्जरी सम्बन्धी कागज अर्थात् कन्सेन्ट पत्र पनि देखियो।
लेखिएको थियो- ‘प्लान फर ब्यारियाट्रिक सर्जरी।’
बिरामी बेडमा पल्टिरहेका थिए। साथमा एक महिला बेडको साइडमा बसिरहेकी थिइन्, उनकी पत्नी रहिछिन्।
‘ओहो, म्याडम, नमस्ते!’ बेडमा सुतेका बिरामी जुरुक्कै उठे।
म झस्किएँ अनि अनकनाउँदै सोधेँ, ‘चिन्नुहुन्छ र?’
उनले ‘किन नचिन्नु र म्याडम, लगभग डेढ साल पहिले म तौल घटाउनको लागि तपाईंकहाँ आएको थिएँ।’
मैले नियाल्दै हेरेँ तर दुई चिउडो परेको ती अजंगको व्यक्तिसँग पहिले आफू परिचित रहेको याद गर्न साह्रै मुस्किल पर्यो।
‘अब यत्तिका बिरामीहरू आउँछन्, तपाईंलाई मैले ठम्याउन सकिनँ, तपाईं अझैँ डेढ दुई वर्ष अघिको कुरा गर्नुहुन्छ।’
उनले जोड गर्दै थपे, ‘हजुरको वेट लस स्किममा नि केही समय थिएँ म, याद गर्नू त।’
उनी यो स्किमको बारेमा जानकार भएको सुन्दा साँच्चै उनी विगतमा आफूसँग परिचित रहेको पुष्टि भएझैँ भयो। र म उनी कहिले मसँग परामर्श लिन आएछन् भनेर एकैछिन सोच्न बाध्य भएँ। वेट लस स्किममा रहने बिरामीहरूलाई लामो समयसम्म फलोअप गर्नपर्ने भएकाले प्रायःजसो बिरामीसँग राम्रै परिचय हुने गर्दथ्यो।
उनलाई चिन्ने जमर्कोमा मेरा आँखा यताउता डुल्न थाले। उनी भने मैले पक्कै चिन्छु भन्ने भावमा चुपचाप एकटकले मलाई नै हेरिरहे। केही सेकेन्डको अड्कलपछि मैले चिनेको संकेत गर्दै भनेँ, ‘ए, ए तपाईं?’
उनी खुसी हुँदै बोले, ‘चिन्नुभो अब म्याडम?’
मैले भनेँ, ‘अँ, पहिलेभन्दा धेरै मोटाउनु भएछ, चिन्न निकै मुस्किल भयो।’
चिने पनि मैले पहिलाका कुरा उठाएर विगतका कुरालाई ताजा गर्न चाहिनँ। उनी भने विगतको कुरा कोट्याउने र एकआपसमा परिचय ताजा गराउनेमा आशावादी रहेको महसुस गरेँ।
मैले नै भनें, ‘वेट लस स्किम बारे त कुरा गर्नुभयो तर त्यसमा हामीले भनेअनुसारका व्यवहारमा परिवर्तन गर्न सक्नुभएन र तौल नियन्त्रण नहुन्जेल हामीसँग सम्पर्कमा रहनुभएन, त्यसैले चिन्न पनि मुस्किल पर्यो।’
‘यी बितेका वर्षहरूमा आफैले पनि त्यति प्रयास गर्नुभएझैँ लागेन, घट्नुभन्दा झन् झनै मोटाउनुभएछ।’
मेरो यति कुराले उनी आजको आफ्नो यथार्थमा उत्रिए र चौडापारि खुलेको मुख अचानक बन्द गर्दै बोले, ‘हजुर म्याडम, प्रयास गर्दै नगरेको भने होइन। तर अब तौल घटाउने प्रयास म यस अवस्थामा गर्न सक्दिनँ।’
फेरि भावनात्मक हुँदै बोले, ‘केही समययता मैले धेरै व्यायममा जोड दिएँ पनि, त्यसैबेला कडा शारीरिक परिश्रमका कारण लिगामेन्ट टियर भयो र कति महिना बेड रेस्टमा रहेँ, काम व्यवसाय सबै छोडेर। निको भएँ र आफ्नो दैनिकीमा भिज्दै थिएँ, त्यति नै बेला सुगर नियन्त्रण नभएर अचानक फेरि भर्ना हुनपर्यो।’
‘खानपानमा ध्यान दिनुभएन होला नि त?’ मैले प्रतिप्रश्न गरेँ।
उनले जवाफ दिनुअगावै उनकी श्रीमती पोल खोल्दै बोलिन्, ‘म्याडम, घरमै हो डाइट र कसरत जे जति, आफ्नो काममा हिँडेसीपछि जाँड-रक्सी सब चल्छ। म कति सम्झाउँछु कि अरु सामान्य व्यक्ति र वहाँ आफू अलग हुनुहुन्छ, स्वास्थ्यको हिसाबले। तर भन्नुहुन्छ, पेसाले नै होटल व्यवसायी, यस्ता जमघटमा संलग्नता नभए व्यवसाय नै ठप्प हुन्छ।’
बुढीले त्यति बोल्दा लाजले उनको शिर निहुरियो।
‘सितारामजी’ मैले बोलाएपछि उनले निहुरेको शिर माथि उठाए।
‘अनि ब्यारियाट्रिक सर्जरी गर्ने निर्णय पनि गर्नुभएको रहेछ,’ मैले सर्जरीबारे जिकिर गरेँ।
‘हजुर, यो पछिल्लो समय डाक्टरकै सुझाव अनुरुप हो र प्लान पर्सिको लागि थियो। अब सुगर नियन्त्रण भएपछि मात्रै हुने कुरा छ,’ उनले भने।
‘हेर्नुस्, यो सर्जरीपश्चात तपाईंले चाहेर पनि पहिलेको जीवनशैली र खानपान कायम गर्न सक्नुहुन्न। सर्जरी टिमले यसका फाइदा र बेफाइदा सबै बताउनुभयो होला नि।’
उनले मेरा कुरामा सहमति जनाउँदै मुन्टो हल्लाए। मैले थप्ने क्रममा बोलेँ, ‘हालको स्थितिमा आफ्नो डाइट र जीवनशैली परिवर्तन गर्न तपाईंलाई गाह्रो भइरहेको छ। यस सर्जरीपश्चात थोरै हेलचेक्राइँ र बेवास्ताले पनि तपाईंलाई धेरै दुःख दिनसक्छ। त्यसैले मानसिक रुपमा तयार हुनु जरुरी छ।’
उनको मलिन मुहारमा आशा जगाउँदै फेरि भनेँ, ‘नआत्तिनुहोस्, इन्सुलिन लिइरहनुभएको छ, डाइटले पनि अब सुगर नियन्त्रणमा आउँछ।’
केही छिनमै तालिकाअनुसार विभिन्न खानाका प्रकार, खाने सही समय, परिमाण र खानपानका निर्देशिकाका आधारमा उनलाई उचित परामर्श दिइयो। पहिले उनीसँग परिचित भएका दिनहरूभन्दा उनी निकै शान्त देखिन्थे, मैले बोलेको सुनेपछि मात्र बोलिरहेका थिए।
दुई/तिन दिन उनको हालचाल बुझ्न र सुगर नियन्त्रण भए नभएको हेर्न म उनकहाँ गइरहेँ। मलाई देख्नासाथ उनी खुसी हुन्थे र मुखमा तयार पारिरहेका प्रश्न र जिज्ञासा पोख्थे, मसँग। सोचेँ उनको यो कौतूहलता र जीवनशैली परिवर्तन गर्छु भन्ने इच्छाशक्ति पहिले नै हुन्थ्यो त आज आफ्नो शरीरलाई दुःख दिनुपर्ने अवस्थासम्म आइपुग्ने थिएनन् होला।
केही दिनमा उनको सर्जरी प्लान भयो।
मैले एक्सलमा २०२० को डाटा खोजेँ र त्यही उनको विवरण भेटेँ पनि। ३३ वर्षका उनी, प्रिडाइबेटिज र हाइपोथाइरोडिजमका साथै कोलेष्ट्रोलको मात्रा बढेको समस्याका कारण डाक्टरको रिफरलमा मकहाँ आएका रहेछन्।
९० केजीका रहेछन् त्यतिखेर उनी अनि बिएमआई ३२.२ रहेछ। भन्दै थिए, डाइटबाट तौल घटाउने र तत्कालै औषधि प्रयोग नगर्ने डाक्टरको निर्देशन थियो। त्यस समय उनको खानपान र जीवनशैलीको विवरण लिँदा उनले आफ्नो खानपानको सन्तुलन र समय नमिल्ने र आफूले प्रयास गरे तापनि परिवर्तन गर्न असफल रहेको बताएका थिए।
त्यस समय उनी आफूलाई मनलाग्दो जे पनि सोध्दै थिए। भन्दैथे- ‘एक महिनामा दश केजी तौल घट्ने हिसाबले डाइट प्लान गर्दिनुहोस्।’
‘तपाईं जीवनशैली बदल्न नि गाह्रो छ भन्नुहुन्छ। तौल घटाउन त्यति सजिलो हुन्न नि। सोच्नुहोस् यति मोटाउन कति समय लाग्यो होला। फेरि तौल घटाउने भन्ने बित्तिकै नखाई बस्ने पनि त होइन, आफ्ना कामकाज, दैनिकी पनि त अघि बढाउनुपर्यो। नखाई त कसरी शक्ति आउँला यी सब गर्न?’ मैले यसैगरी भनेको थिएँ।
कौतूहलताका प्रश्नचिन्ह फेरि लगाउँदै उनले सोधेको थिएँ, ‘मलाई त थोरै समयमा छिटो नतिजा चाहिएको हो, के यो सम्भव नहोला?’
‘सम्भव छ, तर त्यसका लागि आफूलाई चाहिने शक्तिभन्दा ज्यादै न्यूनतम खानुपर्छ अनि कसरतको तीव्रता र समय अवधि बढाउनु पर्छ। यसो गर्दा शक्तिविहीन भएर धेरै कमजोरी होइन्छ। यसरी घटाएको तौललाई स्वस्थकर मान्निन पनि। यसका कारण पछि गएर धेरै नकारात्मक असरहरू सामना गर्नुपर्ने हुनसक्छ।’
‘तपाईंको पोषण परीक्षणअनुसार तपाईंले करिब २० देखि २५ केजी तौल घटाउन लागिपर्नु पर्छ, एकैपटक सम्भव पनि हुँदैन। त्यसैले हालको तपाईंको अवस्थाका लागि महिनामा १ देखि २ केजी घटाउने टार्गेट गर्नुहोस्। कम्तीमा ६ देखि ९ महिना डटेर लाग्नुहोस्।’
उनको कम समयको तौल घटाउने उद्देश्यलाई पनि निरुत्साहित नगर्दै भनेको थिएँ, ‘कडा शारीरिक परिश्रम र खानपानमा परहेज गर्नुहुन्छ त तौल घटाउन त्यति गाह्रो पनि छैन। सबै तपाईंको मनोबल र निरन्तरतामा भरपर्ने कुरा हुन्।’
उनले मेरो कुरा खण्डन गर्दै भनिहाले, ‘कहाँ यत्तिका समय हुनु म्याडम। आज यहाँ भए भोलि कता भइन्छ। कहिले बिहानको खाना एकैचोटि बेलुका हुन्छ। हजुर जस्तो एकै ठाँउ बसेर कहाँ काम गर्न पाइयो र! पाइन्थ्यो त हजुर जत्तिकै फिट भइन्थो।’
यति भन्दै उनी गलल हाँसेका थिए।
‘तपाईंका रोग लाग्दा र नलाग्दाका अवस्था एउटै होइनन्। अब हालका समस्यालाई ध्यानमा राखेर आफ्ना खानपान र जीवनशैलीमा परिवर्तन ल्याउनुपर्यो नि। यदि गर्छु भन्ने अठोट राख्नुहुन्न त यसरी मजस्तै सिटमा बसेर काम गरे नि तपाईंले आफूलाई परिवर्तन गर्न सक्नुहुन्न।’
मेरा पछिल्ला शब्द उनलाई अलिक चित्त बुझेनछ क्यारे! अगाडि रहेको खाना तालिका उठाइ, ‘हवस् लाग्छु’ भने।
रोक्न क्रममा भनेँ, ‘पर्खिनुस्, मेरो कुरा अझै बाँकी नै छन्।’
ढोकासम्म पुगेका उनी फर्केर बोले, ‘के बाँकी छ र? तपाईंले के खाने, के नखाने, सबै त वर्णन गर्नुभइसक्यो अनि अब?’ उनी अलिक रुष्ट भएर बोलेका थिए।
‘वेट लस स्किममा राख्छौँ तपाईंलाई।’
जान लागेका उनलाई आफ्ना बाँकी रहेका कुराले रोक्न खोजेँ।
‘तपाईंले आफ्ना प्रयासमा लागि पर्दा कुनै पनि खाना सम्बन्धी समस्या वा नबुझेका कुरा हामीबाट बुझ्न सक्नुहुन्छ। र यस स्किमका अनुसार तपाईं निरन्तर हाम्रो सम्पर्क र फलोअपमा रहनुपर्छ। तपाईंको तौल घटाउनका लागि तपाईं सँगसँगै हाम्रो पनि प्रयास हुनेछ यो।’
उनले नाक खुम्च्याउँदै ‘चाहिँदैन त्यस्तो केही’ भन्दै त थिए। तर मैले दोस्रो पटक अनुरोध गर्दासम्म नाइ भन्न नसकी आफ्नो नाम, सम्पर्क र अरु विवरण दिएर गएका थिए।
त्यसयता ठिक एक महिनापछि डाक्टरको फलोअपमा आउँदा एउटै हस्पिटलमा पनि उनी मकहाँ आएनन्। एक/दुई पटक सम्पर्क गर्दा आफ्नो तौलमा सुधार नआएको जानकारी दिएका थिए। उनीप्रति सहयोगी हातहरू बडाउने प्रयासहरू जारी नै रहिरहे तर उनी आफैं दीर्घकालीन समयसम्म हामीसँग जोडिन सकेनन्।
सितारामजीको अनुहार यी दुई वर्षमा धेरै बदलिएछ। नत्र उनीप्रति म र मेरा टिमले गरेका प्रयासका कारण मैले उनलाई अझै बिर्सिएको रहेनछु। उनलाई पुनः भेटेपछि उनीसँगका बातचित सबै मेरा मानसपटलमा एकपछि अर्को गर्दै आउँदै थिए।
उनी मात्रै होइन, यस्ता धेरै बिरामी हुन्छन् जो फलोअप आउने वा आफ्ना समस्या र उपलब्धि बताउन आउँदैनन्।
एक पोषण विषेशज्ञ र खानपानका कारण प्रभावित बिरामीका बीच यो एक किसिमको ठूलो ग्याप नै हो जुन म आफैले महसुस गरेको छु। वेट लस स्किममा रहेर मैले कति बिरामीहरूलाई सम्पर्कमा राखेँ तर धेरै त त्यो पहुँचमा रहेनन् वा रहन चाहेनन्।
पहुँचमा रहेका केही सफल पनि रहेका छन्। धेरैमा एक/दुईकै सफल प्रयासले आफूलाई परिवर्तन गरेको देख्दा चाहिँ उनीहरूको सफलतामा आफू पनि सफल भएको महसुस गर्दछु।
सितारामजीलाई सर्जरीपश्चात पोस्ट अप वार्डमा सारिएको थियो। उनलाई झोलिलो खाना दिन भनियो। केही दिनपछि ठोस नरम कुरा खान दिइयो।
मैले भनेको कुरा सुन्ने र मान्ने भए नि उनका कत्ति बानी अझै पहिले जस्तै नै थिए। उनी एकैचोटि धेरै खान खोज्थे, हाङ्ग्राले पाङ्ग्रा निले जसरी। आफ्ना शरीरको आवश्यकता जति एकैपटकमा खान मिल्दैनथ्यो उनले। मज्जाले नचपाई हतारिएर खाँदा कति पटक बान्ता पनि गरे।
उनी कम बोल्ने र बढी उदासी देखिन्थे। हस्पिटल अवधिभर उनलाई सर्जरी अनुरुप खानपानसम्बन्धी धेरै परामर्श दिइयो। उनलाई पटक-पटक मानसिक परामर्श पनि दिइयो। विस्तारै उनले आफ्नो शरीर र शरीरको मेटाबोलिजम पहिले जस्तो नरहेको स्वीकार्दै गए।
खानपान सम्बन्धी सम्पूर्ण सिकाइ व्यवहारमा ढाले र सर्जरीपश्चात आफूलाई परिवर्तन गर्न प्रतिबद्ध रहे।
करिब एक साल बित्यो। म एक दिन ओपिडीमा बिरामीसँग व्यस्त रहँदा ठिक्क ढोका उघारी सितारामजी भित्र पसे। उनलाई पहिलो पटक भेट्दाका आकृति र शरीर मेराअघि झलझल्ती आए। मधुर मुस्कान साट्दै उनलाई बस्न भनेँ।
परामर्श लिइसकेर मेरो अगाडिका व्यक्ति जाँदै थिए। ढोकासम्म पुगेका उनले खै के सोचे, फनक्क फर्केर सोध्न थाले, ‘म्याडम, यसरी खाए अनि व्यायाम गरे महिनामा ५ देखि १० केजी त घटिएला नि है?’
सितारामजीसँगको पहिलो भेटमा मलाई उनको प्रश्न नि यहीँ थियो। सायद उनले नि आफ्नो एक झलक त्यस व्यक्तिमा देखे होलान् र त ती व्यक्तिलाई जवाफ दिन हतासिए- ‘जति नै महिना लाग्ला, समयको चिन्ता नगर्नुहोस्, बस् तौल घटाउनुहोस्।’
बिरामी उनीतिरै फर्किए। कुरा सकाउने क्रममा थप्दै, ‘प्रयास नै नगरी पहिलै पक्का गर्न नखोज्नूहोस। प्रयास गर्नुहुन्न त यी यसरी मेरोजस्तै पेट काटेर फाल्नुपर्छ’ भन्दै सर्जरी भएतिर देखाउँदै हाँसे।
सितारामजी आफ्ना सामान्य जाँचलाई आएका रहेछन्। बिरामी निस्किने बित्तिकै उनी तिनै बिरामी बसेको कुर्सीमा बसे र गफिन थाले, ‘म्याम, म पनि सुरुमा तपाईंकहाँ आउँदा यस्तै थिएँ होला ८०– ० को हाराहारी। धेरै जान्ने र धेरै घट्ने इच्छा देखाएको थिएँ तर मेरो प्रयास बोली अनुरुप भएनन्। घट्नलाई न आफै प्रयास गरे न त तपाईंहरूले मेरो लागि प्रयास गर्दा त्यसमा नै सरिक भएँ।’
उनका विगतका पश्चताप भुलाउँदै उनको आजलाई सम्बोधन गर्दै मैले भनेँ, ‘अहिले त पछिल्लो समयभन्दा निकै परिवर्तन देख्छु त।’
ढिलै भए पनि फिरेको चेत र पाएको सफलतामा खुसीले गमक्क हुँदै उनले भने, ‘हो नि अहिले ठिक ९० केजी छु।’
आफ्ना उपलब्धिमा अझ गर्व गर्दै भने, ‘सर्जरी यता मेरो जीवनशैली, खानपान र साथीभाइसँगको जमघट सबै बदलिए। धेरै एक्लो महसुस गर्थेँ तर यही एक्लोपन र जीवनमा आएका परिवर्तन सँगसँगै आफ्ना शरीर र आफ्नो जीवनलाई माया गर्न सिकेँ।’
यति भन्दा उनी अलिक भावुक देखिए।
आफू अघिको रिर्पोट मकहाँ सार्दै, ‘ब्लडमा आइरन र भिटामिन डीको कमी देखियो, परामर्श लिन फेरि यहीँ आएँ’ भन्दै निचिक्क हाँसे।
यो वर्ष दिनमा उनले आफूलाई बहुतै सन्तोषजनक र परिवर्तनशील बनाएका थिए। उनमा देखिएका प्रत्यक्ष सुधार र परिवर्तनले म पनि भित्रभित्रै गद्गद् भएँ।
एक पोषणविद् र एक बिरामीबीच राम्रो सहकार्य कायम गर्दै अघि बढ्नु अपरिहार्य छ। त्यसो नहुँदा पोषणविद् बिरामीको पहुँचमा पुग्न सक्दैन र त्यसरी नै बिरामीले पोषणविदबाट पूर्णरुपले स्वास्थ्य सेवा र खानपानको परामर्श पाउन सक्दैन।
नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा डाक्टर, नर्सहरूको बाहुल्यता र महत्त्व आम जनमानसमा जति छ, त्यति पोषणविदको महत्त्व हुन अझैँ धेरै समय लाग्ला। सितारामजीकै सन्दर्भमा पोषण सुरुमा बेवास्ता र हेलचेक्राइँका पाटो भएको थियो जसका कारण उनी लामो समयसम्म आफ्ना बेवास्ताका कारण उब्जिएका समस्याबाट प्रताडित भइरहे।
पोषण प्रवाह गर्दै कसरी स्वस्थ तरिकाले आफ्नो जीवन परिवर्तन गर्नुपर्छ भन्नेमा एक पोषणविदको कस्तो भूमिका रहेको हुन्छ, यो कुरा आज उनीभन्दा अरु कसले बुझेको होला र!
उनलाई समयमै उचित परामर्श र कडा निगरानीमा राखेर उनको समस्या निर्क्योलमा ल्याउन नसकेकोमा मलाई आज पनि पछुतो लाग्छ। हुन त उनले अलिकति इच्छाशत्ति र विश्वास देखाएका भए त्यो सम्भव हुन्थ्यो पनि होला।
हालको समयमा उनी आफैंले पनि यो कुरा महसुस गरेका छन् र आज धेरैलाई आफ्ना भोगाइ र पश्चतापका कहानीद्वारा सन्देश दिन पनि खोज्छन्।
अन्ततः हाम्रो स्वास्थ्य स्थिति खस्किनु वा सुधार नहुनुमा, हाम्रा आफ्नो स्वास्थ्यप्रतिका सकारात्मक अभ्यास वा अस्वस्थ स्थितिबाट निस्किनका लागि निरन्तर प्रयास र धैर्यताकै कमीले गर्दा हुने रहेछन्।
जसरी कुनै कुरामा सफल हुन निरन्तर मेहनत र धैर्यता चाहिन्छ, त्यस्तै स्वस्थ र दीर्घकालीन स्वास्थ्यको लागि स्वस्थकर खानपान र सक्रिय जीवनशैलीमा निरन्तर ध्यान दिनुपर्ने रहेछ। साथै कुनै पनि स्वास्थ्य वा पोषणसम्बन्धी समस्यामा भयावह स्थिति आउनु अगावै समयमै सम्बन्धित विज्ञबाट सहयोग वा परामर्श लिनुपर्ने रहेछ।
यो सिक प्रत्यक्ष सीतारामको जीवनबाट सिक्न सकिन्छ।
मेरो अबका प्रयास भने सीतारामजस्ता व्यक्तिमा केन्द्रित हुनेछन् जसअन्तर्गत पोषणविद् र बिरामीबीच निरन्तर आपसी प्रयास र पहुँच कायम गर्दै सकारात्मक नतिजा प्रवाह गरेर स्वस्थकर जनशत्ति उत्पादन गर्नु हो।