लुकामारी खेल्ने हो भने लुक्नै मिल्ने खाल्डा भएको बाटोमा नेपथ्यका गीत घन्काउँदै पुरानो टोयोटा गाडीको फ्रन्टसिटमा बसेर म सहयात्रीहरूसँग सिन्धुपाल्चोकको यात्रामा निस्केको थिएँ।
‘स्टप स्टप, माउन्टेन’ पछाडिबाट मभन्दा खत्तम अङ्ग्रेजी बोल्ने ५० वर्षिय फ्रेन्च साथीको आवाज आयो। ‘यस्ता जाबा खाल्डा’ भन्दै अघि बढिरहेको टोयोटा विस्तारै रोकियो।
ढुस्स परेको दिनमा नि कहाँको माउन्टेन देखेछ भनेर यसो बाहिर हेरी पछाडि फर्किएँ र उनलाई सोधेँ, ‘ह्ववेर इज माउन्टेन?’
उनले मलाई ऊ भनेर अगाडिको हरियो पहाडतिर औँला देखाइन्। मुस्कुराउँदै ‘यस्तो जाबोलाई माउन्टेन भन्दैन, यो सानोतिनो पहाड मात्रै हो‘ छाती फुलाएर मैले भनेँ।
र, उनलाई नेपालीको माउन्टेन बुझाउन पछाडि फर्किएँ।
बयान नै गर्न थालेपछि म र टुर गाइडबीच खासै फरक छैन। बेलाबेलामा सहकर्मीहरूबाट गाइडकै उपाधी पाएर यो कुरा प्रमाणित नै भइसकेको थियो। ती ५० वर्षीया फोटोपत्रकारसँग आएका मेरै उमेरका तीन जना साथी पनि ध्यान दिएर मेरा कुरा सुन्न थाले। तीमध्ये एउटा नवविवाहित जोडी थियो। अर्की थिइन् हँसिली युवती।
गफ सुरू भइसकेपछि रोकिने नाम नै लिएन। कहीँकतै विश्राम गर्न रोकिँदा गफ पनि रोकिन्थे। अनि गाडीको स्पिकरमा अमृत गुरुङको आवाज घन्किन थालेपछि हाम्रा गफ नि सुरु भइहाल्थे। उता गुरुङजीको ‘ह् या गर्ने बानी...’ यता आफ्नो गफ दिने बानी।
पहिलो दिन गन्तव्यमा पुग्नासाथ हामी कामा लागिहाल्यौं। केही भिडिओ बनाउन अन्तरवार्ता गर्ने हाम्रो काम थियो। हाम्रो टोलीले दिनभरि मानिसहरूसँग कुरा र सम्बन्धित स्थानीय व्यक्तिहरूसँग अन्तरवार्ता गर्थ्यो। साँझ होटलमा पुगेर दिनभरि गरिएका कामको समीक्षा।
साँझको समीक्षालाई थप उर्जावान बनाउन हामी नेपालमा उत्पादित बियरले घाँटी भिजाइरहन्थ्यौँ। चराको आहार जति मात्र खाएर भरिने विदेशी सहकर्मीहरूलाई निन्द्रा देवीले धेरै छिटो बोलाइन् जस्तो छ। काम सकिएपछि केहीबेर बसेर उनीहरू आआफ्नो कोठातिर लागे। तर ती हँसिली युवती भने आगोको छेउमै बसिरहिन्। सायद अगो छोड्न मन लागेनछ क्यार। मलाई पनि अँगेनाको न्यानो छोड्न मन थिएन।
मेलम्ची खोलाको चिसो स्याँठले हानिरहेका बेला तातो आगोको राप अनि सुन्ने रहर भएकी हँसिल साथी भएपछि मलाई दिनभरको यात्रा, भेटेका मान्छे र सुनेका कथा बारेमा गफ गर्न अरु के नै प्रेरणा चाहिन्थ्यो र! उनले पनि आफ्नो कुरा सुनाइन्। यताको बारेमा कति कुरा उत्सुक हुँदै सोधिन्।
बित्दै गइरहेको रातसँगै झ्याउँकिरी र हाम्रो होटेलको मुन्तिरबाट बग्ने मेलम्चीको आवाज झन्-झन् चर्को हुँदै गइरहेको थियो। आगोको राप सुस्ताउँदै थियो। गफको राप भने झनै बढ्दै थियो। एक्कासी मोबाइल निकालेर घडी हेर्दा लगभग मध्यरात भइसकेको रहेछ। सुत्न जानुपर्छ भन्दै हामी उठ्यौं।
दोस्रो दिन सूर्यले आकाशमा मनै पग्लिने चित्र बनाएर डाँडा पछाडि लुक्न नगएसम्म काम गर्यौं। अनि हिजैजस्तै समीक्षा। त्यसपछि एकैछिन रमाइला गफ। सबैजना सुत्न गएपछि अँगेनाको छेउमा रह्यौ अघिल्लो दिनकै दुई जना।
उनी र मेरो गफ के विषयमा भयो थाहा छैन, त्यो दिन पनि वेटर भाइले ‘दाइ, म सुते हैँ’ भन्न आएपछि घडी हेर्दा दिन फेरिएकै आधा घण्टा कटिसकेको रहेछ।
बाँकी ३ दिन उसको र मेरो गफ भने हरेक दिन लम्बिरह्यो।
बिहान र दिनभरि टाढैबाट भेट हुँदा पनि हाम्रा आँखा बोल्न र एकअर्काको अनुहारको भाषा बुझ्न थालिसकेकका थिए। एकअर्कासँग बोल्न नपाए हाम्रा आँखा जुधेर कुरा गरिहाल्थे। ओठमा मुस्कान सँगै आउँथ्यो।
होटेलका विभिन्न कोठाका बत्ती निभेका, स्टाफ सुत्न गएका वा रात गहिरो हुँदै गएको हामीलाई पत्तै हुन छोड्यो।
छैटौँ दिनको कुरा हो। सिन्धुपाल्चोक बसाइको अन्तिम रात भिन्न थियो। उनी चिन्तित देखिइन्। मलाई भने उनलाई चिन्तित देखेर अनौठो लाग्यो।
मेरा आँखाले पहिलै सोधेका थिए। मेरो मनले जवाफ दिदै थियो। त्यही बेला मैले उनलाई सोधेँ, ‘के भयो?’
‘भोलिदेखि म जान्छु,’ यति भन्दै उनले दबेको मुस्कान दिइन्। यतिखेर उनको आँखा अरू नै केही भन्दै थियो। म पनि मुस्कुराएँ।
‘तिमीलाई छोडेर जाने मन त थिएन। तर अर्को जिल्लामा काम छ,’ उनले भनेकी थिइन्।
अर्को आर्को साथी म जत्तिकै मिलनसार र सहयोगी नहुने हो कि भनी डर व्यक्त गरिरहिन्। सोही कुरा दोहोर्याउँदै मुस्कुराउने र फेरि भेट हुन्छ भनेर आश्वासन दिने बाहेक मसँग उपाय थिएन। त्यो रात बिहान नहुन्जेलसम्म हामी गफ गरिरह्यौं।
त्यो दिन हामीले प्रेमका कुरा गर्यौं, छोटो समयमै भएको अत्मीयताको कुरा गर्यौं, बिछोडका कुरा गर्यौँ, अनि त्यो दौरानमा महुसस भएको बेवकुफीका पनि कुरा गर्यौँ।
हुन त सबै रात राम्रा थिए, तर त्यो रात विशेष थियो।
भोलिपल्ट हामी आधा दिनमा काम सकेर फर्किने गरी निस्कियौँ।
काठमाडौं फर्किँदा गाडीमा गीत त यसपटक पनि बजिरहेको थियो तर उनी र म आफ्नै मित्रताको काव्यमा डुबेका थियौँ।
ड्राइभरको अगाडि हुने सिसामा हाम्रा आँखा बेलाबेला जुधिरहेका थिए। चिया खान रोकेको ठाउँमा पनि उनी र मबीच एक अनौठो मौनता थियो।
गाडीबाट ओर्लने बेला मैले सबैलाई बिदा गर्न हात बढाएँ तर सबैले मलाई न्यानो अँगालोमा बाँधेरै धन्यवाद दिए। ६ दिनको गहिरो मित्रता भएको साथीले भने कफी खानलाई निम्तो दिइन्। हामी फेरि गफमा डुब्यौँ।
उनले मलाई काम सकाएर ट्रेकिङ जाने मन भएको बताइन्। मैले सबै व्यवस्था मिलाइदिने जिम्मा लिएँ। उनको भाइ र बहिनी पनि नेपाल आउँदै गरेकाले मलाई नैतिक जिम्मेवारी अलिक बढी नै महसुस भएको थियो।
उनीहरूलाई छोडेर म मोटरसाइकलमा चिसो हावा खाँदै यो मित्रताको बारेमा सोच्दै घरतिर लागेँ।
यो सम्बन्ध देखेर आफैसँग चकित थिएँ। उनीसँग गफ गर्न निकै सहज महसुस गर्न थालेको थिएँ।
घर पुगेर फोन हेर्दा उनको मेसेज आइसकेको रहेछ,‘घर सुरक्षित पुग्यौ?’
त्यो रात पनि निकै लामो कुरा भयो, सायद ऊ या म ननिदाउन्जेल! यो कुराकानीको लहर उनको आर्को जिल्लाको यात्रादेखि लिएर ट्रेकिङसम्मै चलिरह्यो।
चिसो होटलबाट पनि निनिदाइ उनी मलाई सबै वृत्तान्त दिइरहेकी थिइन्।
मेरा औँला उनलाई जवाफ लेख्न आँतुर रहन्थे।
औँलाको कुराकानी चल्दाचल्दै उनको काठमाडौं फर्किने समय पनि भइसकेको थियो। काठमाडौँ आउने साँझै भेट्ने प्रस्ताव राखिसकेकी थिइन्। म पनि आँतुर नै थिएँ।
मनमा बेग्लै किसिमको उत्साह थियो। घरीघरी काउकुती लागेजस्तो भएको थियो।
साँझ चिसो बताससँग कुराकानी गर्दै, पश्चिममा आफ्नो जादुमयी रङ फैलाइरहेको सूर्यास्त हेर्दै मनभरि कुराकानी लिएर ठमेलतिर लागेँ। मेरो मनको भावना झन्-झन् रङ्गिँदै थियो।
उनले मलाई कुरिरहेकी रहिछन्। उनलाई देखेपछि भटभटेको आवाज सुन्न छोडी आफ्नै ढुकढुकी मात्र सुन्न थालेँ।
पार्किङमा मोटरसाइकल राखेर म उनी भएको ठाउँमा पुगेँ। हामीले अँगालो मारेर एकअर्कालाई स्वागत गर्यौं र त्यो अँगालोमा एक बेग्लै न्यानोपन थियो, बेरिरहन मन लाग्ने। म अरु कसैलाई देखिरहेकै थिइनँ, छेउमै उभिएका केही मान्छे पनि।
‘जाउँ माथि रेष्टुराँमा’ भनेर मैले नसकाउँदै उनले पछाडि उभिएका उनको भाइबहिनी हुन् भनेर चिनाइन्।
म उनीहरूसँग मुस्कुराएँ, हात मिलाएँ र भर्याङको बाटो देखाएँ। मेरो मन खिन्न भयो। सायद उनीसँग मात्रै गफ गर्ने आश थियो मेरो।
खाना खाउन्जेल उनी र म गफ गरिरह्यौं। खानाले पेट भरिसकेको थियो तर मन गफका लागि भोकै थियो। उनको भाइबहिनी पनि सायद हामीलाई हेरेर छक्क पर्दै थिए। दुई घण्टासम्म एक अर्काबाट आँखा नहटाई गफ गरेको देख्दा उनीहरू अचम्मित नै थिए।
रात बढ्दै गएपछि मैले बिदा मागेँ।
उनले मलाई अचम्मले हेरिन् र सोधिन्, ‘किन?’
मैले मेरो घर टाढा भएको बहाना गरेर बिल तिरेर निस्किएँ।
हुन पनि ठमेलबाट भक्तपुर। भोलिपल्टै उनको फ्लाइट भएको कारण यात्रा शुभ रहोस् भनेर हात मिलाउन खोजेँ। तर मैले दिएको हात समाती उठेर मलाई फेरि अँगालोमा बेरिन्।
तर यो भावना अनौठो थियो। एक मनले लाग्यो- समय यसै रोकिए हुन्थ्यो। कति मजा आउँथ्यो होला! तर समयको काम नै हो बदलिने।
अँगालोबाट मुक्त भइसकेपछि हामी एकअर्कालाई हेरिरहेका थिएनौँ, थाहा छैन किन?
मैले चाबी खोजेजस्तो गरेँ, उनले आफ्नो सल।
आफ्नो कोठामा पुगेर फोन हेर्दा उनको मेसेज आइसकेको थियो- ‘तिमी किन गयौ? मलाई लागेको थियो, पहिलाजस्तै आज हामी ढिलासम्म सँगै गफ गरेर बस्नेछौँ।’
मैले मेरो पनि चहाना त्यही थियो तर उनको भाइबहिनी साथ भएको कारण निस्किन बेस लागेर निस्केको बताएँ। हामी दुवैजनाको चाहना एकै रहेछ तर खोइ किन बुझ्न सकेनौँ।
रातको दुई बजेसम्म हामी यसैमा अल्झियौँ र मैले उनलाई फेरि बिहान खाजा खान भेट्न आउने वाचा गरेँ। तर त्यस रातको गफमा जति उत्साह थियो, त्यतिकै एक डर पनि कि त्यो हाम्रो अन्तिम भेट हुनेवाला थियो।
बिहान सबेरै उठेर म चिसोमै उनलाई भेट्न निस्किएँ र निर्धारित ठाउँ पुग्दा उनी फेरि मभन्दा अगाडि पुगेर कुरिरहेकी रहिछन्। मेरो ढुकढुकी अचम्मले ठूलो-ठूलो हुँदै आयो, र कान तातेजस्तो भएर आयो। हामी विस्तारै भर्खरै खुलेको कफी पसलमा छिर्यौँ र एउटा टेबलमा एकअर्कातिर फर्केर बस्यौँ।
उज्यालोको लागि राखिएको सेतो जस्ताबाट ठ्याक्कै उनको अनुहारमा उज्यालो किरण परेको थियो र उनी आज झनै सुन्दर देखिरहेकी थिइन्। मैले यति सुन्दर कोही देखेकै थिइनँ।
उज्यालो परेको उनको खैरो कपालको बीचमा धेरै टल्किएको मुहार हेरिरहँदा मेरा आँखा उनको आँखामा रोकिए। धपक्क बलिरहेका तर रसिला उनको आँखा केही बोलिरहेको थियो। मैले आज अचम्मले आँखाको भाषा पनि बुझिरहेको जस्तो लागिरहेको थियो।
हामी त्यो दिन धेरै समय मौन थियौँ तर हाम्रा आँखाले सायद एक युगलाई पुग्ने गफ गरिसकेका थिए।
केही बेरमा उनले सानो स्वरले बोलिन्, ‘म अब निस्कनुपर्छ सायद, एयरपोर्टको लागि तयारी गर्नुछ।’
मैले केही बोल्न सकिनँ र त्यहाँबाट निस्किएर उनलाई मोटरसाइकलको पछाडि राखी होटल पुर्याउन हिँडें।
उनले एक्कासी मेरो काँधमा शिर राखिन् , म बाक्लो नर्थफेस ज्याकेट भित्र पनि उनको अनुहारको न्यानोपन महसुस गर्न सक्थेँ। त्यस दिन होटल पनि कति चाँडै आइपुग्यो भनेर म आफ्नै सहरका बाटोसँग निरास भएँ।
बाइकबाट ओर्लेपछि हामीले एकअर्कालाई आम्नेसाम्ने अन्तिम चोटि बिदा माग्नुपर्ने थियो। हामी फेरि पनि केही बोलेनौँ र अँगालोमै बाँधियौं, कस्सिएर।
यसपालि छुटिँदा मैले आँट गरेर उनको आँखामा हेरेँ, ती आँखा पक्कै खुसी थिएनन्। मैले उनलाई शुभयात्राको कामना गरेर हामी छुट्टियौँ।
उनीसँग छुटिएपछि म काममा गएँ, तर मेरो मन उतै होटेलको आँगनमा छुटेको थियो। म यो भावनासँग रुष्ट थिएँ। म केही खिल्ली चुरोटको धुवाँ उडाउँदै उनकै सोचमा हराइरहेँ। घडी हेरेँ, उनको उड्ने बेला हुँदै रहेछ।
मैले ‘प्लेनमा छिर्यौ?’ भनेर उसलाई मेसेज गरेँ।
उताबाट जवाफ त आयो तर मैले नसोधेको प्रश्नको, ‘म कामले गर्दा ३५-३६ वटा देश घुमिसकेँ तर मलाई छुट्टिन यति गाह्रो कहिले भएको थिएन, मलाई लाग्छ म तिमिलाई माया गर्न थालेको छु।’
मैले त्यो मेसेज पढेपछि मेरो छटपटीको पनि जवाफ पाएँ। मैले तुरुन्तै उनलाई फोन गरेँ तर बीचमा एनटिसीको दिदीले फोन स्विच अफ छ भनिदिइन्।
सम्भव हुने भएको भए सायद म पनि हिन्दी फिल्मको हिरोजस्तै प्लेनमा छिरेर उसलाई रोक्थेँ तर जीवन फिल्म होइन। सोचमा रुमल्लिरहने र प्रेमसँगको डरले सायद मैले एउटा ठूलो अवसर गुमाइसकेको थिएँ। मलाई मजस्तो मूर्ख यो संसारमा कोही होलाजस्तो लागेन।
लेखिँदा लेखिँदैको कहानीमा कलमको मसी सकिएजस्तो भो। मैले आफूलाई भन्न बुझाउन नसकेको कुरा उनले मलाई भनेर चीलगाडीमा आफ्नो घर गइन्। मेरो मन जति खुसी थियो त्यति दुखी नै।
उनी पुगेपछि र त्यसपछिको लगभग छ महिनासम्म हामी सम्पर्कमा रह्यौँ र आफ्ना भावनाका गफ पनि गर्यौं। हामीले धेरैपल्ट हामी सँगै हुनसक्ने योजना पनि बनायौँ तर उनलाई यहाँ आउन र मलाई फ्रान्स जान केही न केही कुराले रोकी नै रह्यो।
हामीले यसलाई मिठो कल्पना भनी सहमति जनायौँ र आशामा अल्झिएर जीवनलाई कठिन बनाउनुभन्दा यसलाई मिठो सम्झनामा राख्ने निर्णय गर्यौं। नलेखिएको पानाको थाक भएर हाम्रो कहानी थन्कियो।