एक महिनाको जाडो बिदा सकेर काठमाडौं फर्कँदै थिएँ। पर्यटक बसपार्कबाट बिहान साढे सात बजे छुट्ने पर्यटक बसको टिकट थियो। त्यस बिहान म बस छुट्ने समयभन्दा केही अगाडि नै बसपार्क पुगेको थिएँ।
म बसपार्क पुग्दा त्यहाँको वातावरण एकदम व्यस्त देखिन्थ्यो। चिसो घटे पनि पूरा हटिसकेको भने थिएन, बिहान बेलुका चिसै हुन्थ्यो। बिहानको चिसोले होला सायद अरू पसलहरूमा भन्दा चिया-कफी पाउने पसलमा बढी भिडभाड थियो। सबै खाले मान्छेहरू, स्वदेशी, विदेशी त्यहाँ थिए। सबै आ-आफ्नै धुनमा थिए। सबै आ-आफ्नै चटारोमा देखिन्थे।
हुन त बसपार्कको दृश्य लगभग सधैंजसो उस्तै त हुन्छ नि! के नै पो फरक हुन्छ र! उही बसपार्क। उही बसहरू। उही बस चालकहरू। उही सहचालकहरू। उही पसलेहरू। उही नाङ्लोमा बेकरी बेच्न हिँड्नेहरू। उही हो-हल्ला। उही चटारो। सबै उस्तै। तर पनि हरेक दिन यात्रा गर्न आउने नयाँ यात्रुहरू र उनीहरूले बोक्ने नवीन कथाहरू बसपार्कको रुटिनबद्ध र एकनासको वातावरणमा टाँसिन आइपुग्ने अपवादहरू हुन्।
त्यो दिन पनि उस्तै थियो त्यहाँको वातावरण। कोही आफन्तको बिदाइ गर्न आएका थिए। कोही विदेश जान घरबाट माला, खादा ओडेर आएका थिए। उनीहरूको अनुहारमा निकट भविष्यको भय प्रस्ट देखिन्थ्यो। कोही फेरि चिन्ता र आशा मिश्रित ककटेल भाव अनुहारमा टाँसेर भारी मनका साथ सुटकेस गुडाउँदै आफ्नो बसतिर लम्किरहेका देखिन्थे।
कोही बेकरी बेच्न व्यस्त देखिन्थे भने कोही बसमा राख्ने यात्रुका लागि हानालुछ गरिरहेका देखिन्थे। पर्यटक बसपार्क भनिए पनि त्यहाँ अधिकांश यात्रुहरू स्वदेशी नै हुन्थे। सुरक्षित र आरामदायी यात्राको लागि पर्यटक बसहरू चर्चित थिए, त्यसैले पनि नेपालीहरू यी बसहरूमा यात्रा गर्न रूचाउँथे।
त्यस बिहान बसपार्कको दृश्य एकएक गरेर नियालिसकेपछि लागेको थियो हरेक बिहान कति छिट्टो उठेर व्यस्त भैसकेको हुने रहेछ पोखरा! हुन त पोखराको मात्र होइन, व्यस्त बसपार्क हरेक सहरको कथा हो। साँच्चै भन्ने हो भने, यस्ता बसपार्कहरू हरेक कथाका कथापार्क पनि त हुन्।
मैले अघिल्लो दिन नै टिकट लिइसकेको थिएँ। त्यसैले आफ्नो बस ठम्याएर बसभित्र छिरेँ। सामानको नाममा आमाले मलाई जेठोबुढो चामलको भात मनपर्छ भनेर हिजो मात्रै मिलबाट कुटेर ल्याइदिनुभएको चामलको बोरा थियो, जुन मैले सहचालकको सहयोगमा बसको डिक्कीमा हालिसकेको थिएँ। र अर्को थियो, भिर्ने झोला जुन म आफैंसँग राखेको थिएँ।
बसमा छिरेपछि टिकटअनुसारको सिट खोजेँ, र टिकटमा अंकित झ्यालको सिटमा गएर बसेँ। मेरो छेउमा बस्ने सहयात्रु अझै आइपुगेको थिएन। मलाई जहिले पनि यस्तो लामो यात्रा गर्दा सँगैको सिटमा कोही गफ गर्ने मान्छे परिदिए यात्रा सहज हुन्थ्यो भन्ने लाग्थ्यो। तर कहिल्यै त्यस्तो भएको थिएन।
कहिले यात्राभरि सुत्ने मान्छे पर्थे, कहिले अखबार या किताब पढ्ने मान्छे, त कहिले फोनमा घोत्लिने मान्छे पर्थे। त्यो दिन पनि म त्यही आशमा थिएँ। झ्यालबाट बाहिर एकतमासले व्यस्त बसपार्क नियालिरहेको थिएँ, कतैबाट आवाज आयो, ‘एक्स्क्यूज मी!’
म केही झस्केझैँ गरी उक्त आवाज आएतिर मुन्टो फर्काएँ। त्यो आवाजको स्रोत एउटा उज्यालो र आकर्षक अनुहार थियो। स्क्यानिङ मेसिनले भन्दा पनि छिटो उसलाई तलबाट माथिसम्म स्क्यान गरेपछि मैले भनेँ- ‘हजुर!’
उनले आफ्नो टिकटको अर्धकट्टी देखाउँदै भनिन्- ‘तपाईं मेरो सिटमा बस्नु भएको रैछ। यी हेर्नुस् त नम्बर!’
म झस्किएँ। एकपटक उनले मतिर तेर्स्याएको टिकट रूजू गरेपछि मैले भनेँ, ‘ओहो! मलाई माफ गर्नुहोला, एकैछिन है।’
उनलाई ठाउँ दिन म बाहिर निस्किएँ। उनी भित्र छिरिन्, र म बसेकाले तातो भएको सिटमा थ्याच्च बसिन्। उनी बसेपछि म पनि बसेँ, तर मेरो सिट चाहिँ चिसो थियो।
मनमा मनोवाद चल्न थाल्यो। मैले माफी मागेर सिट छोडेको भए पनि मैले बस्नुअघि टिकट राम्रोसँग चेक गरेको थिएँ, जुन कुरा सुरूदेखि नै मनमा खड्किरहेको थियो। तर अगाडि सुन्दर युवती देखेपछि त्यो भन्ने आँट भने आएको थिएन। तैपनि मनको सन्तोषको लागि बस्ने बित्तिकै खल्तीबाट आफ्नो टिकट निकालेर चेक गरेँ।
मेरो टिकटमा पनि सोही नम्बर लेखिएको थियो। सोचेँ, टिकट नम्बर लेख्न त्रुटी भएको रहेछ। मैले बोल्ने बहाना पाएझैँ गरि भनेँ- ‘हेर्नुस् त, हजुर र मलाई दुवैलाई एउटै सिटको दुई वटा टिकट दिइएको रहेछ!’
म आफू गलत नभएको प्रमाणित भएपछि बसमा उपस्थित सबैले वाहवाही गरेजस्तो अनुभव गरेको थिएँ। आँखा डुलाएर नहेरेको पनि कहाँ हो र! सबै आ-आफ्नै धुनमा देखेपछि आफैंलाई आफैंदेखि लाज पनि लाएर आएको थियो। अहमको स्वभाव नै यस्तै हुन्छ सायद, स-साना कुरामा छिट्टै उफ्रिहाल्ने र स-सानै कुराले छिट्टै थेच्चारी पनि हाल्ने।
उता उनले भने मात्र हल्का हाँसेर प्रतिक्रिया दिइन्, तर केही बोलिनन्।
साढे सात बजे भने पनि तोकेभन्दा पन्ध्र मिनेट ढिलो छुट्यो बस। केही बेरमै बसले बसपार्क छोड्यो। मान्छेहरू आफन्तलाई हात हल्लाएर बिदाइ गरिरहेका देखिन्थे। आमाहरू आफ्नो फरियाको फेरले आँसु पुछ्दै आफ्ना छोराछोरीहरूलाई बोकेर आँखाबाट ओझेल पर्नै आँटेको बसलाई बिदाइ गर्दै थिए। श्रीमतीहरू एकतमास बस गएतिर हेरेर टोलाइरहेका थिए।
मलाई छोड्न बहिनी आएकी थिई, तर ऊ अघिनै फर्किसकेकी थिई। मलाई हात हल्लाउने आफ्नै कोही थिएनन्, तर पनि म सबैलाई हात हल्लाएर जवाफी बिदाइ गरेर चित्त बुझाउँदै थिएँ। बसको गतिसँगै विस्तारै ओझेल पर्यो बसपार्क। उस्तै ओझेल परे, आफन्तका हल्लिएका हातहरू, आमा र श्रीमतीहरूका आश्रुपात आँखाहरू पनि।
विस्तारै बसले गति लियो। बस अगाडि पृथ्वी राजमार्ग लम्तन्न पसारिएको थियो। चालकको इसारामा बस आफ्नै रफ्तारमा एकतमास आवाज निकालेर गुड्दै थियो। बस बाहिरका घरहरू, रुखहरू र स्कुले केटाकेटीहरू एकपछि अर्को गर्दै रफ्तारमा पछाडि हुत्तिएझैँ भान हुन्थ्यो।
बसभित्रका यात्रुहरू कोही पत्रिका पढ्दै थिए, कोही हेडफोन लगाएर गीत सुन्नमा मस्त थिए, कोही छेउकै आफन्त या अरूनै कोहीसँग बात मार्दै थिए, कोही निदाउने कोसिस गर्दै थिए भने कोही झ्याल बाहिरको दृश्य नियाल्नमा व्यस्त थिए। कोही बसमा उपलब्ध वाइफाई जोडेर फेसबुक चलाउनमा मस्त थिए। यसरी सबै आफूलाई यात्रामा व्यस्त राख्ने प्रयत्नमा थिए, आफूलाई सहज बनाउने ध्याउन्नमा थिए।
सबै कुरा नियालिसकेपछि आफ्नो बगलमा रहेकी युवतीमा आएर मेरा नजर अडिए। उनी पनि आफ्नो ट्याबलेटमा वाइफाई जोडेर केही टाइप गर्दै थिइन्। उनको ध्यान पूरै ट्याबलेटमै थियो। उनले धेरै बेरसम्म एकनासले स्क्रीनमा हेरेर टाइप गरेको देखेर मनमा उत्सुकता जागेर आयो। त्यसैले सिटलाई सुत्न खोजेझैं गरी केही पछाडि ढल्काएँ।
सिट केही पछाडि ढल्काएपछि मैले देखेँ, उनी फेसबुकमा कसैसँग च्याट गर्दै थिइन्। अब म उनको च्याट सजिलै देख्न र पढ्न सक्ने स्थितिमा थिएँ। मैले निदाएको भान पार्दै उनको वार्तालाप पूरै पढ्न थालेँ।
पहिले एकमनले सोचेको पनि हो, अर्काको च्याट पढ्नु राम्रो होइन तर मनलाई मनाउनै सकिनँ। अन्ततः आफ्नो खुलदुली मेट्नलाई भए पनि हेर्ने निर्णय गरेँ। पढ्ने निधो गरेँ।
च्याटको अर्कोपट्टि कोही विकास नाम गरेको युवक थियो। उसले लेखेको थियो- ‘के तिमी जान जरुरी छ?’
उनले रिप्लाईमा बस् ‘हाहाहा’ लेखिन्।
‘मैले मजाक गरिरहेको छैन रीमा। म गम्भिरी भएर यो सब सोधिरहेको छु! के तिमी जान जरुरी छ? सिधा उत्तर देऊ प्लिज,’ उताबाट उसले फेरि लेख्यो।
उनले यो पटक लेखिन्- ‘हेर विकास! तिम्रो अगाडि तिम्रो पूरा जिन्दगी बाँकी छ। तिमी पढेका छौ, राम्रा पनि छौ। जस्तो भन्यो त्यस्तै केटी तिमीले आफ्नो जीवनसाथीको रुपमा पाउन सक्छौ। तिमीलाई थाहा छँदै छ, म विवाहित हुँ भनेर। म अब आफ्नो श्रीमान भएको ठाउँमा जाँदैछु। अब हाम्रो भेट फेरि कहिल्यै पनि हुनेछैन सायद। त्यसैले तिमी आफ्नो जिन्दगीमा फर्क। मेरो शुभकामना छ तिमीलाई। मेरो एक्लोपनमा तिमीले दिएको साथ र मायाको लागि म सधैं आभारी रहनेछु।’
केही समयको अन्तरालमा रिप्लाई आयो। त्यसमा लेखिएको थियो, ‘मलाई चाहिएको तिमी हो। तिमीबाहेक अरुको त म कल्पना पनि गर्न सक्दिनँ। तिमीलाई के लाग्छ, हामीबीच जे-जे भयो त्यो केबल क्षणिक रमाइलोको लागि थियो? के हामीबीच गाँसिएको सम्बन्ध खालि शारीरिक सम्बन्धको लागि मात्रै थियो? के हामीबीच जे-जे भयो त्यसमा प्रेम थिएन?’
उनले जवाफमा लेखिन्- ‘मेरो मनसाय तिम्रो चित्त दुखाउनु कदापि होइन, विकास। अब रह्यो कुरा शारीरिक सम्बन्धको! त्यो दुवैको मर्जीमा भएको एउटा स्वभाविक कदम थियो, जुन हामी दुई वयस्कले पूरा होस र सहमतिमा चालेका थियौँ। विकास, कहिलेकाहीँ विवेकमाथि मानवीय संवेदना र क्षणिक आवेग हाबी भैदिन्छ। त्यो दिन पनि त्यस्तै भएको थियो। तर जे होस्, त्यो घटनाप्रति मलाई कुनै पश्चताप छैन। हामीबीच जे भयो, त्यो वास्तवमा ठूलो कुरा पनि होइन। त्यो खाले सम्बन्ध न तिम्रो लागि पहिलो पटक थियो, न मेरा लागि।
हामी नजिक भयौं, विश्वास जित्यौँ, आत्मिय भयौं, फलस्वरूप हामीबीच शारीरिक सम्बन्ध स्थापित भयो। मलाई लाग्दैन त्यहाँ प्रेम थियो। त्यसैले त्यसमा नअल्झ विकास तिमी। मलाई माफ गर विकास, मैले तिमीलाई तिमीले सोचेजस्तो माया दिन सक्दिनँ। अनि तिम्रो यस्ता म्यासेजहरूले आउँदा दिनहरूमा मेरो जीवनमा समस्या खडा गर्न सक्छन्। त्यसैले यी सब कुरा एउटा सपनासरी बिर्सिदेऊ, जुन दुवैको लागी राम्रो हुनेछ। त्यसैले प्लिज, आफूलाई सम्हाल। मेरो मोबाइलको ब्याट्री सकिन लाग्यो म एकछिन अफ हुन्छु ल, आफ्नो ख्याल राख्नू!’
उताबाट केही जवाफ नै आएन। त्यसपछि उनले आफ्नो ट्याबलेट झोलामा राखिन्। मतिर हेरेर एक मुस्कान फ्याँकिन् र हात बाँधेर निदाएझैँ गरिन्। म नतमस्तक भएँ। उनको मुस्कानको जवाफ मुस्कुराएर दिन पनि सकिनँ।
भित्र हेर्ने कुरा सकिएपछि झ्याल बाहिर हेर्न थालेँ। हामी चढेको बस मलेखु आइपुगेको थियो। चालकले बस खाना खाने ठाउँमा छेउ लगाउँदै थिए। हल्का भोक लागेकाले म खाना खान उत्रिएँ। उनी पनि म झरेसँगै झरिन्। म ट्वाइलेटबाट निस्किँदा उनी आफ्नो बन्द भएको ट्याबलेट चार्ज गर्न चार्ज गर्ने ठाउँ खोज्दै थिइन्।
उनी फोन चार्ज गर्न चहान्थिन्, किनकि उनलाई एउटा सम्बन्धलाई बिट मारेर अर्को अगाँल्नु थियो, सधैंको लागि। मनमा फेरि बिट पनि नचुँडियोस् भन्ने थियो। प्रेम होस् या अरू नै केही, मान्छे सहजै सम्बन्धमा बिट मार्न कहाँ सक्छ र!
खाना खाने बेलामा पनि मेरो मनमा उसको र त्यो केटाबीचको सम्बन्धबारे धेरैबेर तर्कना खेलिरहे। सम्बन्धका अनेकौँ रुपहरू मध्यको एउटा रुप थियो, तिनी दुईको सम्बन्ध। खाना खाइओरी बसमा चढेँ। उनी त पहिल्यै चढिसकेकी रहिछन्।
म चढ्दा उनी फेरि ट्याबलेट निकालेर घोरिन थालिसकेकी थिइन्। यो पटक चाहिँ उनले केही छड्के पारेर लेख्न थालिन् जसले गर्दा मैले केही हेर्ने र पढ्ने मौकै पाइनँ। केबल उनीहरूबीचको संवादको अड्कलबाजीमै चित्त बुझाउन बाध्य भएँ।
‘कलंकी झर्ने कोही छ?,’ बसको सहचालक अगाडिबाट कराए।
‘छ… छ!’ हामी दुवै एकै स्वरमा कराएछौँ, दुवैले एकअर्कालाई लाज मिसिएको नजरले हेर्यौँ र टाउको माथि राखेको झोला झिक्न थाल्यौँ। पहिले म झरेँ, त्यसपछि उनी झरिन्। हामी दुवैलाई कलंकीमा फ्याँकेर बस आफ्नो अन्तिम गन्तव्यतर्फ सोझियो।
बसको यात्राभरि नबोलेको उक्त युवतीसँग छुट्टिनुअघि सोधेँ- ‘तपाईं कहाँसम्म पुग्ने?’
उनले भनिन्, ‘मेरो भोलिको फ्लाइट छ, अमेरिकाको। आज म सुन्धरा होटलमा बस्छु। भोलि बिहानको फ्लाइट छ। यहाँ ट्याक्सी खोजेके एउटै देख्दिनँ, हेर्नू न!’
मैले केही परबाट आउँदै गरेको ट्याक्सीलाई आवाज दिएँ। ट्याक्सी मेरो अगाडि आएर रोकियो। उनले पहिले आफ्नो सुटकेस डिक्कीमा राखिन् र आफू चढिन्।
म बाटो काट्न खोज्दै थिएँ। उनले रोक्किराखेको ट्याक्सीबाट टाउको निकालेर सोधिन्, ‘तपाईं चाहिँ कहाँसम्म नि? जाने भए हिँड्नुस्, तपाईंलाई तपाईंको गन्तव्यमा छोडेर म मेरो गन्तव्यतिर जाउँला।’
उत्तरमा मैले भनेँ, ‘होइन, होइन! हजुर जानुस्! म त कीर्तिपुर जाने हो, हिँडेरै जान्छु। त्यही पनि हजुरलाई उल्टो बाटो पर्छ। सोध्नु भो, यो नै ठूलो कुरा भयो। बरू हजुरको भोलिको उडान शुभ रहोस्! अनि बाँकी जीवन पनि सुखमय रहोस्।’
‘धन्यवाद! तपाईंको सहयोगको लागि पनि धन्यवाद! तर एउटा कुरा…’ केही भन्न खोज्दै थिइन्, तर उनले वाक्य पूरा गरिनन्। उनको मुहारमा संकोच र मनकुरा बीचमा सिर्जित द्वन्ध म स्पष्टसँग पढ्न सक्थेँ।
एकैछिनको पजपछि कुरा पूरा गर्दै उनले भनिन्, ‘ जाँदाजाँदै एउटा कुरा भन्छु ल! कसैको म्यासेज लुकीलुकी पढ्नु राम्रो होइन। म्यासेज नितान्त व्यक्तिगत कुरा हो। कसैको प्राइभेसीको सम्मान गर्न पनि जान्नुपर्छ। अब आइन्दा कसैको पनि नपढ्नू।’
यति भनेर उनले ड्राइभरलाई अघि बढ्ने इसारा दिइन्। यति भनिसक्दा उनको मुहारमा एउटा सन्तुष्टी, एक कुटिल मुस्कान व्याप्त थियो। म भने लाजले भुतुक्क भएर उनी चढेको ट्याक्सी नजरबाट नहराएसम्म एकतमासले हेरिरहेँ।
एक मनले त लागेको पनि थियो, त्यो ट्याक्सीले छोडेको धुँवा धुवाँ नभएर कालो मोसो हो, जुन मेरो अनुहारमा आएर पोतिन लालायित छ।