अँगेनामा हुनुपर्ने आगो
खडेरीमा बाटो बिराउँछ कहिलेकाहीँ
र जंगल पस्छ भयंकर भएर
सुकेका सिन्का-सिन्कालाई सलेदो पारेर
हावाका झोंका-झोंकाको बुई चढेर
ताण्डब देखाउँछ ताण्डब
टेर्दैन हत्तपत्त कसैलाई
त्योसम्म त थाहा छ मलाई
तर कसरी त्यो आगो सल्किन आइपुग्यो
आज मेरै मुटुमा
यो असार श्रावणको सिमसार महिनामा
यो आँसुको वर्षातले भिजेको छातीभित्र
कसरी घुस्यो चिसो छेडेर आगो
डाक्टर साहेब!
यो उनले लगाएको आगो हो
त्योसम्म थाहा छ मलाई
नभन्नू तेरो मुटु ठिकै छ भनेर
नभन्नू धड्कन सामान्यै छ भनेर
सम्पूर्ण चेकजाँच सकिएपछि
नलेख्नू त्यस्तो केही छैन भनेर
डाक्टर साहेब!
पोलिरहेछ भित्र भत-भत
जलिरहेछ हृदय तन्तुहरू
हजुरको यो काम हैन थाहा छ मलाई
यो निरक्षरको मुख हेरी कृपा गरेर
सोधी एउटा चिठी
लेखिदिनु हुन्थ्यो कि उनलाई?
कहिले फर्की आउँछिन् रे उनी
अंगालोभरि शीतल समुद्र बोकेर?
यो जलिरहेको मुटु डुबाउनलाई।