त्यो दिन म बाबुलाई छोड्न आफैं स्कुल गएको थिएँ। साउन महिना झरी दर्किरहेको थियो।
फुच्चे रेनकोर्टमा थियो। बुवाको मन– केटो भिज्ला भनेर छाता ओढाएर आफैं डोर्याइरहेको थिएँ। ऊ नर्सरीमा पढ्थ्यो। त्यही बीचमा रन्किएर आएको एउटा कारले मेरो पाइन्ट रंगीन पारिदियो।
असह्य भयो। हातको एक्सनसहित – हेलो भन्दै कराएँ।
‘तपाईंको आँखा छैन? गाडी चढ्छु भन्दैमा पैदल हिँड्नेलाई हेप्ने? के सारो दादागिरी हो? के यो सडक तपाईंहरूजस्ता कारमा चढ्नेहरूको लागि मात्रै हो?’
कार चलाउने व्यक्ति को थिए र उनले मैले बोलेको सुने वा सुनेनन्। तर, केही नजिकै पुगेर कालो कारको सिसा खुल्यो। बाबु करायो–अदिती हाई।
उनले पनि बाबुलाई उसै गरी फुच्चे हात हल्लाउँदै हाई भनिन्।
उनीहरू क्लास मेट रैछन्। उनीहरूबीचको आत्मीय व्यवहारले म भित्रको आगो पानीको झरीले झ्वाइँ..निभेझैं भयो।
झन्डै साढे दश मिटर जति अगाडि पुगेपछि कार रोकियो। ढोका खोल्दै छाता ओढेर सेतो साडीमा काला अग्ला हिल्स लगाएकी महिला ओर्लिइन्।
‘ओ हो, प्लिज, सो सरी है – हेर्नु न वर्षाले खाडल पूरै भरिएको रहेछ । मैले त्यो छोपिएको खाडल देखिनँ। प्लिज, मैले जानीजानी गरेकी हैन। मलाई माफ गर्नुहोस्।’ उनको गालामा तैरिरहेका पानीका बुँद र हावासहितको वर्षाले भिजेर तल्पतिएका कपालका रेसिकाहरूको चंचलतामा कतिखेर मन बहकियो त्यो पत्तै भएन।
साँच्चि आइरन, कल्चर र कलर भर्खरै गरी आएकी थिइन् क्यारे। सुनौला कपाल भित्रका हाइलाइट कानमा सिँउरिन खोज्दा पनि अटेर गरिरहेका थिए। झन्डै पाँच मिनेट उनी झरीबीच सडकमा उभिएर आफू निर्दोश रहेको कुरा साबित गर्न हर प्रयास गर्दै थिइन्।
‘सर, प्लिज माइन्ड नर्गनुस् ल।’
म यत्ति बोल्न सकें – हुन्छ हजुर– जान सक्नु हुन्छ।
तर, उनले आग्रह गरिन् –तपाईंको कपडा सबै फोहोर भइसक्यो त्यसैले बाबुलाई लिएर गाडीमा बस्नुहोस् म स्कुल पुर्याइदिन्छु र म तपाईंलाई आज सजाय स्वरूप तपाईंको घरसम्म छोड्न जानेछु।
चिटिक्क मिलेको जिउडाल, पुष्ट छाती, मिलेका दन्त लहर यस्तै थियो उनको बाहिरी स्वरूप। कस्ती परी जस्ती। मान्छेको नजर न हो। त्यसमाथि मधुर कोकिल आवाज म चुपचाप सुनिरहेको थिएँ।
उनले फेरि सोही आग्रह गरिन्। अनि म बाबुसहित गाडीमा पसेँ। अत्तरको बास्नाले नाक रमायो। बाबु र अदिती पनि आपसमा नजर जुधाउँथे। भित्र भित्रै हाँस्थे।
आँखा लोभी मन पापी। हेर्दा २४/ २५ वर्षकी उनका वाचाल आँखाहरूले मलाई पटक/पटक पछाडि फर्केर चिहाए। नौनी जस्तै मेरो कलेजी रसायो। हृदयमा प्रेम मिलिक्क भयो। गाडीमा मधुर आवाजमा स्वर सम्राट स्व. नारायण गोपालको – साउनको झरी बनि तिमी आउन मेरो मनको अँधेरीमा जुन छाउन ... बोलको गीत मन्द गतिमा बजिरहेको थियो।
गीत सकिँदै गर्दा स्कुलको गेट आयो। उनको आग्रहमा म गाडीभित्रै बसेँ। बाबु र अदितीलाई छोड्न उनी आफैं गइन्।
छाता ओराल्दै र गाडीको ढोका खोल्दै उनी भित्र पसिन्।
‘तपाईंको घर कहाँनेर हो?’
मेरो जवाफपछि उनले कार उतै लैजान मोडिन्।
अत्तरसँगै हल्का भिजेको उनको जवानीको सुगन्ध घुलिएको थियो।
‘मेरो छोरी त पढ्न मन नै गर्दिनन्, उनलाई होमवर्क गराउँदा पनि मैले दैनिक कति वाचाहरू पूरा गर्नुपर्ने हुन्छ। तपाईंको बाबु – नि?’
मैले जवाफ दिएँ – ऊ आफ्नो होमवर्क खुरूखुरू आफैं गर्छ। मलाई तनाव छैन।
उनले बोलिन् – ज्ञानी बच्चा।
केहीबेरमै मेरो घरको चोक आयो। मैले चोकमै रोकिदिन आग्रह गरें। तर, उनले मानिनन् –म घरको ढोकामै पुर्याएर मात्रै फर्कन्छु भनिन्।
मैले जित्न सकिनँ।
त्यो दिन छोटो चिना परिचय मात्रै भयो। मेरो नामदेखि घर परिवारको बारेमा बुझिन्। मैले पनि केही कुराहरू सोधेँ। नाम भने सोधिनँ। उनका बुढा प्रहरी अफिसर रहेछन्। श्रीमान विदेशमा रहेको कुरा गरिन्। पानी परिरहेकै थियो। त्यतिखेरै चर्को आवाजमा चट्याङ पर्यो। उनी चिच्याउँदै मेरो हात च्याप्प समातिन्। मलाई करेन्ट प्रवाह भएजस्तै भयो। छाती ढक्क फुल्यो। नशालु अनि शंकालु नजर मेरो नजरमा गाडिन अनि केही बेरमा उनले हात छोडिन्। मोबाइल झरेर सिटमुनि पुगेको रहेछ। तिमी टिपिदिन्छौं कि ? भन्ने भावले हेरिन्। मैले मोबाइल टिपेर हातमै दिन खोजें। उनले इशारा गरेपछि अगाडि राखिदिएँ।
अनि उनी जान्छु भन्दै फर्किन्। उही मुधुर आवाजमा बाई भन्दै मदहोस मुस्कान दिइन्। मैले पनि त्यसैगरी बिदाइका हातहरू हल्लाएँ। श्रीमती काममा गइसकेकी थिइन्। म केही दिन बिदामा थिएँ।
त्यसैले केही दिन बच्चा स्कुल छोड्न र लिनु जानु मेरो दैनिकीजस्तै थियो। त्यही क्रममा सोही हप्ताको शुक्रबार उनीसँग फेरि भेट भयो। उनले आफैं गाडी रोकेर हाई, नमस्ते भनिन्। मैले पनि त्यसै गरें।
म आफैंलाई अचम्म लाग्न थालेको थियो। अदितीकी मम्मीलाई भेट्दा १७ वर्षे जवानजस्तै लाग्थ्यो। उनलाई भेट्न र देख्न मन तड्पिन्थ्यो। मन शान्त पार्न म शनिबार एक्लै भए पनि हिँडेर विद्यालयको फन्को लगाएँ। उनी आउँछिन् कि भनेर उनी गएको तर म कहिल्यै नहिँड्ने बाटो पनि हिँड्न थालेको थिएँ। उनको यादमा अनिँदा रातहरू व्यथित हुन थालेपछि भने डर लाग्न थालेको थियो।
म घरमा बस्दासम्म आफैं बाबुलाई स्कुल छोड्न गएँ। त्यो पनि हिँडेर। जबकि मलाई त्यो झिंजो लाग्थ्यो। बुढीले स्कुटी लैजानु भन्दा पनि मैले मानिनँ। कारण थियो – हिँड्दै जाँदा अवश्य उनी भेटिएलिन् म स्कुटीमा हुँइकेपछि भेट कसरी होला भन्ने लाग्थ्यो। त्यही बीचमा मलाई पनि अफिसको काममा आउन भनेर फोन आयो। म वार्षिक बिदामा भए पनि एक जना साथीको बुवा बितेको हुँदा नगई नहुने भयो।
मनमा भने अदितीकी मम्मीसँग भेट्ने र अन्तरंग कुरा गर्ने चाहना धमनी र सिराहरूमा गढेको थियो। तै आफैंलाई चिमोट्थें, हैट बहुलाउँदै छस् है। आफूलाई सम्हाल नत्र मायारूपी दलदलमा कहिल्यै नउम्किने गरी जाक्किएलास्।
इज्जत, प्रतिष्ठा, घर गृहस्थी बबार्द भएका केही उदाहरणहरू सम्झिँदै आफूलाई सम्हालें। आफ्नै मनलाई थामथुम पार्ने मेसोबाहेक अरू यो केही थिएन। कारण अन्तरमनले भनिरहेको थियो–किन अदितीकी मम्मीको फोन नम्बर मागिनस् र? अब तड्पिएर के हुन्छ? यो बीचमा मैले उनीसँग विवाह गर्ने कल्पना पनि गरेको थिएँ। अनि आफूलाई मदिरा हुँदै बिस्तारै चुरोटको पनि अम्मली बनाउँदै थिए।
एक जना साथीले पीडा भुल्न ती सेवन गर्नुपर्छ भनेर गलत सल्लाह दिएपछि चाखौं न भन्दा भन्दै म अम्मली बनिसकेको पत्तै भएन।
साँझ लाग्यो कि तलतल लाग्ने, डिस्को वा रेष्टुराँ छिर्न मन लाग्ने अनि पैसा भर सबै त्यसैमा स्वाहा हुन थालेको थियो। उसले मलाई कति पटक 'भाडाका केटी'सम्म डोर्याउन खोजे पनि त्यो कुरा भने मैले इन्कार गरेको थिएँ।
घरमा पैसा पठाउनै पर्ने अवस्था नरहे पनि मैले भविष्यको लागि केही जोहो गर्नु पर्छ भन्ने चेत खुल्यो।
उनलाई नदेखेको छ महिना बितिसकेको थियो। उनी सपनामा समेत आइन्। सपना कहिल्यै विपना हुँदैन भन्ने जान्दाजान्दै आफ्नै चित्त बुझाउन मैले उठेर कोठाको बत्ती बालेको छु। उनलाई यताउता खोजेको छु। यो मेरो पागलपन हो भनेर आफैंलाई शान्त पारेँ। तर, याद फेरि ताजा भइदिए। म निदाउन सकिनँ। सामाजिक संजालहरू हेर्न थालें। त्यो बीचमा मेरो फुर्सदको समय अदितीको नाम फेसबुकभरि खोज्न मै बित्ने गरेको थियो। तर, मैले अदितीलाई फेला पार्न सकिनँ।
उनको मम्मीको नाम थाहा थिएन। तै पनि कतै अदितीको मम्मीको फोटो भेटिन्छ कि भन्ने आशाले खोजिरहन्थे। मलाई लाग्थ्यो त्यति राम्री र आधुनिक युवतीले किन सामाजिक संजाल नचलाउलिन् र? मैले महिनौं उनको खोजीमा सयौं घन्टा त्यसै खेर फालेको छु। अर्थहीन र गर्न नहुने काम कुराको खोजीमा रूमल्लिएको आभास भएपछि आफैंलाई धिक्कारेँ।
घर सम्हाल्दै आएकी सरल र सुशील श्रीमती र प्यारो छोरोप्रतिको दायित्व मनन गरें। जबकी म आफैं कुनै अफिसको लागि महत्वपूर्ण ओहोदामा थिएँ। आफ्नो कार्यालयलाई केही योगदान गर्नु, आफ्नो करियर थप राम्रो बनाउनु, केही सृजनशील र रचानात्मक कामहरू गरेर आफूलाई प्रमाणित गर्नु मेरो लागि त्यो ठूलो अवसर थियो।
कुनै दिन अदितीको मम्मीको लागि मेरो दिल दिमागमा एकतर्फी प्रेमको इन्द्रेणी थियो। टिनएजरमा जस्तै। आज धमिल हुँदै गएका थिए। त्यसैले अब म पहिले जस्तो एकतर्फी पागलप्रेमी हुने छैन र सरल र सुशील श्रीमती अनि प्यारो छोराको लागि मात्रै समर्पित हुने प्रण गरिसकेको छु।
सकेसम्म बाबु बाजेको गर्विलो छवि थप उपचाइमा पुर्याउन रातदिन मेहनत गर्नेछु। म अब परिवर्तन हुन्छु। फेरि अब हिम्मतले उठ्ने छु। इमानदारिताका साथ यही देशका खातिर केही राम्रो गरी देखाउने छु। कसैको यादहरू भुल्ने बहानामा म अबदेखि आफूलाई मध्यपान र धूमपान जस्ता कुलतमा कदापी फसाउने छैन।