फूलबती अहिले एसइई दिँदै छिन्। पढ्नमा अब्बल छिन् र पढाइसँग घरको काम खुब मन लगाएर गर्छिन्।
भोली परीक्षा हुने विषयका लागि घरको काम सकाएर पढ्दै थिइन्।
उसको घरमा नचिनेका मान्छेहरू आएछन्। बुवा र दाइले उहाँहरूलाई अतिथि झैं स्वागत गर्नुभयो।
दलानमा दुई जना अधबैंसे, एक जना बुढो र एक जना भर्खरकै युवा उमेरका बसिरहनु भएको थियो।
त्यति बेलै आमा म भाको ठाउँमा आएर भन्नुभयो, 'छोरी जाउँ रेडी भएर आऊ तिमीलाई हेर्नका लागि बेहुला तिरबाट मान्छेहरू आका छन्।'
फूलबती यो कुरा सुन्न साथ अक्क न वक्क भइन्। केहीबेर ट्वाल परेरे आमाको मुख हेरिरहिन्।
केही नबोली तयार भइन्।
'कहिलेकाहीँ मन नलागेर केही कुरा गर्नुपर्छ' जस्तो फूलबतीलाई महसुस भयो।
तयार भएर दलानमा गइन् त्यहाँ हुने सबै प्रक्रिया भयो। फूलबती नर्भस थिइन्। तर, उसले आमाले भनेको कुरा मानेरे जे जे गर्नु पर्ने गरिन्।
फूलबती बेचैन थिइन् कि 'मेरो बिहे हुन लागेको हो' सोचेर।
अतिथि गएपछि, साँझतिर फूलबतीका आमाबुवा र काका कुरा गर्दै थिए 'फूलबतीलाई पसन्द गर्यो अनि केटा पनि राम्रो छ, विदेशबाट आएको, घर परिवार पनि राम्रो छ।'
अब अगाडिको कुरा बढाउनु पर्छ भन्दै हुनुहुन्थ्यो।
भोलि परीक्षाको तयारी गर्नु थियो फूलबतीलाई। पढ्नु पर्ने थियो तर पढ्नमा ध्यान गइरहेको थिएन।
राति सुत्ने बेलामा फूलबती बुवासँग कुरा गर्न भनेर बुवा भएको ठाउँमा गइन्। आमासँग अलि डराउँथिन्।
केहीबेर नबोली चुपचाप बुवाको छेउमा बसिरहिन् अनि बुवालाई सोधिन्, 'बुवा, मेरो बिहा गर्ने बेला भयो र?'
'हो भयो', बुवाको जवाफ आयो।
'बुवा मलाई पढ्नु छ, पढेर केही बन्नु छ' भन्ने मन थियो तर आँट आएन। ऊ फर्केर सुत्न आइन्।
बिहान उठ्दा। बुवाले फूलबतीलाई बोलाउनु भयो।
फूलबती डराउँदै गइन् कि रातिको कुराले गाली त गर्ने हैन नि।
तर गाली गर्नु भएन।
'छोरी तिम्रो बिहे गर्नुपर्छ, समय खराब छ। फलानाको छोरी अर्को केटासँग भागेर बिहे गर्यो, त्यो तिम्रो साथीको कस्तो नराम्रो को को केटासँग चक्कर चलेको हल्ला चल्दैछ कि केटाहरूसँग चक्कर चल्दैछ, फलानीकी छोरीले आत्महत्या गरिन्। तिम्रो पनि त्यस्तो किसिमको हल्ला चल्न सक्छ, हामी गरिब मान्छे यसरी हल्ला चल्यो भने भोलि कसरी बाँच्नु? यदि बिहे भएन भने के गर्नु? अब बिहे गर्नुपर्छ, केटा राम्रो छ। बिहे गर्न उमेर भयो या भएन त्यसले केही फरक पर्दैन।'
फूलबती अवाक्क भइन् र जवाफमा 'हस्' भन्दै परीक्षा दिन जानका लागि तयार हुन लागिन्।
उसको केही दिनमा बिहे तय भयो।
फूलबतीले आफ्नी मिल्ने साथीसँग कुरा सेयर गरिन्। उनीहरू कुरा गर्दैगर्दा एक जना उसलाई पढाउने म्याडमले सुन्नुभयो।
अनि, म्याडमले फूलबतीलाई सम्झाउनु भयो र तिम्रो बुवाआमालाई पनि सम्झाउँछु '२० वर्षयता बिहा गर्नु हुँदैन, मानसिक तथा शारीरिक रूपमा परिपक्क भएपछि बिहे गर्नुपर्छ भनेर।'
फूलबतीलाई थाहा थियो बुवालाई भने पनि केही हुनेवाला छैन।
त्यही भयो म्याडमको कुरा कसैले सुनेनन्। म्याडमले फूलबतीलाई भन्नुभयो- तिमीले भनेको कुरै भयो, मेरो कुरा कसैले सुनेन्। परीक्षा चल्दै छ त्यसको कसैलाई वास्ता छैन तर बिहेको धेरै चिन्ता हुन्छ, हाम्रो समाजमा फलानाले के भन्छ त्यसको बहुत फिकर हुन्छ तर आफ्नाले के भन्छ त्यसको कसैलाई मतलब हुँदैन। हिम्मत नहार्नू, बिहे पनि एक न एक दिन हुनु नै हो तर समयमा हुनुपर्ने थियो। परिस्थितिलाई बुझ्नु र अगाडि बढ्नु। जसरी तिमी पढ्नमा अब्बल छौ। त्यसरी नै जीवनको गाडी चलाउनुमा अब्बल हुनु। कामनाबाहेक केही भन्न सक्दिनँ।
उहाँको मुखमा प्रष्ट देख्न सकिन्थ्यो निराशा।
फूलबतीको बिहे वैशाखमा तय भयो। बिहेको दिन जति नजिकै थियो, त्यति नै फूलबतीको चिन्ता बढ्दै थियो, खान नरूच्ने, मरूँजस्तो पनि लाग्न थाल्यो।
म्याडमको कुरा याद आयो र आफैंलाई मजबुत बनाउने कोसिस गरिन्।
अनि, आफैंमा सोच्थिन् यो समाजमा जन्मिनु मेरो गल्ती हो?
हजुरआमाले भनेको कुरा अझै याद थियो उसलाई।
फूलबती जन्मिँदा उसको आमाबुवाबाहेक कोही पनि खुसी भएको थिएन रे, हजुरबुवादेखि काकाकाकी, छरछिमेकी त्यति मात्रै हैन, छोरीलाई पढाउनु पर्छ भने आँट फूलबतीकी आमाले गरिन् उसको बुवा लगायत सबैले कुरा काटेका थिए।
'हरेक कुरा समाज, फलाना या अरूको मन अनुसार हुन्छ भने मेरो यहाँ कुनै अस्तित्व नै भएन। म बिहे गरे पनि म आफ्नो सपना सकार गर्ने कोसिस गर्छु', उनले मनमनै अठोट लिइन्।
अन्तः फूलबतीको बिहे भयो। ऊ फूलबती कुमारीबाट फूलबती देवी भइन्। थाहा छैन फूलबतीको सपना साकार भयो कि नाइँ थाहा छैन।
म झसँग भए, ह्या कस्तो सपना थियो। आँखा मिचें र पानी पिएँ। केही बेर शान्त भएर टोलाएर बसिरहेँ। फूलबतीजस्तो कसलाई नहोस् सोच्दै नित्यकर्मतिर लागेँ।