‘पोस्टर पनि थरीथरीका हुन्छन् है आमा! कुनै ठूला त कुनै साना। कुनै रंगिन, त कुनैमा रङ नै नभरिएको। यस्तो किन हुन्छ आमा? किन सबै पोस्टर रंगिन हुँदैन? किन कति धेरै कालो र सेतो हुन्छ?’ अलि पर भित्तामा टाँसिएको बेरङ पोस्टर देखाउँदै सबिता आफ्नो आमालाई प्रश्न गर्छिन्।
सबिताको उमेर धेरै भएको त थिएन, केबल १२ वर्ष तर ऊ उसको उमेरका अन्य बालबालिकाभन्दा निकै फरक थिई। उसले जीवनलाई नियालेर बुझेकी थिई।
ऊ आमासँग सबै थरीका गफ गर्थी। किन आकाशको रङ निलो हुन्छ त किन हिमाल सेतो? सबिताको हरेक प्रश्नको उत्तर आमाले दिनुहुन्थ्यो, तर सबितालाई भने कुनै चित्त नै बुझ्दैन थियो। ऊ आफैं प्रश्न गर्थी र आमाको उत्तरमा चित्त नबुझाई, आफ्नै उत्तर बनाउँथी। सबिता निकै फरक थिई।
असारे झरीपछि अलिअलि आकाशमा देखिने इन्द्रेणीको रङमा ऊ रमाउँथी अनि कागको चित्र कोरी रंगिन रङ भर्थी। अरुले सबिताको यस बानीलाई देखेर मजाक उडाउँथे, खिल्ली उडाउँथे, तर उसको लागि उसको काग रंगिन नै ठिक थियो।
तर आजको उसको प्रश्न अलि फरक थियो- पोस्टर किन कालो र सेतो हुन्छ? हुन त त्यो खासै गाह्रो प्रश्न थिएन, ठूला-ठूला ब्यानर रंगिन नै ठिक हुन्छ तर भित्तामा टाँसिने कतिपय कागजहरूमा रङ भर्न कति मान्छेहरूले रुचाउँदैनन्। सबितालाई यो सम्झाओस् कसले?
ऊ भन्थी, ‘आमा, म हरेक काला-सेता पोस्टरमा रंगिन रङ भरिदिन्छु। मलाई अँध्यारो मन पर्दैन। कालो अँध्यारोको प्रतीक हो, म अँध्यारोलाई उज्यालोमा परिणत गर्न चाहन्छु। रङले सबैलाई प्रकाशमा डोराएर लान चाहन्छु। त्यसैले मलाई यस कोठामा कैद नगर्नुस्, म रङ भर्न चाहन्छु।’
उसको यो कुरा आमाले मात्र नभएर त्यस कोठामा भएका अन्य व्यक्तिहरूले नि सुनेका थिए। सानो बच्चीले कालोलाई अँध्यारोको प्रतीक भन्ने सुनेर अरु नि दंग परे। उसको कुरालाई आमाले वास्तै गर्नुभएन। त्यसपछि आमाको मौनता बुझेर होला सबिताले फेरि प्रश्न गरिन्, उल्टै उसको नजिक भएको कापीको नयाँ पान्नामा उसले चित्र कोर्न थाली।
त्यो चित्र फरक थियो। उसले एउटा बगैंचामा खेलिरहेको एउटा सानी बच्चीको चित्र कोरी, फूलको नजिकै दुई वटा पुतली नाचिरहेका थिए, निलो खुला आकाश अनि नजिकैको रुखमा रंगिन डाँफे। उसको चित्रमा रङ नै रङ थियो, केही पनि कालो र सेतो थिएन। अनि अलि परको मन्दिरमा बलिरहेको दीप र मन्दिरको प्रवेश द्वारमा एउटा सानो लेख-
‘प्रिय भगवान, म सबिता। भन्छन् हजुरको द्वारमा आएर केही माग्यो भने त्यो पुग्छ, त्यही पूरा हुन्छ भन्ने आश राखेर हजुरमाझ आएकी छु। जीवनमा कसैलै दीपबाट बन्चित नगराउनूस्, चित्र कोर्ने कलाकारले नि रंगिन चित्र कोरोस्। रङमा नै दीप छ, ज्योति छ, खुसी छ, बेरङ दुनियाँ हैन रंगिन दुनियाको चित्र बनाउनूस् भगवान।’
यत्तिकैमा डाक्टरको प्रवेश हुन्छ। सबितातिर इसारा गर्दै अब तिम्रो पालो भनेर किमोको लागि उसलाई अर्कै कोठामा लान्छन्।
उसले आमातिर हेर्दै भनी, ‘आमा, म रंगिन सहरको सृजना गर्न चाहन्छु।’
आमालाई बाई गरेर मुस्कुराउँदै डाक्टरसँग जान्छे। सबिता क्यान्सरको बिरामी थिई र यो उसको तेस्रो किमो थियो। डाक्टरले घर-परिवारलाई केही आश नगर्नू भनेका थिए। तर आमाको मन त हो, झिनो आशाको दीप मनभित्र बलिरहेको थियो।
सबिता आउँछे कि भनेर उसको बाटो सबैले हेरिरहेका थिए। तर सबिता त्यहाँबटा कहिल्यै फर्किन।
उसको यादमा उसकी आमाले सबिताले अस्पतालको बेडमा कोरेका हरेक रंगिन चित्रलाई बटुलेर एउटा आर्ट ग्यालरी खोलिन्। ग्यालरीको नाम राखियो- रंगिन पोस्टरको सहर।