हरेक नव वर्षका शुभकामना सन्देशमा
धेरै शब्दहरू
फजुल खर्चीले बेहिसाब खर्चिंदा झैं
शब्दको बेखर्ची भएँ म।
एक अनारी व्यापारीले
आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा
हिसाबकिताब सही राख्न नसक्दा
जिलीपुँजी डुबेको जस्तो
आज मेरो शब्द भण्डार पनि डुब्न गयो।
एउटा विकासोन्मुख देश
आत्मनिर्भर हुन नसक्दा
अनियमितता रोक्न नसक्दा
उत्पादनमूलक हुन नसक्दा
मेहनती किसान र मजदुरको हितमा काम गर्न नसक्दा
टाट पल्टेको झैँ 'दिवालिया' भएको छु म।
मरिजाउँ
शुभकामना दिनका लागि
एउटा गेडो अक्षर वा शब्द छैन मसँग
यसपालि मलाई माफ गर
शब्दको जोहो गर्न सके आउने नयाँ साल
झोलाभरि सन्देश बाँडौंला।