म सानो छँदा
जब नयाँ वर्ष आउँथ्यो
पृथ्वी खुशी हुन्थ्यो, आकाश नाच्थ्यो
बिहानै हुन्थ्यो उज्यालो
छर्लंग आकाशमा रातभर टहटह लाग्थे जून
कञ्चन हुन्थ्यो हावा
जहाँ चिरबिर-चिरबिर गर्दै उड्थे चराहरू
गाउँदै वसन्तका गीत
रुखहरूमा पलाउँथे पालुवा
सफा र स्निग्ध हुन्थ्यो पानी
खोलामा
तलमाथि गरिरहेका हुन्थे असला माछाहरू
एकदिन म ठूलो भएँ
अहिले जब नयाँ वर्ष आउँछ
शोकाकुल लाग्छ पृथ्वी
विक्षिप्त लाग्छ आकाश
ग्याँस च्याम्बरजस्तो लाग्छ हावा
जहाँ एकोहोरो कोलाहल छ रोग र मृत्युको
चराहरू अझै कराउँदैछन्
तर लाग्छ ती शोकगीत गाउँदैछन्
असमयमै बितेर गइसकेका बाआमाझैं
फेरि कहिल्यै फर्केर नआउने वसन्तका जीवन्त दिनहरूको
सायद यो नयाँ वर्षमा
ती मलामी जाँदैछन् त्यो बाआमाजस्तै प्यारो वसन्तको
घाटबाट फर्केपछि
सम्झना मात्र बाँकी हुनेछ उनीहरूसित।
ती खोलामा जहाँ असला माछा खेल्थे
पानी नै भइसकेको छ एकादेशको कथा
त्यहाँ त अहिले
विकासका नाममा
डिजलको ज्यानमारा धुवाँ छाड्ने राक्षसी मेसिनहरू
वरिपरिका डाँडाहरू नै तर्सिने गरी
घिसार्छन्, लतार्छन्, ती ढुंगाहरूलाई
जसका कापमा बस्थे असला माछाहरू
ती नदीहरू
जसले मेरा कलिला सपनाहरूलाई
समुद्रको विशालतासम्म पुर्याउँथे
ती आफैं ढल बनिसकेका छन्
जहाँ प्लास्टिक र दुर्गन्धको एकछत्र राज छ
समुद्र नपुग्दै सुकिसकेका छन् ती
जसरी हठात् पटाक्षेप भएको छ
ज्युँदै रहेर मृत्यु कुर्ने मेरो सपना
सुन्दैछु, हिउँदको छ महिने यातनापछि
वसन्तको अनुमान लगाएर
फुल्ने प्रयासमा थिए एक हुल फूलहरू
ती यता तड्पिँदैछन् रे
उता छटपटी-छटपटी मर्दैछन् रे
मानिसको आमसंहारमा परेका
तिनलाई सेचन गर्ने भँवराहरू
सुन्दैछु
सन्तानको आयु काटेर आफ्नो पेट भर्दैछन् मानिसहरू
प्लास्टिकसँगै
सन्तानको भविष्य सल्काएर आज आगो तापिरहेछन् मानिसहरू
चराहरू उड्ने हावा
र असला माछा पौडने पानी मासेर
सन्तानलाई बलियो कक्रिटको घर बनाइदिँदै छन् मानिसहरू
भविष्यको सुरक्षाका नाउँमा
तिनका सन्ततिले
यो नयाँ वर्षमा पाउँदैछन् रे
धर्तीलोकका यावत् उपहारहरू
खाली एउटै मूल्यमा
जीवन दिने पानी र हावाको।