बिहान उठेदेखि आमाको त्यही गनगन सुरु भइहाल्थ्यो।
'फलानाका छोरा, सँगै पढेका साथीहरू का-का पुगिसकेँ, विदेश गएर कत्रा-कत्रा घर ठड्याइसके, तँसँगै पढेको प्रबिनेले दुबई गएर आफ्नी आमालाई शरीरभरि सुनैसुनले झपक्कै पारेको छ। तँ भने न काम सघाउँछस्। दिनभरि मलसाप्रो सुतेजस्तो सुत्या छ, अल्छीको राजा! बुवाले कमाको खाएको छ, हल्लेर हिँड्याछ। तैँले केही नगर्ने भइस्।’
जीउ तन्काउँदै थप्थेँ म- 'बिहे गर्दिनू नि त, ससुरालीले सुनै सुनले भर्दिन्छन् तपाईंलाई। कति सुन-सुन भनेर मरिहत्ते गर्या होला! कति लाउनु त्यहाँभन्दा सुन? घाँटी चुँडिएला।’
रिसाउँदै चिच्याउनुहुन्थ्यो आमा- 'रहर छ नि छोराले किन्देको सुन लगाएर छिमेकीलाई देखाएर छोराले विदेशबाट ल्याइदिएको भन्न।’
केही नबोली म कोठातिर लाग्छु।
बा-आमाको दिनैपिछेका झटारो खेप्दा-खेप्दा वाक्क भएको थिएँ। हुन पनि गाउँमा मजस्ता जवानहरू कोही छैनन्। कोही अमेरिका, कोही अष्ट्रेलिया, क्यानडा। त्यता जान नसक्नेहरू खाडीतिर। सबै धन कमाउने आशमा परदेशिएका छन्। मन त मलाई पनि नभएको होइन तर गाउँमा यसो हेर्यो बुढाबुढी मात्रै छन्। ओर्दापर्दा झट्ट केही गरिहाल्ने कोही छैनन्।
उपचार समयमा नभएको कारण कति आमाबुवाको कालै नआई मृत्यु भएको नदेखेको होइन। आफ्ना आमाबुवा अनि आफू र इष्टमित्रसँगै बसेर चाडबाड मनाउन कति रमाइलो हुन्छ। एक छाक खाने हो विदेश नगए पनि पुग्छ, सम्पत्ति जोडेर खुसी त मिल्ला एकछिन तर विदेशिएपछि फर्किन्छ भन्ने पनि के छ र? खोई त यी गाउँबाट विदेशिएकाहरू वर्षौं भैसक्यो फर्किंदैनन् त?
'म पनि उतै बसेँ, उतै बिहे गरेँ भने के गर्नु हुन्छ? भन्नु त आमा, भन्नु त बुवा?’
बुवा भन्नुहुन्छ- 'बस् न त नेपालमा के छ र? देश झन्-झन् बिग्रिँदैछ, केही गर्न सकिँदैन। भविष्य उतै राम्रो हुन्छ। हामी त कति नै बाँच्छौं र? तेरै लागि भनेको हो, अहिले पो एक्लो छस्, पछि बिहे गरेपछि छोराछोरी, श्रीमती हुन्छन्। बच्चाको भविष्यको लागि भए नि तँ विदेश जानुपर्छ।’
हुन पनि हो जस्तो लाग्छ। एक मनले साथीहरूलाई कहिलेकाहीँ सोध्छु कस्तो छ विदेश भनेर। उनीहरू सबैको प्रायः उस्तै उत्तर हुन्छ-
'किन आउँछस् यार विदेश? त्यति राम्रो छ तँलाई। आफ्नै खेतबारी, टन्न खेती गर् अनि कमाइ हुन्छ नि। तेरो घरमा केको खाँचो छ र तँ विदेश जाने कुरा गर्छस्? तेरोजस्तो भएको भए म त यहीँ रमाउथेँ, आफ्नै बारीको कमाइ खाएर आमाबासँगै बस्थेँ यार।
विदेश भनेर मरिहत्ते नगर, जानेलाई थाहा हुन्छ कति पीडा हुन्छ भनेर। अर्काको भनाइ खाइ-खाइ बस्नुपर्छ। बिरामी हुँदा तातोपानी दिने कोही हुन्न। आफ्नो परिवार, इस्टमित्र, चाडबाड सब कुरा त्याग गर्नुपर्छ। चाडबाड रोएरै जान्छ, बालापन सम्झेर आमा-बासँग यसरी मनाइन्थ्यो, उसरी मनाइन्थ्यो भनेर साथीहरूलाई सुनाउँदै। अनि थाकेका आँखा लिएर मनलाई जबरदस्ती कठोर बनाएर ड्युटी जानबाहेक अरू उपाय छैन। अब यति थाहा हुँदाहुँदै पनि तँ जान्छु भन्छस् भने भन्नु केही छैन।’
यस्तै भन्छन् उनीहरू। फेरि पल्ला घरको शिवको कथा पनि देखेको छु। अस्ट्रेलिया श्रीमतीसँग गएको हो, त्यो पनि बाआमाको करकापमा। सुरु-सुरुमा काकाकाकीलाई रमाइलो लाग्यो, छोराले टन्न पैसा कमायो भनेर। घर पनि राम्रो बनाउनुभयो, जग्गा पनि २/३ बिगा किन्नुभएको छ भन्ने सुनेको छु।
करिब ३ वर्षपछि उसको छोरो जन्मिएको खबर आयो। उसले उता बोलायो उहाँहरूलाई। त्यसपछि काकाकाकीको मनमा विभिन्न प्रश्नहरूले घेरा हाल्नथाल्यो- त्यो त बुहारी बस्ने घर, बुहारीको घर। उसको हैकम चल्ने होला। अरुबेला बोलाउँदैनन्, बच्चा हेर्न बोलाउँछन्।
'आ… म जान्नँ, तँ जाने भए जा’ भनेर काकीलाई पठाउनुभयो।
एकदिन काका हाम्रो घरमै आउनु भएको बेला उहाँलाई प्रश्न गरेँ।
'मैले नबुझेको कुरा नि, छोराले पैसा पठाएरै यति राम्रो घरमा बस्नु भएको छ। घरमा मिल्ने जति सबै सुबिधाहरू जडान गरिएका छन्। सर्वसुबिधाका साथ जीवन बिताउनु भएको छ अनि भन्नुहुन्छ तिनीहरूका छोराछोरी हेर्न यहाँबाट हामी जानु पर्ने रे! काका, दाइ-भाउजूले आफ्नो शरीरको पनि ख्याल नगरी तपाईंलाई पैसा पठाउँदा त खुसी हुनुहुन्थ्यो त?
नेपालमै भएको भए पनि त नातिनातिना तपाईंहरूले नै हेर्नुहुन्थ्यो नै हैन र? विदेशमा गएर हेर्दा चाहिँ यति टोकसो किन? अनि तेल भिसा रे? के तेल भिसा गएर एकचोटि तेल लगाइदिनु भएको पनि छ र? सुरुमा त तपाईंहरूकै करले जानु भएको। आफैले धकेल्ने विदेश जा कि जा भनेर अनि उनीहरूलाई चाहिएको बेला जान पर्दा यस्तो भन्ने? बुहारीमाथि किन यति रिस?’
काका भन्नुहुन्छ- 'हिजो भर्खर जन्मेको तँ मलाई मेरो घरको मामलामा दखेल्छस्!’
म चुप लागेँ। खै! आबेगमै धेरै बोलेछु केरे, छेउमा बसेका मेरा बाआमा पनि बोल्न सक्नु भएन। देखासिकीले निम्त्याएको परिस्थिति मेरो पनि बा-आमाको रहर पूरा गर्ने इच्छा राम्रो देश जाने हैसियत पनि थिएन।
साँच्ची भन्ने हो भने अमेरिका, अष्ट्रेलिया गई पढेर आफ्नै देश फर्किएर केही गर्ने मन नभएको भने होइन। तर त्यो पनि गर्न सक्ने अवस्था छैन। गाउँघरमा सम्पत्ति भनेकै जग्गा जमिन हो। अब अलिकति भएको जमिन बेचेर आमा-बालाई रुवाएर जाने आँट पनि गर्न सकिन्न।
अनुभव हुने, अलिकति पैसा कमाएर आफ्नै देश फर्किएर पनि केही गर्न सकिने सोचेर कतार छिरेको आज ५ वर्ष भएछ। यतै मन पराएको छु एउटीलाई तर बाआमा बुहारी मान्न तयार नै हुनुहुन्न। जीवनसाथी चुन्ने अधिकार पनि हुँदो रहेनछ।
आखिर खुसी कसरी बनाउने? कहिलेकाहीँ उहाँहरूले छोराछोरीको पनि खुसी हेर्नु पर्दैन? खालि आफ्नो मात्रै रोजाइ, आफ्नो मात्रै खुसी हेरेर हुन्छ त?
अलिअलि पैसा त कमाइयो तर घर फर्किन मन छैन। अझै केही वर्ष दुःख गर्न मन छ। फेरि उता गएपछि बाआमाले आफैले हेरेको केटीसँग बिहे गर्न कर गर्नुभयो भने त मैले माया गरेकी केटीलाई छोड्नु पर्छ। म त बडो दोधारमा परेको छु, लोभले लाभ लाभले बिलाप भने झैँ।
हरेक पटक फोनमा कुरा हुँदा आमा एउटै गनगन गरेर रुनुहुन्छ- 'यतिका वर्ष भयो भो आइज, न चाडबाड हाँसेर मनाउन पाइयो न सँगै बस्न। यो पैसा भनेको केही हैन रहेछ कान्छा। आइज तेरो न्यास्रो लागेर पीरले देख्न नपाई जान्छु जस्तो भयो। एउटी राम्री केटी खोजेर तेरो बिहे गर्न पाए मर्नुअघि नाति-नातिना खेलाउन पाइन्थ्यो कि?’
फिस्स रुन्चे हाँसो हाँसिदिन्छु। म के भनेर जवाफ दिउँ मेरी आमालाई? म के गरूँ भन्नुस् त?