पारि वनको चिहानमा
आफ्नै भाइले तर्साएर म भागेको थिएँ
औधी माया गर्थें उसलाई
ऊ मेरो मुटुजस्तै थियो
अहिले म अस्पतालमा काम गर्छु
क्यान्टिनमा खानेकुरा छन्
त्यतिबेला म भोकले भागेको थिएँ
मेरा रहरहरू कटुसजस्तै थिए
बजारभाउ सुनेपछि काँडामात्र उमार्थे
साथीभाइ र आफन्तले बोलाएर
कता जाउँ, के गरौं हुन्थ्यो
धन्सारमा भकारी छेउमा बसेर
यो मन बेसरी रुन्थ्यो
अहिले सबैथोक पुगेको छ
खास ठाउँमा खास समयमा
खास किसिमले खुसी हुनुपर्छ
सेल्फी र भिडिओ राम्रो बनाउनु छ
भ्यू बढाउनु छ
चमक बढाउनु छ
त्यतिबेला लडीबुडी खेल्न र हामफाल्न मिल्थ्यो
गरा, कान्ला र टारहरूमा
तर लुगा किन्न र धुन
पैसा नभएर रोएको थिएँ
त्यतिबेला मंगले भिरबाट
गह्रौ दाउराका भारी बोकिन्थ्यो
स्कुल जान घण्टौं हिँडिन्थ्यो
कर्करी खुट्टा दुख्थ्यो
अहिले गाडी चलाउँछु
मन दुख्छ
ढुंगा हुन्छ
गाडीले बोक्दै बोक्दैन
बाको खल्ती रित्तिएपछि
किताब बोक्न छाडेको थिएँ
क्रिशमसको लामो बिदा आउँछ
याद दसैंको आउँछ
दसैं आएको पत्तै हुँदैन
आइहाल्यो भने
बालबालिकाले हेर्ने कार्टुनजस्तो भएर
बटारिएर, चोइटिएर आउँछ
एक फेरि गाउँमा
दसैंका दिन ढोका थुनेर
बजार घुमेर रित्तै फर्केका थियौं
नभएको खर्च जोगाउनु थियो
रित्तै फर्कनै बजार गएका थियौं
त्यसो गर्नुपर्ने नै थियो
यहाँ बेग्लै थियो र पनि
पोहोर यहाँ त्यही सम्झेको थिएँ
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी
मन्त्र बुझ्ने मन मरेपछि विदेशिएको हुँ
मातृभूमिका माहुतेहरूले
मनन गरिदिए पुग्थ्यो
सालनाल गाडिएको जमिन
आफ्नो नरहेपछि
भौतारिएर आएको हुँ
त्यही भूमिमा फूल फुलाएर
माहुरीहरूले प्रजनन गरिदिए पुग्थ्यो
रहने र फर्कनेहरूलाई
मुटु झिकेर नफर्काइदिए पुग्थ्यो।