केही महिनाअघि उनी एक्कासी हराइन्
उनलाई अन्तिम रात देख्दाको दृश्य दर्दनाक थियो
उनी आत्तिँदै थिइन्
उनी निसासिँदै थिइन्
रक्तले रसाएका नयन, व्यथाले उम्लिरहेको हृदय
मानौं कि कुनै चोटले उनलाई आत्मैसम्म आघात पुर्याएको थियो।
त्यस रातपछि उनको शरीरमा वेदनाको संचार भयो कि
मस्तिष्कमा चेतनाको बोध
खै! मलाई थाहा भएन
त्यस रातपछि उनी लामो स्वप्नबाट जागिन् कि
गहिरो निद्रामा गइन्
त्यो पनि मलाई थाहा भएन
तर त्यो घटनापछि मैले उनलाई कहिले कतै देखिनँ
न त उनको तलासमा नै खटिएँ
हुन त सात वर्षसम्म हामी सँगै थियौं
त्यही पनि उनलाई गुमाउँदा कुनै अपसोस नै भएन
अपसोस पनि किन गरुँ म?
न त उनले मलाई रातमा सुत्न दिन्थिन्
न त दिनमा जाग्न दिन्थिन्
म जीवनका सरल प्रश्न सोध्थें
उनी मलाई अनुभवरुपि तिखा जवाफ दिन्थिन्
म प्रेमको बाटो हिंड्न खोज्थें
उनी मलाई वासनातिर डोर्याउँथिन
म मिठा स्मृतिमा रमाउन खोज्थेँ
उनी मलाई अतीतका तिरस्कार झल्काउँथिन्
म ‘म’ बन्न चाहन्थें
उनी मलाई समाजको अभिनय गर्न लगाउथिन्
उनी हुरी जसरी आएर बतास जसरी गइन्
तिमीलाई पनि उनीसँग भेट्न मन छ कि?
उनको ठ्याक्कै ठेगाना त मसँग पनि छैन
तर यति भन्न सक्छु कि
यौवनको मार्गमा तिम्रो र उनको भेट पक्कै हुनेछ
भनेँ नि, उनी हुरी-बतास जस्ती छिन्
तहसनहस पार्छिन्
अलि तर्किएर नै बस्नू है।