पोखराबाट फर्केको लामो समय भइसक्दा पनि उसले फोन सम्पर्क र संवाद गरेन। सम्झने कुनै प्रयत्न गरेन वा भनौं अझै उसको मनको घाउ मेटिसकेको छैन। सायद अझै ऊ विक्षिप्त छ, पराजित चोटको मानसिकता या अभिमानमा परेको चोटमा मल्हमपट्टी गर्दैछ।
यी साना मसिना कुरामा उसको ध्यान नगएको पनि हुन सक्दछ। कसले के चिजलाई महत्त्व दिइरहेको हुन्छ भन्ने कुरा व्यक्तिको नीति छनौटको विषय हो। सम्भवतः यो विषय त्यति महत्त्वमा नपरेर बिर्सिएको पनि हुनसक्दछ।
मानिसको अभिमानमा परेको चोट त साह्रै अभिसप्त पो हुन्छ। उठ्नै दिँदैन। आफूले जतनले पालेर राखेको र मेहनतले हुर्काएको अभिमानको वृक्षको कसैले हाँगा काट्ने प्रयत्न गर्यो भने त्यसको पीडा जरासम्म पुग्ने हुन्छ।
काजीको अभिमानमा चोट परेको त उसै समय जानेको थिएँ। तर यति गहिरो आघात नै पर्यो होला अनुमान गरेको थिइनँ। मानिसलाई कुनै सानै कारण पनि पर्याप्त हुन्छ सम्बन्धहरूमा दरार ल्याउन। त्यसमाथि कसैको अभिमानमा चोटै परेपछि त खाटा लाग्न पनि सक्छ, खिल पल्टेर झनै बल्झिन पनि सक्छ। अहिलेसम्म ती काजीको फोन नआउँदा मनमा अनेक आशंकाहरूका रतंगहरू तैरिएर आएका हुन्।
यति छिट्टै र एउटा सानो तर्कको आधारलाई बाजी झैँ लिएर हार र जितको सिमाना नै बनाए होलान् भनेर कसरी सोच्नु? लामो समयको सहकार्य, उठबस, मित्रता र प्रेमभाव एउटा सानो विषयको एकछिनको वादविवाद र तर्क निर्णायक कसरी बन्यो होला र? अहिले सम्झन्छु, त्यस्तो त हुनु नपर्ने हो।
फेरि सम्झेँ, विद्वताको एउटा विन्दुमा पुगेको मानिस आफूले रचेको र कोरेको सिद्धान्तको रेखामा कसैले अतिक्रमण गरेको सह्य गर्दैन। धुनी जगाएर बस्ने जोगीहरूबीचमा विवाद बढ्दै गयो भने आ-आफ्नो चिम्टा झिकेर हमला गर्न तयार हुन्छ। देखिएकै पनि छ। घर परिवार त्यागेर, भौतिक सुख त्यागेर पमात्माको भजन गर्दै सात्विक जिन्दगी बिताउनेहरू त मनोबेग थाम्न नसकेर हार र जितको कसीमा उत्रन्छन् भने हामी गृहस्थीको त के नै कुरा भयो र!
म अहिले उसको फोन कुरेर बसिरहेको छु। आफैंले फोन गरेको भए पनि हुने नि। अहँ, म त्यसो गरिरहेको छैन। अझै पनि म ऊबाट नै पहिला संवादको सुरुआत होओस् भन्ने चाहिँ रहेको छु। सायद यो पनि एउटा म भित्रको अचेत अवस्थाको प्रतिबिम्ब बोलेको होला।
उसले मिसकल नै भए पनि गरोस् र एउटा बहाना मिलेको बनाएर ऊसँग पश्चाताप गरौं भन्ने विचार मनमा छ। बिनासित्तीको कुरामा टस् गरेर मित्रतामा आँच ल्याउने धृष्टता नगरेकै भए राम्रो हुने थियो। तर जे भयो त्यो निमेषभरको अनियन्त्रित मनोबेगहरूको परिणाम थियो। मनोबेगलाई नियन्त्रण गर्न नसक्दाको परिणाम यस्तै हुन्छ सायद।
त्यो दिन हामी साथीहरू साँझ लेकसाइडमा घुमेर फर्कने विचारले त्यता गएका थियौं। साँझ पानी पर्यो। कुनै सूचना नदिई पानी पर्नु पोखराको विशेषता हो। ऊ गर्जदैन तर वर्षन्छ। साँझ छिप्पिँदै गयो। हामीहरू पनि बिजुली झोलको नशामा रमरम तातिँदै गयौं।
साँझ छिप्पिदै जाँदा लेकसाइड पहिला तातिन्छ, त्यसपछि मातिन्छ र मध्यरातमा सेलाउँछ। कुनै एउटा डान्सबारमा नाचिरहेकी नवयौवनालाई देखेर हाम्रो साथी काजीसाहेब भावनात्मक बने।
‘गरिबीको चोट सहन नसकेर बाध्य भएर यो केटी यहाँ नाच्न आएकी हो। देशको राजनीतिक र आर्थिक अव्यवस्था नै दोषी हो’ भन्ने उहाँको निचोड थियो। मेरो प्रतिवाद यसैमा हो कि ‘पेसा रोज्नु व्यक्तिको स्वतन्त्रता हो। गरिबी एउटा कारण हुन सक्दछ, तर सम्पूर्ण कारण त्यो होइन।’
बस् के चाहियो र तर्क बढ्दै गयो। थामिने विचारै गरेन। आफ्नै विचार सही हो भन्ने मानसिकता हावी भएपछि दुवै आफ्नो विचारमा टेसकोमस हुनसकेनौँ। यो विचार सम्प्रेषण गर्ने विषय पनि गज्जबको हुन्छ। कसैले सुनेर बसेसम्म बोलीमा तर्क, शब्द विन्यास, ओज, सार सबै घुलेर आउँछ।
तलबितल पर्न थालेपछि, आफ्नो विचारमा अतिक्रमण हुनथालेपछि विस्तारै शब्दहरू भारी बन्दै जान्छन्। उच्चारणको स्तर जब्बर बन्दै जान्छन्। पेलेर जाउँ भन्ने स्वभाव देखिन थाल्दछ। जब प्रतिपक्षको तर्क पनि बलियो देखिन्छ स्वरको मात्रा बढ्दै जान्छ। कानको जाली टालिँदै जान्छ।
हामीहरूको पनि त्यस्तै भएको थियौं। हामीहरू दुवैले दुवैलाई सुनेनौं। आफ्नै कुरा मात्र गरिरह्यौं। अरुलाई सुन्न नस्कनु हामीहरूको कमजोरी हो। प्रायः तथाकथित विज्ञ वा स्वनामधन्य महानुभावहरू यस्तै हुन्छन्। नभए हुने प्रयत्न गर्दछन्– अरुको नसुन्ने आफ्नो विचार थोपर्ने। झन् नेता नै भयो भने त सर्वज्ञता नै भयो– महाज्ञानी, महापण्डित, तत्त्ववेत्ता।
काजीसाहेब: यसमा मेरो ठूलो प्राज्ञिक अनुसन्धान छ।
म: यो अनुसन्धान एकांकी छ र यसका धेरै गणसूचकहरू (प्यारामिटरहरू) लाई गणनामा लिइएका छैनन्, चरहरू (भ्यारियबल्स) छुट्टाइएका छन्।
काजीसाहेब: हैन अन्तरसंवाद नै काफी छ। मनको बिरह र वेदना आँखामा देखिन्छ। त्यो नदी बनेर खस्दा पनि कसैको मन दुख्दैन भने त्यो संवेदनाहीन पुरुष हो।
म: हो, म संवेदनाहीन मानिस हुँ। विषयको गहनालाई पहिचान गर्न त्यसको सारभूत तत्त्वलाई जान्नु आवश्यक पर्दछ। तत्त्वको पहिचान आवरणमा देखिँदैन। अन्तरहृदयको आवाज भन्दैमा त्यसको परख नगरी सही भन्न मिल्दैन।
अध्येताहरूलाई कुनै एउटा विषयमा पाखुरा बटार्न पाए पुग्यो। बाटोभरि पाखुरा सुर्कँदै आयौं र सुत्यौं। भोलीपल्ट काठमाडौं फर्कनु थियो। सवारी चालक थिए काजीसाहेब आफैं। उनकै गाडी उनै चालक। बाटोमा बोल्ने फुर्सद पनि भएन।
मर्स्याङग्दीको किनार सुसायो, त्रिशुली गुनगुनायो तर हाम्रो काजी सुसाएनन्। काठमाडौंमा आएर भेट्ने र अर्को योजना बनाउने कुरा थियो। काजीको फोन आउला र योजनामा सहभागी हौँला भनेको अहिलसम्म साइत जुरेको छैन।
जतिजति मौनता बढ्दै जान्छ मनभित्रको संवेग पनि बढ्दै गइरहेछ। यो फोस्रो अहमलाई पालेर, हुर्काएर, बढाएर राखेमा यसको हाँगामा यसैको फल लाग्ने हो। ‘जे रोप्यो त्यही फल्छ’ भन्दछन् जान्नेहरू। अभिमानले आत्मसम्मान बढाउनुभन्दा पनि इन्द्रीय बिग्रह गराएर मानिसलाई निर्बल बनाउने रहेछ। एक कदम पछि हट्नु र पुनः अघि बढ्नु नै हितकर हो भन्ने लागिरहेको छ।
संवादलाई कुनै बहानामा पनि अगाडि बढाउनु छ। त्यसको पहिलो पाइला आफैंले गर्नु हितकर देख्दै छु।
प्रेमले बोलाउँदा ढुंगो पनि बोल्छ भन्दछन्। मानिस कसो नबोल्ला। संवादमा शक्ति हुन्छ र बोलेपछि मानिसको काम बन्छ। स्वाभिमान मानिसको परिचय हो। जीवनको आधार हो। तर वृथाभिमान स्वाभिमान होइन।
वृथाभिमानले पतनको डोब राख्दछ। यो त्याज्य छ। तर यसो भन्दै गर्दा त्याज्य भनिएका भिजहरू नै प्रिय बन्दछन्। क्षणिक आनन्द त्यसैमा हुन्छ। कसैको पराजयमा तृप्ति मिलेजस्तो आनन्द।