मेरो बुवाले थकाइ लाग्यो भनेको
कहिल्यै सुनेको छैन
मलाई दसैँमा नयाँ लुगा किन्दा आफूलाई किनेको
कहिल्यै देखेको छैन
मेरो स्कुल फी तिर्न साहुकहाँ गुहार्दा
उहाँले जति वचन र कष्ट
मैले भोगेको छैन।
सधैँ ढुङ्गामा बजारिरहने हात देखेँ
तर देखेजस्तो मात्र गरेँ
दश ठाउँमा टालो हालेको भोटो हेरेँ
तर हेरेजस्तो मात्र गरेँ
भारीको दाम्लोले उखेलिसकेका कपाल छोएँ
तर छोए जस्तो मात्र गरेँ।
समयसँगै
मेरो पनि अलिअलि पंख पलाएछ
पैसा हुँदा साथिभाइ सम्झिएँ
बैँस हुँदा प्रेमिका सम्झिएँ
घरमा छँदा छिमेक सम्झिएँ
देश-विदेश सम्झिएँ
तर जब गोजीको बचत सकियो, बुवालाई सम्झिएँ।
बर्खामा चुहिने घरको लागि
हिउँदमै खर काटेर राखेको आज सम्झिएँ
अर्को वर्षको स्कुल-फीको लागि
आज नै भौतारिएको सम्झिएँ
रामेको बुवाले भट्भटे किन्दा मलाई काठको घोडा
बनाएको आज सम्झिएँ
जीवनभर बजारिएका ती हात बिर्सिरहेँ
हातमा के भएको भनी सोध्दा
तिमीले खान नमिल्ने ऐँसेलु फलेको भनेको आज सम्झिएँ
जब खाडीमा मेरा हातमा ठेला परे
फेरि आज बुवालाई सम्झिएँ।