बग्न देऊ
नदी बगिरहन्छ
कतै ठोक्किएला
कतै बाटो बिर्सिएला भनेर
रोक्न खोज्यौ भने
तिमी आफैलाई सिध्याउने डर हुन्छ।
बारम्बार तिमी घमण्ड किन गर्छौ हँ?
बसिदेऊ चुपचाप पोखरी बनेर
बसिदेऊ न शीतल छहारी बनेर
अधिकार ठूलो हो या
कर्तव्य र दायित्व
गर कतिन्जेल चल्छ तिम्रो मपाइँत्व
यो बाटो हिँडेका बटुवाहरू
तिम्रो घमण्ड हेर्न उभिएका होइनन्
गन्तव्य नियाल्दै
बितेका दु:ख भुल्दै गर्नुछ
अग्ला पहाडसँग ठोकिन्छ भन्ने डरले
अग्लो पहाडको बाटो खुट्टा चिप्लिन्छ भन्ने डरले
कोही फर्किएको भए
ती डरलाग्दा भिरमा
ती सुनपदर फूल किन फुल्थे होला?
सोच्दै छु
चुनौतीका अञ्जुलीहरूमा पनि
प्रेमलाई
कसैले रोक्न नसक्दो रैछ।
भिरसँग फूलले प्रेम नगरेको भए
सुकिजान्थ्यो, ओइलाइ जान्थ्यो
प्रेम छ र त
भिर पनि सुन्दर देखिराखेको छ
फूल पनि बडो ठूलो आँगन पाएझैँ गरी
नाचिराखेको छ
भिर मौरी पनि त भिरमै बाँचिराखेको छ
त्यो शान्त बस्तीले किन खोजेको होला?
मोटर बाटो
त्यो घनघोर जंगलले किन पालिराखेको होला
जीवजन्तु?
प्रेम सीमित नहुँदो रैछ, प्रेम छ र त
आयु लामो चाहिएको छ
प्रेम छ र त
आश पाइएको छ
सोच्दैछु
केही हुँदाहुँदै पनि केही नपुग्नु
प्रेम हो या
केही भएपछि सबथोक भएझैँ हुनु प्रेम हो?