मे महिनाको अन्तिम शुक्रबार राति नौ बजेतिर एउटा एसएमएस गरेँ- ‘हेलो!’ सामाजिक सञ्जालमा जोडिएको पहिलो दिन थियो त्यो। बाह्र घण्टापछि जवाफमा आयो उही ‘हेलो!’
आफूलाई हाउसवाइफ भनेर चिनाई तर मनले पत्याएन। कसरी संसारकै विकसित देशमा भएर पनि हाउसवाइफ मात्र?
मैले सोधेँ, ‘बरु नेपाली ग्रामीण भेग फेरिएको छ, तर हजुरमा परम्परागत पारा?’
‘हो सुमन, म त्यही धरालतमा छु जहाँ एउटी श्रीमतीले आफ्नो श्रीमान् र केटाकेटीबाहेक बाहिरी संसार देखेकी छैन,’ मन पोखी उसले।
मनमा एउटा मात्र कुरा आइरह्यो, ‘यस्ता मान्छे पनि हुँदारैछन् संसरामा जो श्रीमान् र छोराछोरीको खुसीमा मात्र आफ्नो खुसी पाउँछन्।’ म भ्रममा रहेछु।
रश्मि, हो जोसँग मैले सामाजिक संजालमा ‘दुई वटा बच्चाकी आमा’ भन्ने स्पष्ट जानकारी पाउँदापाउँदै पनि कुराको सुरुआत गरेको थिएँ।
पहिलो दिनको त्यत्ति कुराले मलाई यसरी रन्थन्यायो कि हरेक दिन मनमा आइरही ऊ। विज्ञान र प्रविधि अनि सूचना र संचारले उथलपुथल पारिसकेको देशमा छ, आफ्नै हातमा सानोतिनो जागिर छ, अलिअलि पढेकी पनि छ। तर रश्मि किन कसैकी श्रीमती, आमा र बुहारी बन्नुमा आफ्नो खुसी देख्छे?
उसलाई प्रत्यक्ष देखेको छैन, चिनेको त झन् हुँदै होइन तर सामाजिक संजालमा उसैले पोस्ट गरेका तस्वीरहरू एकनासले प्रत्येक दिनजसो हेर्न थालेछु। मनले भन्नथाल्यो– ‘आखिर राम्री पनि त उस्तै रै’छ।’
रश्मि मेरो मनको परिधिमा यसरी घुम्न थाली कि ऊ को हो? कसकी श्रीमती र कसकी आमा हो भन्ने नै बिर्सें मैले। ऊ एउटा व्यक्ति भन्ने मात्र बुझ्न थालेँ।
कुरा गर्ने भनेको च्याटमा थियो तर ऊ धेरै कुरा नै गर्दिेन थिई। सधैं समय नभएको कुरा सुनाउँथी। उसको बिदाको दिन पारेर धेरै अनुरोध गरेपछि आफ्नो दैनिकी सुनाउन राजी भई।
‘सुमन, बिहान छ बजे उठेर सबैलाई ब्रेकफास्ट तयार पारी टेबलमा दिन्छु र केटाकेटीको स्कुलका लागि लञ्च बनाएर प्याक गरिदिन्छु। अनि म आफ्नो अफिसको काम सुरु गर्छु। त्यति बेलासम्म सबैजना उठी पनि सक्छन्। मेरो काम रिमोट हो, कतै जानु पर्दैन। एक घण्टाको लञ्च ब्रेकमा म उहाँलाई मनपर्ने खानेकुरा बनाइदिएर टेबलमा राखिदिँदा खुसी भएर खानुहुन्छ।
दिनभरि काममा व्यस्त हुन्छु। बेलुका केटाकेटी आएपछि उनीहरूलाई खाजा दिएर होमवर्कमा सहयोग गर्दागर्दै मेरो भान्साको काम सुरु गर्नुपर्ने समय भइसक्छ। बेलुका आठ/नौ बजेसम्म केटाकेटीलाई बेडमा राखेपछिको समय मेरो हो, सुमन। आफ्नो समयमा कलेजका लागि पढ्छु। कहिले होमवर्क सकिँदा नै अर्को दिनको एक–दुई बजिसक्छ। दुई–चार घण्टा सुतेर म फेरि अर्को दिनको त्यही दैनिकी दोहोर्याउँछु।’
उसले लेखेको यो लामो च्याट पढ्दापढ्दै मेरो मन झन् भारी भयो। आखिर ऊ पनि मान्छे नै हो, कति धेरै काम। उसको श्रीमानको भान्साको जिम्मेवारी के त? उसको पढ्ने समय खै? हुन त आफ्नो घरको आफ्नै तरिका होला। मैले यहाँ श्रीमतीलाई केयर गरे जस्तो रश्मिको नहुन पनि त सक्छ।
उसका हरेक कुराहरू अब मलाई कुनै सिरियलका कहानी जस्ता लाग्न थाले। भोलिको एपिसोडमा कुन कथा आउँछ भनेर कौतूहलता जगाउने खाले। मलाई उसको कुरा गर्ने निर्दोषपनको तरिकाले एकदमै छोयो। गाउँकै धुलोमा रमेकी जस्ती, सफा मनकी, अर्कै खाले।
उसका हरेक कुराहरू फरक लाग्न थाले। ऊ फरक राम्री लाग्न थाल्यो। म प्रत्येक दिन रश्मिलाई एसएमएस पठाउथेँ, आदरले हजुर सम्बोधन गर्थें। प्रत्येक पाँच-पाँच मिनेटमा अनलाइनमा छ कि भनेर चेक गर्ने आदतमा पुगेँ।
अहँ! ऊ २४ घण्टासम्म अफलाइन भएको देखिन्थ्यो। अर्को दिन हेर्दा दुई दिन अफलाइन भइसकेको हुन्थ्यो। कहिले त हप्तादिनमा झुल्किन्थी। ऊ अनलाइनमा आएको दिन मलाई अर्कै मज्जा लाग्न थाल्यो। एकदमै सभ्य भाषा र आदरआर्थी शब्द प्रयोग गरेर कुरा गर्थी।
‘कति अनलाइन कुरेँ, आउनुभएन त?’ हप्ता दिनपछि आफ्नै बिदाको दिन पारेर बिहान नौ बजे अनलाइन देखिनासाथै मैले निरास इमोजिसहित एसएमएस पठाएँ।
‘मलाई कामले हरायो नि सुमन। अहिले पनि बुवाआमाको फोन आएको रहेछ, फर्काउन आएकी।’
‘सकेपछि एकछिन मसँग आउनू न प्लिज,’ अलि कर गरेँ मैले।
बीस मिनेटपछि आई। छिटोछिटो सोधेँ, ‘हजुरले बिहानदेखि नसुतुन्जेल त्यसरी काम गर्नुहुन्छ, थकाइ लाग्दैन, श्रीमानसँग सहयोग माग्नुहुन्न?’
‘सुमन, म श्रीमती हुँ कसैकी, मैले उहाँलाई खुसी बनाउनुपर्छ। मैले यसरी घर धानिदिँदा उहाँले आफ्नो काम पनि त राम्रो गर्नुभएको छ। उहाँ खुसी हुदाँ मलाई खुसी मिल्छ। थकाइ त २–४ घण्टा सुतेर नि मेट्न सकिन्छ तर खुसी?’
‘किन खुसी बनाउनतिर लाग्नुहुन्छ सधैं?’ अलि कडा सोधेँ। लाग्यो अब रश्मि रिसाउनेछे, च्याटबाट बाहिरिने छे।
तर ऊ टाइप गर्दै गई- ‘सुमन, पिँजडाको सुगालाई बाहिरी संसार देख्दा जति खसी मिल्छ नि मलाई पनि त्यस्तै हो। फेरि उहाँको काम मेरोभन्दा गाह्रो छ त, पढाइ मेरोभन्दा अप्ठयारो।’
‘कसरी थाहा भयो?’
‘उहाँ आफै भन्नुहुन्छ त।’
मन ठूलो ढुंगाले थिचे जस्तो भारी भयो। भनेकी थिई, नेपालमा सानै उमेरदेखि केही गरेकी हुँ तर यहाँ घरबाट बाहिर निस्किन पाइँदैन। यसरी किन भासिई? नितान्त उसको झन् माया लाग्न थाल्यो। एकदमै फरक लाग्न थाली।
मनले भन्न थाल्यो- ‘रश्मि, म विवाहित हुँ, कसैको श्रीमान अनि केटाकेटीको बाबा पनि हुँ। म कम्पनीमा दजर्नौं व्यक्तिहरूसँग प्रत्यक्ष बसेर तालिम दिन्छु। उनीहरूको जीवन सहज बितोस् भनेर आफूले सिकेका र जानेका कुरा सिकाउँछु। तर तिमी जस्तो मान्छे पहिले कहिल्यै भेटेको थिइनँ।’
नजानिँदो हिसाबले ऊप्रति आकर्षित भएँ म। शरीर हेरेर होइन किनकि भेटेको त छैन तर उसले बोल्ने तरिका र गर्ने व्यवहार अनि उसले बाँचिरहेको जीवनले मलाई ऊप्रति माया जगायो। एकदिन सुनाएकी थिई, ‘मलाई घरबाट बाहिर निस्किन पाएको दिन सबैभन्दा मज्जा लाग्छ।’
झन् माया लाग्यो, बाहिर निकाल्न मन लाग्यो, चरी जस्तै भुर्र उडेको देख्ने चाह भयो।
नेपाली नयाँ वर्षको पहिलो दिन शुभकामना दिँदै एउटा चाहना व्यक्त गरेँ, ‘हजुरलाई तिमी भनेर सम्बोधन गर्दा कस्तो लाग्छ?’
‘मन छ भने भन्नुस्, नराम्रो लाग्दैन।’
हजुरबाट तिमी भन्न थालेँ तर ऊ त्यहीँको त्यहीँ थिई- हजुरको हजुर।
कुरा सुरु गरेको एक/दुई दिनदेखि नै माया गर्ने खालकी लागेको थियो तर अब नगरिरहन नै नसक्ने भएँ, एकोहोरो भएँ म। म पागल भएँ वा अरु केही थाहा भएन।
एकदिन ठूलो आँटले लेखेँ, ‘तिमीलाई प्रत्यक्ष भेट्न चाहन्छु, समय देऊ न प्लिज।’
ऊ एकदमै डराई र भनी ‘हेर्नुस् सुमन, अहिलेसम्म एक्लै निस्किएकी त छैन अझ नचिनेको मान्छेसँग कसरी सहज हुन्छ होला? अप्ठ्यारोमा नपार्नूस् न प्लिज।’
उसलाई कुनै अप्ठ्यारोमा नपार्ने बरु सकेको सहयोग गर्ने वाचासहित उसको अर्को हप्ताको बिदाको दिन एक घण्टा समय पाएँ। महाभारत युद्ध जिते जस्तै भयो मलाई।
जुन महिनाको अन्तिम मंगलबार हाम्रो पहिलो प्रत्यक्ष भेट हुने दिन थियो। एकदमै उत्साहित भएर म गाडी लिएर प्रतिघण्टा ७० माइलको स्पीडमा हावाको बेग जसरी दौडिएँ, कतिखेर उसलाई भेटौँ मात्र भयो। बाटो कटेको पत्तै पाइनछु।
उसको घर नजिकैको चर्चमा गाडी रोकेँ, त्यहाँसम्म ऊ घरबाट हिँडेर आई। एक्कासी अंकमाल गर्न पुगिछु, ऊ अलि लजाइ तर डर र खुसीको समिश्रण भाव उसको अनुहारमा पढ्न सकिन्थ्यो। गाडीको दाहिने ढोका खोलेर अगाडि सिटमा राखेँ अनि आफू देब्रे ढोकाबाट छिरेर स्टेरिङ समात्दै सोधेँ, ‘कता जाने त रश्मि?’
नङ कोट्याउँदै भनी- ‘जता लानुहुन्छ।’
गुगल म्याप खोलेँ। समुद्रको किनार नै छिटो पुगिने ठाउँ देखियो। बीस मिनेटको बाटोमा उसले मलाई जम्मा दुई पटक मात्र हेरी, त्यो पनि मैले अगाडि ट्राफिक हेरिरहेको बेला नत्र आँखा झ्यालबाहिर राखी।
खुला ठाउँ, छेउमा ठूलो एटलान्टिक समुद्रको सानो छाल, छेउमा खैरो पालिस पोतेको बेन्च। कलरफूल ड्रेस, रातो स्यान्डिल अनि रातै स्विटर लाएकी ऊ त्यही बेन्चमा थपक्क बसी। एकदमै लजालु देखिई, नवदुलही जस्ती।
म भने उभिएरै उसैलाई एकोहोरो हेर्न थालेँ। फोटोमा भन्दा कस्ती राम्री रश्मि! त्यो छेउको समुद्रको छालभन्दा पनि उज्याली देखिएकी थिई। बच्चाकी आमा भन्ने नै बिर्सिएँ मैले, त्यस्ती पनि लाग्दैन थिई।
सन्चो बिसन्चो र केटाकेटीका कुराबाहेक केही भएन। एक घण्टा पनि एक मिनेट जस्तो लाग्यो मलाई। मनले उसलाई आफूसँगै लिएर जान भन्न थाल्यो। तर उसले दिएको समय सकिनासाथ गााडीमै फर्काएँ।
गाडीको अर्को सिटमा बसेकी उसका कोमल हातहरू एक्कासी छुन पुगेछु। उसका कोमल हातहरूबाट आएका पसिना मेरा हल्केलामा साटिए। ठूलो साहसले दुई हातले उसको निहुँरिएको शिर छोएँ र निधारमा चुम्दै भनेँ, ‘मेरो सबै माया सधैं डिजर्भ गर्छेऊ, रश्मि।’
मायाले पुलुक्क मेरा आँखामा आँखा जुधाई मात्र। लत्रिएको कपालमा गाजलु आँखाको हेराइ एकदमै नसालु थियो।
म उही बाटो फर्किएँ जुन बाटो उसलाई भेट्न एक घण्टाअघि हानिएको थिएँ। बाटोभरि ऊ मात्र आइरही। उसले खाइनसकेको जुठो कोक आफैले सकेको पत्तै पाइनँ। उसको अनुहार मात्र जताजतै, म मायाको संसारमा पुगेछु क्यार। ऊ मेरी मात्र लाग्न लाथ्यो।
मैले जिन्दगीमा अभाव गरिरहेको चीज ऊ नै हो जस्तो भयो। ऊ कस्ती भने निःस्वार्थ माया गर्ने खालकी, कति प्यारी, कति राम्री। उसलाई पाउने मान्छे कति भाग्यमानी। तर उसलाई सकारात्मक प्रोत्साहनको भने ठूलो कमी थियो। तर यी सबै भावना मनभित्र राखेँ। म विवाहित पुरुष भन्ने मात्र थाहा पाएर त्यसमै विश्वास गरेकी रश्मिलाई मेरो भावनाको एक छेउ पनि थाहा दिइनँ।
सधैं च्याटको सुरुआत मैले गरेँ तर रश्मिले जुलाईको पहिलो हप्ता पहिलो पटक आफैले एउटा एसएमएस पठाई, ‘सुमन, मलाई हजुरको सहयोग चाहिएको छ, ग्र्याजुएट कोर्स गर्न चाहन्छु।’
म खुसीले गद्गद् भएँ। मलाई विश्वास गर्न थाली भन्ने भयो किनकि कुरा सुरु गरेको दिनदेखि उसको मन कसरी जित्ने भन्नेमा संघर्षरत थिएँ म। भनेँ, ‘पीर नगर, म सबै हेर्दिन्छु।’
उसको काम मेरो हुन थाल्यो अब। आफ्ना कलेजका असाइनमेन्टहरूमा मेरो प्रत्यक्ष सहयोग खोजी। उसको कलेज खोज्नेदेखि लिएर कोर्सको क्यानभास, इमेल र असाइनमेन्टहरू मबाट अपडेट हुन थाले। यी क्रियाकलापले मलाई झन् ऊसँग एकतर्फी अट्याच महसुस गराए।
उसले दुई वर्षमा मास्टर डिग्री सकी पनि, सबैभन्दा खुसी म भएँ। मैले रश्मिका लागि जति गरे नि त्यो आफ्नो सुखीका लागि गरेँ। जे गरे नि त्यो गर्दा सधैं मज्जा लागेर नै गरेँ। जे गरे मेरो मनको आनन्दका लागि गरेँ किनकि ऊ निसर्त माया गर्ने खालकी थिई, अर्कै प्यारी थिई।
मास्टर्स डिग्री सकेसँगै चलेको कम्पनीमा पढाइअनुसारको काम सुरु गरेको खबर मलाई उसैले एसएमएसमार्फत दिई। नयाँ काम सुरु गरेको पहिलो हप्ता उसलाई बधाई दिन शुभकामनासहितको कार्ड र रंगिन ड्रेस उपहार बोकेर उसकै अफिसमा पुगेँ।
यो मेरो ऊसँगको दोस्रो प्रत्यक्ष भेट थियो। ऊ मलाई त्यसरी आएको देख्दा एकदमै चकित परी। आफ्नो कुर्सीबाट जुरुक्क उठी र एक्कासी मेरो छातीमा टाँसिएर रोई र पोखिई- ‘सुरज, म हजुरको मायामा परेँ। एउटा छुट्टै संसारमा थिएँ, आज मायाको अर्कै संसारमा पुर्याउनुभयो। सधैंभरि माया गरिरहन मिल्दैन किन?’
म केही बोल्न नै नसक्ने भएँ। जे खोजेको थिएँ त्यही पाएको जस्तो मात्र भयो। उसको कोमल स्पर्शमा डुबेँ। यसरी नै छातीमा टाँसिरहन मन भयो। कसिलो गरी छातीमा टाँसिएकी उसलाई विस्तारै उठाएर निधारमा चुमेँ र भनेँ- ‘तिमी मेरी माया हौ, तिम्रो प्रगतिमा म आज एकदमै खुसी छु।’
क्रमशः