खै कहिले आउँछौ तिमी थाहा छैन
प्रतीक्षाका घडीहरू यसरी कुरिरहेछन्
त्यो रफ्तारलाई केही गरी रोक्नै सकिएन
ती उज्याला बाटाहरू अनकन्टारमा परिणत भए
बिहानीको घामको रोशनीसँगै उदाएका आशाका किरणहरू
बेलुकीको त्यही घामको डुबानसँगै धुमिल बन्दै गए
र पनि तिम्रा आगमनको पाइलाहरू भेट्नै सकिनँ
तर तिमीलाई थाहा छ?
घामको डुबानसँगै धुमिल बन्दै गएका ती रोशनीलाई
दियोको प्यालाहरूले फेरि चमक दिँदैछु
तिम्रै आगमनलाई पर्खँदैछु
छोराछोरीका प्रश्नहरूलाई सम्बोधन गर्दैछु
गाउँखाने कथाहरू सुनाएर
बिछोडका तमाम पीडाहरू अनि
निराशाका कैँयन गाथाहरू फुकाएर
तर खोइ तिम्रो आगमनले कुनै संकेत नै दिएन
छोराको थोते दाँतहरू भरिला भए
तोते बोली प्रस्ट भए
छोरीको कपालका लरियाहरूले फिँजारिएर
शरीर ढाक्ने भए
मेरा नयनका ती चमकहरू अनायासै हराउँदै गए
बाबाआमाका केशका रौँहरू पाकेर सेताम्मे भए
आँखाका नानीमा धब्बा बसे
अनि कम्मरका हड्डी खिइएर लौरीको सहारा लिनुपर्ने भैसके
तर खै!
मनमा अनेकौँ प्रश्नका ठेलीहरू बर्सिँदैछन्
उहीँ पुराना यादका झंकारहरू सलबलाउँदै छन्
खै तिमीले कुनै इसारा नै दिएनौ, कुनै सम्बोधन नै गरेनौ
यावत भावको पुलिन्दाहरूलाई
तर तिमीलाई के थाहा?
ती बालेका दियोका
प्यालाहरू कहिलै निभ्न दिएको छैन
तिमी आउने बाटो अन्धकारले नरोकियोस् भन्नको खातिर
तर तिमी कहिल्यै आएनौ
पोहोर पनि तिमी आएनौ
पोहोर आँगनीको छेउमा फलेका काक्रा,
घिरौला, सिमी, भिन्डी देख्दा आफै आएर
टिप्ने वाचा गरेको थियौ
ढकमक्क सयपत्री फूल देख्दा
ती फूलहरूले सजाएर सम्पूर्ण वातावरण
सुगन्धित पार्छु भनेका थियौ
खै ती घिरौला, काक्रा, सिमी अनि भिन्डी बोटमै क्षिप्पिए
सयपत्री त्यसै ओइलाएर गए
तर तिमी आएनौ
आज फेरि आँगनीका डिलमा तिनै फल लटरम्म फल्दैछन्
तर स्वाद लिन सकेको छैन
सयपत्रीको सुन्दरताले वातावरण सुगन्धित बन्दैछन्
तर सुवासिनता आभास गर्न सकेको छैन
मात्र तिम्रो आगमनको कल्पनामा टोलाउँदै
दियोका प्यालाहरू जलाउँदै पर्खिरहेछु
बिन्ती मेरो मान्छे तिमी फर्की आऊ
मेरो यो बढ्दो उमेर
मेरो यो चड्दो जवानी
फेरि फर्की आउने छैन तिम्रो लागि
आज देखिएकी म भोलि नहुन सक्छु
आज सजिएकी म भोलि नसजिन सक्छु
मेरा मृग नयनी हेराइ भोलि नदिन सक्छु
मेरा पुस्ट गालाहरू सुक्न सक्छन्
जवानीले ठडिएको शिर झुक्न सक्छन्
हो प्रिय, समयले सबै बदलिदिन सक्छ
आऊ छिट्टै फर्की आऊ
मेरो मुहार टल्काऊ
मेरो सिउँदो सजाऊ
मेरो जवानीको जिम्मा लिग अब
अब त म हिउँजस्तै पग्लिन थालिसकेँ
जमाउने कोसिस गर अनि रमाउने कोसिस गर
ऐनाको अघि उभिन्छु फिक्का लाग्छ
शृंगारिने कोसिस गर्छु दिक्क लाग्छ
यस्तो लाग्छ ती गाजल, टीका र
सिन्दुरले मलाई जिस्काइरहेछ
कपालका केसहरूले लल्कारिरहेछ
तिमीले भन्ने गरेको नशालु नयनले
सुख्खापनमै पनि लाजको घुम्टो ओढाइरहेछ
साँच्चै मेरो मान्छे, मेरा शरीरका
अङ्ग-अङ्गले मलाई धिक्कारिरहेछ
तिम्रो अभावले मलाई बिगारिरहेछ
सहेलीहरू रमेको देख्दा उराठ लाग्न थाल्यो
उनीहरू हाँसेको सुन्दा आफैलाई खिस्याएझैँ लाग्न थाल्यो
उनीहरू चरीजस्तै उडेको देख्दा आफू पखेटा काटिएको पंक्षी जस्तो लाग्न थाल्यो
आकाशका घाम, जून र ताराका चमकहरू
निभेको दियो जस्तै लाग्न थाल्यो
कहीँकतै आँखा फरफराउँदा पनि धड्कनले
तीव्र चाल दिन थाल्यो तर
तिम्रो स्पर्श सधैँ दूर किन मबाट?
अब त पर्खाइले सीमा पार गरे जस्तो लाग्छ
सपनाहरू लथालिङ्ग झरे जस्तै लाग्छ
आऊ मेरो मान्छे, छिट्टै फर्की आऊ
सम्हाल मेरा जवानी अनि
संगाल मेरा सपनाका प्रत्येक कण-कणलाई
म तिम्रो समीपमा रम्न चाहन्छु
तिम्रो बाहुमा खेल्न चाहन्छु
प्रेमका यावत पक्षमा घुलित हुन चाहन्छु
प्रेमको डुबानमा स्वर्गको आभास गर्न चाहन्छु
त्यस्तो डुबान
जहाँ खुसी र प्रेमको सीमा त्योभन्दा माथि हुनै नसकोस्
त्योभन्दा फरक बन्नै नसकोस् अनि
प्रेमका अंकुरणहरूको सजावट त्योभन्दा सुन्दर बन्नै नसकोस
मात्र प्रेम र प्रेरणाको अद्भुत स्रोत बनेर
तिमी छिट्टै फर्की आऊ मेरो मान्छे।