केही महिनाअघि विशेष कामले पुतलीसडक पुगेर फर्किँदै थियौँ, साथी र म। रातले दिनलाई धकेल्दै थियो। आकाशमा फाट्टफुट्ट तारा देखिन थालिसकेका थिए।
पुतलीसडकबाट सहिदगेट तिर आउने बाटोमा भर्खरै इन्स्टिच्युटमा साँझको क्लास सकेर फर्किने विद्यार्थीको भिड बाक्लो थियो। हामी पनि त्यहीँ भिडमा हतार-हतार अगाडि बढ्दै थियौँ। यसै त हामी दुईको हिँडाइ नै अलिक चर्को।
हामी प्रायःजसो उताबाट फर्किँदा सहिदगेटबाट नै गाडी चढ्ने गर्छौं। सहिदगेट आइपुग्नै लाग्दा हाम्रो अगाडि पाँच जना हाम्रै उमेरका केटा साथीहरू हिँड्दै हुनुहुन्थ्यो, बाटो नै छेकिने गरी।
मेरो फेरि अलिक छुच्चो अनि विद्रोही स्वभाव, फ्याट्ट मुख खोलिहालेँ- एसक्युज मि! बाटो छोडौ न।
उहाँहरू सानो-सानो आवाजमा चिच्याउँदै साइड लाग्नुभयो र हामी बीचबाट अगाडि छिर्यौं। उहाँहरू पनि हाम्रो पछाडि-पछाडि पाइला लम्काउन थाल्नुभयो।
हाम्रो बसाइँ कीर्तिपुरको पाँगा बसपार्क नजिकै थियो। सहिदगेट पुगेपछि पाँगा जाने बस कुर्दा अलिक ढिला हुन्छ कि जस्तो लागेर हाइस चढ्यौं। कन्डक्टरले यात्रु बोलाइरहेका थिए- कीर्तिपुर! कीर्तिपुर!
एकैछिनमा उहाँहरू पनि हामी चढेकै हाइसमा उक्लिनुभयो। यात्रु पेलापेल भएकोले गाडी गुडिहाल्यो। हामी ओल्लोपल्लो सिटमा थियौँ, विस्तारै बोलचाल सुरु हुन थाल्यो।
संयोग पनि कस्तो, हामी सबैजना लोक सेवाकै विद्यार्थी रहेछौँ।
लोक सेवा पढ्ने भनेपछि कता-कता अपत्यारिलो तरिकाले मनमा प्रेमका बिजहरू रोपिन थालिहाल्छन्। अब त हाम्रा कथा, व्यथा अनि गन्तव्य एउटै- टार्गेट निजामती सेवा।
अब हामीलाई नजिकिन समय लाग्ने त कुरा नै भएन। त्यसपछि केही पढाइका कुरा गर्दै थियौँ। कति छिट्टै गाडी पाँगा दोबाटो आएर रोकियो पत्तै भएन।
सबैजना गाडीबाट झर्यौं। त्यसबीच हाम्रो सामान्य चिनजान र एउटै फिल्डको भएकोले सहजताका लागि एकजना साथीको कन्ट्याक नम्बर पनि लिइसकेका थियौँ। हामी त्यहाँबाट अलिक अगाडि पुगेपछि सबैजना आ-आफ्नो डेरातर्फ लाग्यौँ।
मेरो मर्निङ ड्युटी। बिहानै ६ बजे अफिस पुग्ने बित्तिकै अघिल्लो दिन लिएको भाइबर नम्बरमा म्यासेज छाडेँ। त्यसको केही बेरमा उताबाट रिप्लाई आयो। उहाँले भाइबर त्यति नचलाउने हुँदा सम्पर्कको माध्यम फेसबुक बनायौँ हामीले।
त्यस दिन साँझ म साथीको कोठामा भएकोले अलिक फ्री नै थिएँ। भर्खर-भर्खर जोडिएका नयाँ साथी हामी त्यो दिन केहीबेर च्याट गर्यौं। च्याटमा पारिवारिक कुरा हुन थाल्यो।
घरमा को-को हुनुहुन्छ ?
मैले आफ्नो भनेँ। उहाँको जवाफमा आयो- बाबा, दाइ, दिदी, बहिनी अनि म।
म्यासेज दोहोर्याएर हेरेँ तर त्यहाँ आमा शब्द थिएन। मन अमिलो भयो। झ्याप्प रिप्लाई दिन सकिनँ, न त केही सोध्न नै सकेँ।
रात छिप्पिसकेको थियो, लगभग एघार बजिसकेको थियो होला। उहाँको प्रोफाइलमा आमाको तस्बिर थियो त्यतिबेला। प्रोफाइल खोलेँ, त्यहाँ एउटा भावुक स्टाटससँगै आमाको तस्बिर पोस्टाउनुभएको थियो उहाँले।
त्यो पढ्दापढ्दै मेरा आँखाबाट आँसु वर्षिन थाले, मुटु भक्कानियो। सायद त्यो बेला आफ्नो रुममा हुन्थेँ भने भक्कानो छोडेर रुन्थेँ होला। तर त्यहाँ वर्षिरहेका आँसुलाई बिना आवाज पुछ्नु बाहेक कुनै विकल्प थिएन ममा।
दश वर्षको कलिलै उमेरमै आफूलाई जन्मदिने आमा गुमाउनुपर्दा, घरको खम्बा ढल्दा कति पीडा हुन्छ त्यो त मैले कल्पनासम्म पनि गर्न सक्दिनँ। न त त्यसलाई म शब्दमा परिणत नै गर्नसक्छु।
त्यतिबेला मेरो मस्तिष्कले केही सोच्न सकिरहेको थिएन। केवल मेरो मानसपटलमा उहाँको बाहिरी हँसिलो चेहरा, भित्रको असह्य पीडा मात्र घुमिरहेको थियो। मन कति तड्पिन्छ होला, आँसुका भेलहरूले बाटो कति छेक्छन् होला! मातृत्वको अभावमा कति पिल्सिनुहुन्छ होला!
त्यसपछिका दिनहरूमा उहाँसँग जिस्केर कुरा गर्न कहिल्यै मन लागेन मलाई। अरु उहाँको हाँसो र जीवनशैलीमा नजर लगाउँछन् होला तर मेरो मनले उहाँको त्यो अन्तरमनको पीडालाई मात्र याद गरिरहन्छ घरीघरी।
उहाँलाई सम्झिदा मात्रै पनि गहभरि आँसु भरिन थाल्छ मेरो। उमेर छँदै आफ्नी प्राणप्रिय जीवनसाथी गुमाउनु भएका बाबाको तस्बिर हेरेर त म कैयौँ पटक निस्सासिएकी छु, कैयौँ पटक रोएकी छु।
निकै सरल, मिजासिलो, समाजसेवी, सहयोगी, अरुभन्दा विशेष क्षमता, मिठो आवाज, बोल्ने शैली, मन्ध मुस्कान, परिश्रमी, बहुमुखी प्रतिभा अहँ! उहाँको म जति तारिफ गरे पनि सक्दिँन। शब्दहरूले वर्णन गरिसाध्ये नै छैन।
त्यसपछि लगभग दुई/तीन दिनमा कुरा हुन थाल्यो हाम्रो। अब म उहाँको सुखको भन्दा पनि दु:खको साथी बन्न चाहन्थेँ। कहिलेकाहीँ आफूलाई गाह्रो पर्दा, पीडामा हुँदा उहाँले सजिलै मसँग सेयर गर्न सक्ने वातावरण सिर्जना गर्न चाहन्थेँ।
उहाँको बाँचुन्जेल नमेटिने त्यो मुटुमा बनेको घाउलाई केही हदसम्म भए पनि कम गर्ने मलम बन्न चाहन्थेँ म। एउटा असल साथी बनेर यी भूमिकाहरू निर्वाह गर्न चाहन्थेँ।
एकदिन अबेरसम्म च्याट गर्दै थियौँ। म बिहानै उठ्नुपर्ने भएकोले अब सुत्ने कि भनेर म्यासेज गरेँ। उताबाट रिप्लाई आयो- नसुत्ने, भोलि मेरो बर्थडे हो, सुत्नुहुन्न रे।
त्यसपछि मलाई पनि सुत्न मन लागेन। बाह्र बजेसम्म बसेर पहिलो बर्थडे वीश गरेँ उहाँलाई म्यासेज बक्समा। सायद आमा साथमै हुनुहुन्थ्यो भने कति खुसी हुनुहुन्थ्यो होला उहाँ।
यस्तै सोच्दासोच्दै छटपटी हुन थाल्यो। मलाई निद्रा पटक्कै लागेन। थाहा छ मैले उहाँको विगत फिर्ता लिन सक्दिनँ। पल्टिरहेको बिस्तराबाट जुरुक्क उठेँ र भगवानसँग प्रार्थना गरेँ- उहाँको लागि जीवनमा आमाले जत्तिकै माया र केयर गर्ने साथी मिलोस्।
उहाँ आफ्नो गन्तव्यमा मज्जाले पुग्नुहुन्छ, हरेक ठाउँमा सफलता हासिल गर्नुहुन्छ। यसमा त कुनै शंका नै छैन। बस् यदि भगवानसँग मागेर केही कुरा मिल्छ भने मैले उहाँलाई प्राण दिने आमाले जत्तिकै माया र स्याहार गर्ने साथी माग्छु।
जसले उहाँको मुस्कान पछाडिको पीडालाई बुझ्न सकोस्। उहाँका ती मुटुमा गडेका घाउहरूमा थोरै भए पनि मलम लगाउन सकोस्। भावना र मर्म बुझोस्। सदैव उहाँ अनि उहाँको परिवारको सम्मान गर्न सकोस्। र, जीवनको अन्तिम क्षणसम्म उहाँको हातमा हात मिलाउन सकोस्।