शुक्रबारको दिन, अपरान्हको ३ बज्न लागिरहेको थियो। टोल सुधार समितिको सूचना बमोजिम सबै टोलबासीहरू टोलमै रहेको सामुदायिक भवनमा भेला हुन थालिसकेका थिए।
टोलमा क–कसले के-के योगदान गरेको छ, त्यसको टोलबासीहरूले मूल्याङ्कन गरी सम्मान कार्यक्रम राखेका थिए। टोल सुधार समितिका अध्यक्षले कार्यक्रमको खाका तयार गरिसकेका थिए।
कार्यक्रमको तयारी गर्दागर्दै ४ बज्न लागिसकेको थियो। वडाध्यक्षको आगमन भएलगत्तै कार्यक्रम संचालकको साउण्ड सिस्टममा आवाज घन्कन थाल्यो।
लगभग ८० जना टोलबासीहरू भेला भइसकेका थिए। त्यसै भेलामा टोलकै एकजना महिला आफ्नो ५ वर्षे छोरासँग आएर कार्यक्रम स्थलकै एक खाली कुर्सीमा बसिन्। अतिथिहरूले टोलमा भएको सुधार र टोलबासीहरूले गरेको योगदानका बारेमा भाषण दिन थाले।
टोलबासीहरूले बडो ध्यान दिएर अतिथिका कुरा सुनिरहेका थिए। प्रमुख अतिथिको भाषणसँगै कार्यक्रम सम्पन्नता तिर लम्किरहेको थियो। वडाध्यक्षको भाषणभन्दा पहिले वडाबासीले गरेको योगदानको कदर गर्दै सम्मान कार्यक्रम राखिएको थियो।
टोलमै रहेका नारायण प्रसादजीको नाम बोलाइयो र उनलाई दोसल्ला ओढाएर सम्मान गरियो। उनले टोलमै एकजना बिरामी पर्दा आर्थिक सहयोग गरेका थिए। त्यस्तै दिलमाया दिदीको नाम बोलाइयो र उनलाई पनि दोसल्ला ओढाएर सम्मान गरियो। उनले टोलकै एकजना गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी पढ्ने अवसर प्रदान गरेकी थिइन्।
त्यस्तै कसैलाई टोलबासीलाई सरसल्लाह, सहयोग गर्ने, सरसफाइको बारेमा चेतना जगाउने, टोलका समस्याहरू नेता समक्ष पुर्याउने जस्ता विषयलाई लिएर मूल्याङ्कन गरी १०–१२ जनालाई सम्मान गरियो। तर त्यही कार्यक्रममा आएकी करुणा दिदीको नाम सम्मानको लिस्टमका अटाउन सकेको थिएन।
पक्कै पनि मेरो नाम आउँछ र समाजले मलाई र मेरो श्रीमानको योगदानको कदर गरी सम्मान गर्छ भन्ने आशमा बसेकी थिइन् तर उनको नाम बोलाइएन। अध्यक्षको धन्यवादको भाषणसँगै कार्यक्रम ६ बजे सम्पन्न भयो।
कार्यक्रमपश्चात चिया खाजाको व्यवस्था थियो। करुणा दिदीलाई केही खान मन लागेन, मन भित्रभित्रै पोल्न थाल्यो। लाज र शरम भएजस्तो पनि लाग्यो, समाजले सम्मानको लागि गरेको मूल्याङ्कन केही ठिक नभए जस्तो लाग्यो।
करुणा दिदीले आँसु झार्न मात्र सकिरहेको थिइनन्। यताउती हेरिन्, कसैले उनलाई ख्याल र महत्त्व नदिएजस्तो बुझिएपछि उनी कुर्सीबाट उठेर छोरालाई डोर्याउँदै घरतिर लागिन्। श्रीमान नेपाली सेनामा थिए। कोरोनाकालमा राष्ट्रसेवाको काम गर्ने क्रममा उनको मृत्यु भएको थियो।
करुणा दिदीलाई खाना पकाउन जाँगर चलेन। बाबुलाई दूध तताएर चिउरासँग खान दिइन् र सुत्न गइन्। उनले र उनको श्रीमानले समाजमा गरेको योगदानको कदरको मूल्याङ्कन नभएकोले उनलाई समाजप्रति वितृष्णा जागेर आयो। यस्तो समाजदेखि टाढै बसेको भए ठिक हुने थियो भन्दै एक क्षण आँखाबाट अविरल आँसुका धारा बगे।
बिहान भयो, करुणा दिदीको घरको मूल ढोका अहिलेसम्म खुलेको थिएन। सधैँ बिहान ५ बजे नै खोलिने ढोका आज ६:३० बज्दासम्म पनि खुलेको थिएन शनिबार भएकाले बाबुलाई स्कुल जान पनि थिएन।
टोलबासीहरू अचम्ममा परे। गाइँगुइँ हुन थाल्यो। कसै-कसलै ढोका घचघच्याउन थाले। कोही अत्तालिन थाले। कसैले करुणा बहिनी त कसैले करुणा दिदी, आन्टी, भाउजू भन्दै ढोका बाहिरबाट बोलाउन थाले। तर, ढोका खुलेन।
एकजनाले मोबाइलमा फोन गरे तर फोन उठेन। बल्लबल्ल केही समयपछि छोरा आशिषले मोबाइल उठायो।
‘ममी कहाँ हुनुहुन्छ बाबु?’ भनेर सोधे।
आशिषले ‘ममी सुतिरहनु भएको छ’ भन्यो।
‘बाबु ढोका खोल त!’ भनेर उहाँले भन्नुभयो तर बाबुले ‘म त चुकुल खोल्न सक्दिनँ’ भन्यो।
कति जनाको फोन आउँदा पनि फोन उठेन। अन्तमा वडाध्यक्षले फोन गरे, उहाँको फोन उठ्यो।
‘करुणा नानी, तिमीले आज ढोका नखोल्नुको कारण मैले बुझेको छु। यो समाज यस्तै हो जसलाई तिमी सहजै रुपमा सहयोग गर्छौ त्यसको महत्व मानिसले बुझ्दैनन्, ल आऊ ढोका खोल घर बाहिर भिड लागिसकेको छ।’
अध्यक्ष एक सामाजिक, न्यायप्रेमी र इमान्दार भएकै कारण उहाँलाई सबैले जिताएर वडाध्यक्ष बनाएका थिए। उनको आज्ञा सबै वडाबासीले पालन गर्दथे। करुणा दिदी खाटबाट विस्तारै उठिन् र घरको मूल ढोका खोलिन्।
ढोका खोल्ने वित्तिकै घर बाहिर उभिएका टोलबासीहरू आआफ्नो गाग्री, घैला, बाल्टी लिएर तँछाडमछाड गर्दै दौडँदै करुणा दिदीको घरभित्र पानी थाप्न पसे।
विगतमा पानीको समस्या हुँदा धेरै लामो दूरीबाट धेरै खर्च गरी करुणा दिदीको श्रीमानले पानीको पाइप जडान गरेर धारा लगाएका थिए जुन धारोबाट पानीको कमि हुने समयमा समेत अरु कसैकोमा पानी नआउँदा पनि त्यस घरमा पानी आउने गर्दथ्यो।
दिदीबाट पानीको सहज उपलब्धता भएको कारणले टोलबासीहरू नियमित रुपमा त्यस घरमा बिहानै पानी थाप्न आउँथे जसको महत्व बुझ्न सकेका थिएनन्।