निलो खुला आकाशमुनि
पहाडको पाखामा
हरदिन मलाई चुम्न
जब तिमी न्यानो बोकेर आउँछौ नि
सेता हिमालहरू लहरै उभिएर मुस्कुराउँछन्
बटुवाहरू अडिएर यसै लजाउँछन्
आदिम हाम्रो प्रेम
हामीलाई नित्य जोगाउनु छ
कठाङ्ग्रिए पनि उपासना गर्नुछ
तर आजभोलि हावाका सुस्केरासँग
झस्किन थालेको छु
म जंगली हो रे
लहराको पटुकी बाँध्ने
तिमी फिरन्ते हौ रे
भर ठेगान नभएको
हावामा उडी जाने
सिमलका भुवाहरूले हामीलाई जिस्क्याउँछन्
पखेरूमा अल्झेका
पुरातन जोडी भनेर
जिस्क्याउन् न
माटोको सुगन्ध र पानीको सरलता
मेरो जीवन हो
जहाँ तिमी हरदिन
अँध्यारो चिर्दै आइपुग्छौ
म गालामा शीत सजाएर मुस्कुराउँछु
तर विशाल बस्तीका अजीव किराहरू
सबेरैदेखि कालो श्वास फेर्दै बत्तिन्छन्
गतिको दम्भले हामीलाई जिस्क्याउँछन्
हामी जड रे
हाम्रो प्रेमालापको भाषा तिनीहरू बुझ्दैनन्
हाम्रो शान्तिको गीत तिनीहरू सुन्दैनन्
हाम्रो आदिम बस्तीमा किन आउँछन्
हावामा विष घोलेर घामलाई किन तताउँछन्
मेरो लालित्य किन जलाउँछन्
हाम्रो आदिम प्रेम मार्यौ भने
अघोरी पाप लाग्नेछ
कंक्रिटको मृत जंगलमा
कतै तिनीहरू पो जंगली हुन् कि?
घाम सुन त
हामीहरूले उनीहरूलाई प्रेम गरौँ
नदीजस्तै कञ्चन प्रेम गरौँ
ता कि
क्षणिक आकाशबाजी र चेयर्समा प्रेम घोल्ने
उनीहरूले हामीहरूलाई चिन्नेछन्
बुझ्नेछन् र सिक्नेछन्
हाम्रो प्रेम देखेर हिमालहरू
किन मुस्कुराउँछन्?