तिम्रो पसिनाले बनाएको यो रङ्गिन फूलबारी
जसलाई सधैँभरि रङ्गिन बनाउनु छ
जसरी घरको धुरीलाई एउटा खाँबोले थेगेर राख्छ त्यसरी नै
तिमीले हाम्रो दु:ख आँसुलाई थेगेर हामीलाई
सधैँ हाँसो दियौ, सधैँ खुसी दियौ
ती खुसीलाई मनमा सजाएर राख्नुछ
मेरो सुकिलो नयाँ जामा
फेर्नकै लागि सधैँ तिमी फाटेको कमिज लगायौ
मेरा हात कोमल राख्नकै लागि सधैँ आफ्ना औंलाहरू खियायौ
तिम्रा दु:खले, तिम्रा पसिनाले
म आज फूलजस्तै गरी फक्रिएकी छु
तिमीले दिनरात ननिदाइ देखेको सपना साँच्चै
हेर त बा!
आज पूरा भएको छ।
मलाई पनि तिम्रो त्यो
दुखेको घाउमा मलम लगाउनु छ
तिम्रो त्यो फाटेको एक जोर कमिज फेर्नुछ
तिम्रा ती ठेउला बसेका हत्केलाहरू फू-फू गर्दै सुमसुमाउनु छ
तर बा! तिमी कहाँ छौ?
भन न ए बा!
तिमी कहाँ छौ?
साँच्चै तिमीबिना
म साह्रै निस्सासिन्छु
जब म अन्धकारमा रुमल्लिरहेको हुन्छु
पूर्णिमाको जून बनेर आइदिनू बा
जहाँ म एक्लोपनको छायाभित्र हराएर एक्लै रोइरहेको हुन्छु
जीवनको मिठो हाँसो बनेर मलाई हँसाइदिनू
जब म भिड कोलाहलमा हराइरहेको हुन्छु
सहारा अनि साहस बनेर आइदिनू
न्याय नपाएर भौतारिरहेको बेला
आवाज बनेर आइदिनू
ए बा! जहाँ भए पनि
मेरो वरिपरि छाइदिनू है!
सधैँभरी सुसेली हाली
मिठो धुन गाइदिनू है!
म तिम्रा ती धुनहरूमा
हराइरहेकी हुनेछु
ए बा! सधैँ तिमी
मेरै वरिपरि आइदिनू है! -