बर्सादको बाढीपहिरो जसरी
हेमन्तको कठोर जाडो हटेर
प्रकृतिमा फेरि वसन्त आयो
खोई त हाम्रो जिन्दगीमा
किन कहिल्यै वसन्त आउँदैन?
सधैँ हर्षको खडेरी
सधैँ पीडाको पहिरो
हिउँद होस् या वर्षा
आइरहन्छ विपत्ती सधैँ
आँसु पसिनाले सिचेको जीवन
सधैँ भइरहन्छ उजाड
न उम्रिन्छ खुसी
न पलाउँछ आश
प्राकृतिक पद्धतिको इमानदारिता
कतै हाम्रो पद्धतिमा छैन र हो कि
जीवनमा वसन्त कहिल्यै नआएर
संकटको मात्रै घनचक्कर लाग्ने?
हो, प्रकृतिले छल्दैन, ढाँट्दैन
जे गर्छ आफ्नै नियममा गर्छ
तर विश्वकै चेतनशील भएर पनि
मान्छेले छल्यो, मान्छेले ढाँट्यो
आफैले रचेको तोडेर नियम
जनताको चरम गरेर शोषण
सयलमा बाँच्ने पद्धति बस्यो
मुठ्ठीभरको ढाँटछल सहेर बस्ने
बहुजनहरूको आदतले पनि
आएन कहिल्यै जीवनमा वसन्त।
अब हाम्रा सचेतन प्रयत्नहरूबाट
संकटमुक्त जीवन निर्माण गर्न
अराजक सारा पद्धति तोडेर
जीवनमा वसन्त भित्र्याउनै पर्छ।