दोलखा जिल्लाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको सिमानामा पर्छ शैलुङ डाँडा। अझ भनौ, शैलुङको ८० प्रतिशत भूभाग दोलखामा पर्छ। आज म त्यहीँ शैलुङ डाँडाको यात्रा गर्दै छु।
मेरो घर शैलुङ-६ मा परेता पनि शैलुङ-७ स्थित श्री सागुते माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छु। म कक्षामा प्रथम हुने विद्यार्थी हुँ। पढाइ मात्र नभएर अन्य खेलकुद, हाजिरीजवाफ जस्ता क्रियाकलापमा पनि अगाडि थियौ म र साथीहरू। परीक्षाको हुँदै थियो हामी साथीहरू मिलेर घुम्न जाने सल्लाह भयो अनि रोजाइमा शैलुङ डाँडा!
आकाश खुल्ला थियो माघ १७ गते शनिबारको दिन किनभने दुई दिन अगाडि मात्रै हिउँ परेको थियो। दुई जना साथीको घर टाढा भएकाले उनीहरू मेरै घरमा बसेका थिए।
राति २ बजे एउटा साथीले उठाउँदै भन्यो ‘केटाहरू अब उठ न, अरू साथीहरू तयार भइसके होलान्। एकचोटि नितीलाई फोन गर त असिम!’
निती हामी सँगै पढ्ने साथी हुन्। पढ्नमा एकदमै राम्रो, सुन्दरता पनि उतिकै। धेरै साथीहरूको क्रस थिइन् उनी।
‘एकछिनमा यार’ भन्दै उठेँ। अनि हातमुख धोएर उनलाई फोन गरेँ। नभन्दै सबैजना तयार भइसकेका रहेछन। हामी पनि हतार हतारमा तयार भयौं।
केही साथीहरु हेल्थपोष्टमा भेट्ने भयौं। हेल्थपोष्ट पुग्न करिब १५ मिनेट लाग्थो। घरबाट कतै जाँदा साइतको टीका भनेर राेतो टीका लगाउने चलन थियो। मैले लगाए तर साथीहरुले लगाएनन्। हामी हेल्थपोष्टमा पुग्यौं सबैजना आ-आफ्नो तरिकाले सजिएका थिए।
हेल्थपोष्टबाट १० मिनेटमा दार्खा पुगिन्थो। केहि साथीहरू हाम्रो प्रतिक्षा गरेर त्यहीँ बसेका थिए। करिब ४ बजेको थियो हामी दार्खा पुग्यौं अनि २१ जनासहित शुभारम्भ भयो हाम्रो शैलुङको यात्रा।
१० मिनेटमा गोठपानी पुग्यौं। बजार सुनसान थियो। त्यहाँसम्म त बाटो सम्म परेको सजिलो थियो। त्यहाँबाट सुरू भयो उकालो बाटो। करिब १ घण्टामा हामी निगाले पुग्यौं। हामी अँध्यारो रात, उकालो अनि चिसोले गर्दा एकदमै चिन्तित भएका थियौं। जति माथि गयो त्यति चिसो बढ्दै थियो। कहीँ चौतरा देख्न हुँदैन थियो हामीलाई बसिहाल्न पर्थो।
निगालेबाट करिब ३० मिनेट सम्म बाटो हिँडेपछि हामी भञ्ज्याङ पुग्यौं। त्यहाँ केही खानेकुरा किन्यौं।
‘शैलुङ हिँडेका बाबुहरू?’ पसलको आमाले सोध्नुभयो।
‘हजुर आमा। अब कति लाग्छ?’ मैले उत्तर सँगै प्रतिप्रश्न गरेँ।
‘धेरै छ नि बाबु, अब पो उकालो सुरू भयो’ आमाले भन्नुभयो। त्यति सुनेपछि हामी उकालो लाग्यौं।
साँच्चै नै नाक छुने उकालो रहेछ। घनघस्याको उकालो भन्दा कमको थिएन भञ्ज्याङबाट कालापानी सम्मको उकालो। चिसो हावाले हाम्रो कान हानिरहेको थियो। बेशिमा कोशी नजिक थिएन तर सुशेली हालि रहेको थियो। हामी कछुवाको तालमा अगाडि बढी रहेका थियौं बिस्तारै बिस्तारै!
बिस्तारै सूर्यका किरण हामीमा पर्दै थियो। सानो स्पिकरमा कुन्ती मोक्तानको गीत बजिरहेको थियो माथि माथि शैलुङेमा चौरी डुलाउनेलाई...। साथीहरु सुरूमा त हल्लाखल्ला गर्दै थिए तर अहिले भने आआफ्नै सानो सानो ग्रुप बनाएर लामो लामो सास फेर्दै कुरा गरिरहेको थिए। त्यतिकैमा निती मेरो छेउमा आइन
‘तपाईं नौ कक्षाको रियालाई मन पराउनु हुन्छ हो?’ मुसुक्क मुस्कुराउँदै प्रश्न गरिन।
म अकमक्क परेँ। उनीबाट यस्तो प्रश्न आउँला मैले कहिले पनि कल्पना गरेको थिएन।
‘कसले भन्छ यस्तो हावा कुरा? हैन हैन’
‘यस्तै हल्ला रहेछ स्कुल त तिर’ उनले भनिन्।
हल्ला कै कुरा गर्ने हो भने त तिमी पनि मलाई मन पराउँछौ रे नि भनेर भन्न मन थियो तर सकिनँ। अनि पढाइ, सरहरूका कुरा,साथीका कुरा गर्दै अगाडी बढिरहेका थियौं निती र म।
हामी गफिदै एकअर्कामा हराउँदै नजिकिँदै थियौं। हाम्रो पाखुराले एकअर्कालाई स्पर्श गरिरहेको थियो। हाम्रो हिँडाइको गति बढेको थियो।
आजसम्म कुनै केटिसँग नि यति धेरै बोलेको थिएन। उनका कुराहरू सुन्दा ब्यवहारिक लाग्थ्यो। आफ्नो हरेक कुराहरू निर्धक्कसँग भनिरहेकी थिइन्।
मैले प्रश्न गरे, ‘निती तिमीलाई को मन पर्छ?’
उनले एक्कासी भनिन ‘तपाईं’
‘तपाईं रे!’
उनले साच्चै भनिन् वा जिस्केर भनिन् त्यो त थाहा छैन तर मुटुमै लाग्यो।
‘हावा कुरा नगर न हौ’ भनेँ उनी मुसुक्क मुस्कुराइन्।
हाम्रो घर धेरै टाढा नि थिएन। आजसम्म उनको बारेमा यस्तो केही सोचेको थिएन। तर आज सोच्न बाध्य भए।
हाम्रो गफ पनि यति धेरै भइसकेछ कि हामीले साथीहरू नै भुलिसकेको थियौं। उनीहरू अलि तल थिए। हामी कालापानी पुग्यौं।
त्यँहा पुरानो एउटा कुवा थियो। माथिबाट पानी जमेर सिसा भएको थियो। त्यही सिसा फुटाएर थोरै पानी खाएँ। नितीले खाइन। मैले खाऊ न भने। उनले मुसुक्क मुस्कुराउदै थोरै खाइन्। साथीहरू साह्रै गलेका थिए तर म थिएन। उनको उपस्थितिमै यति धेरै तागत छ सोचेको पनि थिएन।
साथीहरु आइपुगे। उनीहरूले पनि पानी पिए। एउटा साथी मलाई हेरेर हाँस्यो।
‘किन हाँसेको हो र?’ मैले प्रश्न गरे।
दुई जनाको मात्र निधारमा मात्र टीका रहेछ। एउटा त मेरोमा थियो अर्को कसकोमा रहेछ भनेर खोज्न थालेँ। मैले भेट्टाएँ, त्यो मान्छे।
हाम्रो यात्रामा पुग्न अझै पौने घण्टा बाँकी थियो। अलिअलि खाजा खाँदै हिँड्न लाग्यौं।
अहिले कालापानीमा धेरै होटलहरू छन् तर त्यतिखेर एउटा सानो पसल मात्र थियो त्यो नि अति महङ्गो थियो। अहिले त्यहाँ एउटा राम्रो पार्क छ त्यतिखेर त्यस्तो केही थिएन।
हामी बिस्तारै बिस्तारै शैलुङ्गेश्वर महादेवको दर्शन गर्न गयौं। त्यहाँ विभिन्न गुफाहरू थिए। सबै ठाउँ गयौं। एक ठाउँमा ढुङ्गामा जोडीको नाम लेख्ने ठाउँ थियो। धेरैले लेखे त्यहाँ तर मैले लेखिनँ।
नितीले पनि लेखिन् तर कसको नाम लेखिन्। मलाई थाहा छैन। हल्का मट्टितेलको जस्तो बास्ना जताजतै आउँथ्यो। हाम्रो यादहरू मोबाइलमा कैद गर्दै अगाडी बढिरहेका थियौं।
मेरो छेउमा निती थिइन् मैले प्रश्न गरेँ, ‘किन टीका लगाएको तिमीले?’
‘किन सुहाएको छैन र?’ उनले प्रतिप्रश्न गरिन्।
‘छ नि एकदम छ, जुन जस्तै देखिएको छौं’
उनी मुसुक्क हाँसिन्। मैले फेरि सोधेँ, ‘अघि तल कसको नाम लेख्यौ त?’
‘भन्नु हुँदैन रे! फेरि पूरा हुँदैन!’ उनले भनिन्। म मुसुक्क हाँसे।
मलाई पनि जबर्जस्ती गर्न मन लागेन। हामी साथीहरूसँग सुरूसुरू माथितिर लाग्यौं। हामीले कालापानी देखिनै आशिक रूपमा हिउँ भेटिरहेको थियौँ। जति माथि गयो, त्यति नै हिउँ बाक्लो भेटिँदै थियो। हामीहरू हिउँ खेल्दै, रमाउँदै उकालो चढिरहेका थियौं।
अब शैलुङ पुग्न केही समय मात्र थियो। हामीहरूले सबैले बाडेर खाजा खायौं। मानिसहरूको आवतजावत बाक्लै थियो। माथितिरबाट फर्किनेले माथिको माहोलबारे जानकारी दिँदै हामीमा उत्सुकता थपिरहेका थिए। अहिले यहाँ मिनी ग्रेट वाल बन्दै छ।
केही समयमा बाटोमा ठूलो पहाड आयो। गलेका हामीलाई त्यो सेताम्मे पहाड चढ्न धौधौ भइरहेको थियो। लामो लामो स्वास फेर्दै बल्लतल्ल माथि पुगेका थियौं। त्यहाँ पुग्ने बितिक्कै एउटा छुट्टै संसार देख्यौं। त्यो संसार शैलुङको थियो।
सय वटा ठूला ठूला पहाडमा सेताम्मे हिउँ देख्दा कसको मन नपग्लिएला र! त्यो देख्ने बित्तिकै गलेका हातखुट्टा र छुटेका हाम्रो साथ फेरि जोडियो।
हामी मुश्किलले चढेको त्यो डाँडाको नाम दायी गर्ने डाँडो रहेछ। त्यस डाँडाको बीचमा ठूलो प्वाल छ। अहिले त्यहाँ शिव लिंग र एउटा ठुलो त्रिशुल देख्न सक्छौं। त्यस डाँडामा स्वास नै नफेरी चढ्यो भने मनो इच्छा पूरा हुने किम्मदन्ती रहेछ। जुन हाम्रो लागि असम्भव जस्तै भयो।
हामी भर्खर दायी गर्ने डाडाँमा थियौं तर पुग्नु थियो भ्यू टावर। भ्यू टावरबाट सय वटा डाँडाहरू एकैचोटि हेर्ने रहर थियो सबैलाई।
साथीहरू हिँड्न सक्ने स्थितिमा थिएन। सबैजना बाटै बाटो जाने भए। तर मलाई डाँडैडाँडा जान मन थियो। मलाई नितीले साथ दिइन्। जति पहाड चढ्यो त्यति नै ठूला ठूला पहाड हामी अगाडि आउथे। उनीको साथमा यति तागत थियो कि कुरै नगरौं। हामी दुईले प्रायः दायी गर्ने डाँडाबाट जाँदा र आउँदा सबै पहाडहरू चढेका छौं। यति धेरै हिँडेर आएर यसरी सबै पहाड चढ्नु जो कोहीका लागि असम्भव जस्तै हो।
भ्यू टावरबाट देखिने दृश्यको त म शब्दमा बयान गर्नै सक्दिनँ। सायद यो दृश्यको सुन्दरताको बयान गर्न सक्ने शब्दकोषमा पनि कुनै शब्द छैन होला। स्वर्ग पनि त्यति प्यारो हुन्न होला जति प्यारो भएको थियो हाम्रो लागि शैलुङ।
शैलुङका डाँडामात्र हैन त्यहाँ भएका साना साना गुम्बाहरू, बुद्धको पाइला, तरबार, बाघढुङ्गा, सानो पोखरी, मानव आकृति भएको ढुंगा, गौरीशंकर हिमाल आदिले सबैले हाम्रो मन जितिरहेको थियो।
सन्दीपलाई भोक लागेछ क्यारे, ‘दुई बज्न लागिसक्यो अब त ओरालो लाग्नु पर्छ त!’
त्यहीँ त अब जानुपर्छ मैले पनि थपेँ। छोडेर जान मन कहाँ लागेको थियो। कल्पनामा त्यहीँ सानो घर बनाउन भ्याइसकेको थिए मैले। भैँसेबाट फर्किनेमा सहमतिमा सबैजना ओरालो लाग्यौं।
फर्किंदा हामी आएको डाँडाभन्दा फरक-फरक डाँडाबाट फर्कियौं। पुन: हामी दायी गर्ने डाँडामा आइपुग्न लागेको थियौं। मैले नितीलाई प्रश्न गरेँ।
‘कस्तो भयो यात्रा?’
‘धेरै रमाइलो भयो जीवनभरि याद हुन्छ तिमीसँग बिताएका यी पलहरू तिम्रो साथको लागि धन्यवाद है।’
‘तिमीले पनि त मलाई साथ दियौ नि, कि जीवनभरी यसरी नै साथ दिन्छौ?’
ल... मैले यो के भने आफैंलाई डर लाग्यो।
उनले मलाई हेरिरहिन्। एकछिन मुसुक्क हाँसिन्। तिम्रो हरेक सवालहरूको उत्तर म फागुन २२ गते दिन्छु है।
किन फागुन २२ गते? मैले प्रश्न गरें। तिम्रो जन्म दिन हैन त बुद्धु! यति भन्दा उनले मेरो हात कसेर समाएकी थिइन्।