मुसलधारे पानी दर्किरहेको छ। बेलाबेलामा आकाशमा चम्किने बिजुलीको गड्याङगुडुङ आवाजले कुनै ठूलो अनिष्टको संकेत गरिरहेको जस्तो भान भैरहेको बिर्खेलाई।
आज त्यही पारि जंगलमा बनिरहेको खानेपानीको मुहानमा मजदुरी गरेर घर फर्किँदै थियो बिर्खे। ऊ जब गाउँ नजिक पुग्दछ गाउँमा चलिरहेको रुवाबासीले विचलित हुन पुग्दछ। उसले गाउँमा कुनै अनिष्टकारी घटना भएको लख काट्दै फटाफट आफ्ना पाइला चाल्दछ।
गाउँ जति-जति नजिक हुन्छ रुवाइ झन् तिखो सुनिन्छ। गाउँ पस्दा त उसकै छाप्रोमा गाउँलेको भिड लागेको छ। आँगनमा लास छ। उसको सातोपुत्लो जान्छ। बिर्खेलाई देखेपछि उसकी सानी छोरी रुँदै नजिक आउँछे र आमा मरेको सूचना दिन्छे।
बिर्खे भावविह्वल बन्छ। उसलाई आफूभन्दा नि बढी माया गर्ने श्रीमती यो लोक छोडी परलोकको यात्रा तय गरिसकेको कुराले साह्रै मर्माहत बनाउँछ। आखिर दैवको अगाडि कसको के लाग्छ? भर्खरको चट्याङले घरपछाडि घाँस काटिरहेकी श्रीमतीको ईहलिला समाप्त पारेको थियो।
सबै गाउँले जम्मा भैसकेका थिए। राति भएकाले बिहान मात्र घाटमा लैजाने कुरा भयो। सानी छोरी रुँदारुँदै निदाइसकेकी थिई। बिर्खे भने श्रीमतीको लाससँगै बसेको थियो। उसका आँखामा आँसुका बलिन्द्र धारा झरिरहेका थिए।
गाउँलेहरू उसलाई सम्झाउँदै थिए। तर श्रीमती गुमाउनुको पीडा जसले व्यहोर्छ उसलाई पो थाहा हुन्छ। हुन त अर्कालाई सम्झाउन सक्ने मन आफूलाई पर्दा भने आफै रुन्छ भन्छन्। त्यसै भएको थियो आज बिर्खेलाई पनि।
श्रीमतीको दाहसंस्कारपछि काजकिरियाको तयारी हुन्छ। तेह्र दिनको काम नसकिँदै गाउँलेहरू बिर्खेलाई दोस्रो बिहे गर्न सुझाउँछन् तर ऊ झन् मर्माहत हुन्छ।
‘कस्ता पापीहरू, काजक्रिया सिद्धिएको छैन बिहेको कुरा!’ बिर्खे भित्रभित्रै मुर्मुरिन्छ।
अब बिहे गर्दिनँ, उनकै यादमा जीवन कटाउँछु। बिर्खेले दृढ संकल्प लिन्छ। यस्तैमा पिपल छोएर काजक्रिया समाप्त हुन्छ। त्यसपछि भने बिर्खेमाथि अर्को बिहे गर्न चर्को दबाब पर्छ। खासमा बिर्खेकी आमा बढी दबाब दिन्छिन्।
‘हेर्, कोही श्रीमती मर्दा अर्को बिहे नगरी बसेका छैनन्। तँ मात्र किन साधु हुन्छस्? सानी छोरी पनि छे, त्यसको पनि हेरचाह गर्नुपर्छ। म बुढी भैसकेँ। मेरो सेवा गर्ने बुहारी पनि चाहियो नि,’ श्रीमती मरेको बीस दिनपछि आमाले बिर्खेलाई बिहे गर्न आदेश दिइन्।
बिर्खेले अब बिहे नगर्ने ठाडो जवाफ फर्कायो- ‘आमा, पल्ला घरकी काकी जवानीमै विधवा भइन्। उनलाई किन बिहे गर्ने सल्लाह दिनु भएन? हाम्री फूपूले सोह्र वर्षमै पति गुमाइन् तर उनले बिहे नगरिकन सन्यासी भइन्। ती देवघाटम बस्ने तमाम विधवाहरू पतिको बियोगपछि एक्लो जीवन बाँच्छन् भने म किन बिहे गरौँ?’
बिर्खे राम्रै प्रतिवादमा उत्रिन्छ। तर सारा आफन्त र गाउँलेको दबाब अगाडि बिर्खे निरीह देखिन्छ। केही नबोली चुपचाप बसिरहन्छ।
जुनेली रात चकमन्न छ। धर्ती स्पष्ट देखिरहेको छ। श्रीमती वियोगमा रहेको बिर्खे गाउँ नजिकको चौतारोमा एक्लै टोलाइ बसिरहेको हुन्छ। यस्तैमा कुनै परिचित आवाज गुन्जिन्छ। त्यो आवाज उसकी फूपू सन्यासी मायाको हुन्छ।
केही औपचारिक कुरापछि फुपूले पनि त्यही बिहानैकै कुरा दोहर्याउँछिन्- ‘हेर बिर्ख, एक्लो जीवन बिताउन कम्ती गाह्रो छैन। म त जीवनका अनुभवले नै साह्रै पाको भैसकेँ। भावनाका कुरा र वास्तविकता निकै फरक छ। यो समाज जहिले नि रमिते हुन्छ, अप्ठ्यारोमा कहिले साथ दिँदैन, सुखमा जहिले नजिक हुन्छ। तिमी एक्लो जीवन नबाँच, यो मेरो सल्लाह हो।’
माया आफ्नो कुरा स्पष्ट पार्छिन्, तर बिर्खेलाई चित्त बुझेको छैन।
यी कस्ता मान्छे प्राण प्यारीले छोडेको महिना दिन पुगेको छैन, यस्तो बेलामा बिहेको दबाब दिने। यदि उनको ठाउँमा म बितेको भए ऊमाथि कत्रो थिचोमिचो गरिन्थ्यो। कति थोक भनिन्थ्यो, आजीवन एक्लो जीवन बिताउन लगाइन्थ्यो।
लोग्ने-स्वास्नीमा यत्रो विधि विवेध बिर्खेलाई प्रतिवाद गर्ने मन लाग्छ। तर नम्र श्वरमा ‘तपाईंले किन दोस्रो बिहे गर्नु भएन त?’ मात्र भन्छ।
'मेरा कुरा छोड, हामीलाई त दोस्रो दर्जाका बनाइएको छ। आफ्नो इच्छा अभिव्यक्त गर्ने स्वतन्त्रता हामीलाई त कहाँ हुन्छ र बाबू?’ माया फेरि सम्झाउने पारामा भन्दछिन्।
‘जसले जे भनोस् म चाहिँ दोस्रो बिहे गर्दिनँ,’ बिर्खे चर्को श्वरमा भन्दछ।
'म तमाम विधवाका समस्यासँग परिचित छु। तिनले भोगेका असीम पीडाका कथा सुनेकी छु। त्यसैले भन्दैछु, हामीले जुन पीडा भोग्यौँ, त्यो पीडा तिमीले भोग्नु नपरोस्। फेरि तिमीलाई आफ्नो जीवन जीउन पूर्ण स्वतन्त्र छौ। त्यसैले मेरो त यति सल्लाह छ आगे तिम्रो मर्जी।
हेर जहाँसम्म मेरो कुरा छ, म १६ वर्षकी हुँदा नै मैले मेरा श्रीमान गुमाएँ। त्यसपछि सुरु भयो ममाथि अत्याचार। सासूले अलक्षिणाको उपमा दिइन्। मैले श्रीमान गुमाउँदा चुरा फोड्नु पर्यो, सिन्दुर पुछ्नु पर्यो, मलाई शृंगार बिमुख बनाइयो। रातो लुगाबाट बिमुख बनाइयो। सकभर सेतो लुगामै जीवन गुजार्न भनियो। त्यतिसम्म त सहेकै थिएँ। रातदिन घरपरिवारबाटै अनेक लान्छनासहित मानसिक तनाव दिइन्थ्यो। त्यही सहन नसकी मैले सन्यास लिएँ।
तर सन्यास लिँदा पनि सुख पाइनँ बाबु। त्यहाँ पनि अनेक तरहका हण्डर खाइयो। म उर्बर जवानीमा सन्यासी भएँ। नारीलाई भोग गर्ने वस्तु सरह व्यवहार गर्ने यो समाजसँग जुझ्न र आफ्नो आत्मसम्मान कायम राख्न कति विधि संघर्ष गर्नुपर्ने रहेछ, त्यो सबै अनुभव मैले लिएकी छु।
तर तिमीले त असीमित स्वतन्त्रताको उत्तराधिकारी पायौ। म पंक्षीमा सुगाजस्तो जसलाई हरेकले पिँजडाभित्र राख्न जालझेल गर्छ तर तिमी त चरामा बाजजस्तै हौ। त्यसैले निस्फिक्री उडान भर, आफ्नो जीवनको मनमौजी निर्णय लिऊ र स्वतन्त्र विचरण गर।’
यसो भन्दै गर्दा मायाको गाला अबरुद्ध भयो। उनी आँसु लुकाउदै आफ्नो बाटो लागिन्। तर बिर्खेलाई कुनै जवाफ दिने मन लागेन, निःशब्द भई बसिराख्यो।
रातको बाह्र बजिसके छ। श्रीमतीको बियोगमा पागलजस्तै भएको बिर्खे गोलसिमल चराको आवाजसँगै घरतर्फ लाग्यो। घरमा सानी छोरी मस्त निन्द्रामा थिई।
'कस्ती अभागी रहिछ विचरी, आमाको यादमा कति दुब्लाइसकी,' बिर्खे छोरीलाई सिरक खापेर सुत्न पल्टिन्छ।
श्रीमतीको मृत्युपछि बिर्खेले बेलुकाको खानै खान छोडेको थियो। बिर्खेको यो हाल देखेर आमा धेरै चिन्तित थिइन्।
रात कोल्टे फेर्नमा बित्छ बिर्खेको। जवान श्रीमतीको मृत्यु त्यसमाथि गरिबी अनि सानी छोरी अत्यास लाग्न थाल्छ। दिनुहुँ थपिने विवाहको दबाबले झन् पिरोल्दछ उसलाई।
यो समाज पनि कस्तो, महिला विधवा हुँदा उसलाई जीवनभर विवाह नगर्न दबाब दिन्छ। शृंगार बिमुख पार्दछ। पुरुषको मुख पनि नहेर्न भन्छ तर त्यही पुरुषलाई दोस्रो विवाहको दबाब दिन्छ। बिर्खे सामाजिक विद्रोह गर्न उद्देलित हुन्छ।
बिर्खेले आफ्नै आँखा अगाडि कैयौँ विधवा नारीमाथिको अत्याचार देखेको थियो अनि कैयौँ बिधुरले श्रीमती बितेको महिना दिन नपुग्दै दोस्रो विवाह गरेको। तर ऊ योभन्दा अगाडि नारी बढी सहनशील र संघर्षशील भएको ठान्दथ्यो।
जवानीमै विधवा भएकी महिला आजीवन एक्लै बाँचिदिन्छन्। एक्लै लालाबालाको पालनपोषण गर्न अनि शिक्षादीक्षा दिन सक्षम हुन्छन्। तर पुरुष किन सक्दैन? किन आफ्नी अर्धाङ्गिनीको यादमा गुजार्न सक्दैनन्? किन श्रीमती मर्ने बित्तिकै बिहे गर्न राजी हुन्छन्?
बिर्खे सोचमग्न हुन्छ र बिहे नगर्ने अठोटप्रति अडिग रहन्छ।
श्रीमती बितेको तीन महिना मात्र भएको थियो, दिन प्रतिदिन बिहेको लागि दबाब दिनेहरू थपिँदै थिए। बिर्खे प्रतिवाद गर्दै बिहे नगर्ने अडानमा अडिएको थियो। यस्तैमा एकदिन बिहानै पण्डित हरिप्रसादसँग बिर्खेको भेट भयो। सामान्य हालचाल सोधपुछपछि पण्डितजीले पनि बिहेको कुरा निकाले।
‘हेर बिर्खे, नारीले पो सतित्त्व धर्मका लागि जीवनमा एक पुरुषसँग मात्र बिहे गर्छन्। पुरुषलाई त्यो जरुरी छैन। तिमी बिहे किन नगर्ने? हेर एक्लो जीवन जीउन त्यति सजिलो छैन जति भन्न सजिलो छ। त्यसैले दोस्रो बिहे गर्न तिमी राजी हौ।’
पण्डितजीको कुराले बिर्खे झन् बढी स्तब्ध भयो।
‘हजुरले पनि के भनेको गुरु? श्रीमती बितेको एक वर्ष पनि नकुरी दोस्रो बिहे गर्दा उनको आत्माले के भन्ला?'
'श्रीमतीको मृत्युमा बिहे गर्न एक वर्ष कसले कुरेको छ र?’ पण्डितजीले शास्त्रीय कुरा निकाले।
‘के आत्मीयता भन्ने चिजको कुनै अर्थ हुँदैन र गुरु? एक विधवा आफ्नो पतिको यादमा आजीवन विधवा हुन सक्छन् भने पुरुष किन सहन सक्दैनन्?’
बिर्खेले प्रतिवाद गरिरह्यो तर पण्डितजी आफ्नो तर्कमा अडिग।
समय बित्दै गयो, एकदिन आमाले बिर्खेलाई आफ्नो अन्तिम फैसला सुनाउँदै ‘या त बिहे गर् या त मेरो लास हेर्’ भनिन्।
बिर्खे नाजवाफ भयो। रातभरि आँखामा निद्रा परेन। आफ्नी मृत पत्नीसँग बिताएका पलहरू आँखामा झलझली खेलिरहे। यस्तैमा कुखुराको पहिलो डाँकोसँगै ऊ सुत्न पुग्छ।
पत्नी रमा बिर्खेको निधार छाम्छे र भन्छे- ‘अनि किन बिहे नगरेको? बिहे गर न। तिमी लोग्ने मान्छे, सारा समाजले बिहे गर भन्दैछ राम्री केटी खोजी बिहे गर्नू। आखिर हाम्री छोरी पनि त हुर्काउनु छ।'
बिर्खे झल्यास्स बिउँझिन्छ। सपना पो रहेछ! बिर्खे लामो श्वास तान्दै स्तब्ध भयो।