झोला
न बोल्छ, न बुझ्छ
न भाव बदल्छ, न रङ नै
न रुन्छ, न हाँस्छ
मात्र ऊ डुल्छ, डुलाएमा
मात्र ऊ भिज्छ, भिजाएमा
ऊ जे गर्छ इसारामै गर्छ
र पनि
उसले पहिचान बनाएको छ
गरिब र धनीका बीचमा
गाउँ र सहरका बीचमा
जात र वर्गका बीचमा
अचम्म!
यसले एक खाडल बनाएको छ
असमानताको
अनि पहिचानको
केवल
मूल्य र स्वरूपका आधारमा
सबैजसोले बोक्दछन् झोला
र म पनि बोक्छु झोला
हजारौँ मानिसका सपनाहरू बोक्दै
अभावका भारीहरू बोक्दै
पीडा र रोदनका कथाहरू बोक्दै
समृद्विका सपनाहरू बोक्दै
एक नटुङ्गिने यात्रामा
र पनि
म चिनिएको छु
र चिनाइएको छु
केवल एक झोलेका नाममा।