लामो समयदेखिको प्रेम सम्बन्धलाई पूर्णता दिँदै केही महिना यता वैवाहिक जीवनमा छु। यस सम्बन्ध वा सङ्गतले बुझाएअनुसार अपवाद त होला तर स्वभावैले अरूले आफ्नो प्रशंसा गरिदिउन् भन्ने लाग्दो रहेछ, यो बुझ्दैछु।
फेरि आफूले आफूलाई राम्रो छु, ठिक छु भन्दाभन्दै पनि आफैद्वारा खोटहरूको बजार लाग्दो रहेछ, यो पनि अनुभव गरिरहेछु।
‘जिम नगइकन नै एक दिन त मोटो बनिहाल्छ नि शरीर, किन चिन्ता? तिमीलाई हृदयत: प्रेम गर्छु। पुरुष हुँ, स्वभावैले नारीप्रति आकर्षित हुन्छु। फेरि नारी पुरुषप्रति आकर्षित हुन्नन् भनेको हैन। विपरीत लिङ्गीप्रतिको आकर्षण प्राकृतिक कुरा हो तर तिमी र तिम्रो सुन्दरताको प्रशंसक हुँ। मलाई त तिम्रो मन, वचन र तनदेखि कर्म, सर्म सबै प्रिय र खोटरहित लाग्छ प्रिय नू’। उसो त खोटरहित को होला र यस संसारमा, खोट सहितकोलाई स्विकार्नु पो स्विकार्नु त।’
नू’ले फनक्क सारी फन्काएर भनिन्- ‘शरीर चाहिँ कसरी बन्छ ठूलो? कति हतार छ है! छि: पुरुष हुँ भन्ने जनाइहाल्नु पर्ने। बाबै! यौन, नीद र भोकबाट अलिक माथि उठ्नोस्। जीवनमा धेरै थोक गर्न बाँकी छ। उमेरले डाँडा नाघ्यो। कपाल सेताम्मे हुन थाले। के टिनएजरका युवायुवतीको झैँ सपना देखिरा? अलि पाको बन्ने। मुन्छे चिनेर बोल्ने।’
‘आदर्शले पेट भरिन्न नि महारानी! उसो त मेरो आशय त्यो नभए पनि त्यो चाहिँ हो। शारीरिक बनावट त कस्तो देखिने हो कुन्नि हेर्न बाँकी नै छ तर लोभ र कामना यो कुरामा गर्छु कि तिमी सदा यस्तै सुन्दर, शान्त रहिरहनू! पुरुषका लागि नारी सुन्दर बनिदिनुपर्ने हो भन्ने प्रश्नबाट दूर रहनू। तिम्रो सुन्दर र शान्त मुहारमा साहसिक सपनाहरू छचल्किएको बेहद सुन्दर देखिन्छ बस्।’
‘मेरे भाइ, शरीर हो थोडी न तपाईंले चाहेर रोकिएर बस्ने कुरा हुन्छ। बच्ची थिएँ। बालिका भएँ। जवान छु। अर्धबैँसे हुँदै वृद्ध हुने छु। मानव शरीर परिवर्तनशील छ नि महाराज। हरेक परिवर्तनहरूलाई स्विकार्नुपर्छ। गलत तरिकाले चाहिँ हैन। जवान बनेकी हिमान्यकाले जवानीलाई गलत रूपमा प्रयोग गरेरै त अहिले पछुताकी छे।’
‘अँ, त्यो धर्मज्ञको पनि उस्तै छ।’
‘ए बाँदर होस् त्यो धर्मज्ञ या हिमान्यकाको कुरा, सुन्नु त!
साँच्ची, यति बेला भव्य प्रेम गर्छु, तिमी मन पर्छ भन्ने मान्छेले मेरो वृद्धावस्थामा? जति बेला साथ, भरोसाको खाँचो हुन्छ? पुरुषहरू लोभी हुन्छन् रे उनीहरू... जस्तै!’
समाजको व्याप्त पुरुष सत्ताको मनोविज्ञान पनि ओकलिन्। आफ्नो प्रिय मान्छे आफूदेखि टाढा होस्, बाँडियोस् भनेर कुनै पनि महिलाले सोच्दिनन् भलै जति नै अव्यवहारिक पुरुष होस्। वाक्य पूरा नभए पनि मैले उनको कुराको आशय बुझेँ। एकछिन मज्जाले मौनता छायो कोठामा।
‘हतार छ है?’ भन्ने उनको प्रश्न वाणलाई बेवास्ता गर्दै सारी लगाइरहेको मान्छेलाई झ्याप्प अङ्कमाल गरेँ र बेस्सरी च्यापेँ। यही एउटा त्यस्तो माध्यम हो उनीद्वारा अपूरा वाक्यलाई पूरा गर्ने माध्यम, विधि वा समय।
***
सानो बोर्डर भएको सारी खोज्न पूरै एक दिन फालेका थियौँ। अन्तमा निलोमा पिङ्की कलरको भुँइ र सामान्य बुट्टा भएको सिङगापुरे सारी बडो मेहनतले लगाउँदै थिइन्। आँचलका लागि मुजा पारिरहेकी थिइन्। एक्कासी अँगालोमा कस्दा मुजा हातबाट फुस्कियो। मतलब उनको मेहनत खेर गयो। मेरो प्रेमिल शैली भए पनि उनको बचावटजस्तो शैलीको कारण।
हरेक घटना अवसर पनि त हो। आँचलको मुजा हातबाट फुत्कियो त के भो सारी लगाइदिने जिम्मा आफ्नो हातमा आयो।
‘कहाँ बिर्सेको छु र पसलेले नौ/दश वटा सारी जलन हुने गरी-गरी लगाइदिएको। अहिले त हामीले पनि जान्या छम् बाबै सारी लगाइदिन, थोरै हेरिन्थ्यो र युट्युबमा प्रवास हुँदा!’
सदा अँगालोमा बेर्दा निधार चुम्थेँ, यसपालि उनको आदर्श विरुद्ध पनि उत्रिनु थियो। दाहिने घाँटीतिर चुमिदिए। उनी पूर्ण रूपमा कस्सिइन् तर एकैछिनमा झस्किइन्।
‘ओइ मुर्दार! बिहान-बिहानै के नाटक हो? अहिले आमाले पानी... भन्दै आउनुहुन्छ अनि थाहा हुन्छ नि आमाको सांस्कारिक छोराको हरकत। छोड्नू, मात्तेको मान्छे।’
उनको इच्छाविरुद्ध हुन्छ कि, चोट पुर्याउँछु कि यस्ता हरकतले तर खुबै प्रेमिल लाग्ने आफूलाई प्रेमको फैलावट हुने यसरी सताउँदा।
माघ महिना, खासमा सान्भीको बिहेका लागि तयारी गरिरहेका थियौँ। म रातभरिको कामबाट अनिदै जाने निर्णयको साथ नुहाएर हाफ भेस्टमा बसेको थिएँ। उनी म आउनुपूर्व नुहाइसकेकी थिइन्।
नू’ को हर नखरा नै प्रिय हुन्छ। केही दिन अगाडि हाइनेक, कालो पाइन्ट, आफैले बुनेको गलबन्दी, कालो चस्मा पहिलो पटक लगाएको फोटो रिसिभ गरेको थिएँ ह्वाटस्एपमा, राति एघार बजेतिर। त्यति राती नसुतीकन नखरा गरिरहेकोमा रिसाइदिएको थिएँ। फोटो तुरुन्त डिलिट तर कोठा पुग्दा स्वागत स्वरूप दुई तीन भ्वाक्क पिठ्यूँमा खाएपछि भित्रिएको थिएँ।
उनी जिस्किँदै भन्दै थिइन्, ‘आऊ दुलही रानी मध्यरातमा आऊ।’
पाइन्ट लगाएपछि उनी केटा बनिरहेकी थिइन्। उसो त बेलाबखत म उनलाई केटो सम्बोधनमा बोलाउँछु। उनलाई छोरा सम्बोधनमा बोलाउनुको प्रेमानन्दको कुरा नगरूँ। लब यु छोरा फरइभर।
आमाले प्राय: भन्ने गर्नुहुन्छ- ‘तेरो बाउले मलाई कहिल्यै नामले सम्बोधन गरेनन्। ए सुनिस् भनेर बोल्न थाल्ने हो। मेरो उमेरकाहरूले चाहिँ काली, सानी र पहिलो सन्तानको नामको आमा (रामको आमा) सम्बोधनले बोलाउने हुन् तर तँ त अनौठाकै निस्किइस्, बुरीलाई पनि छोरा भन्छस्, केटो भन्छस्।’
आपत्ति त के हुनु र अनौठो लाग्दो रहेछ आमालाई।
***
आज फेरि ब्लाउज बिनाको सारी अर्थात् हाइनेकमाथि सारी लगाउँदै रहिछिन्। घाँटी चुमिरहँदा पो थाहा भयो।
‘यो ब्लाउज त खुला भयो हावाले हान्छ’ भन्दा, ‘भन्न के खोजेको हो थाहा छ। कति टिपिकल हुन परेको होला’ भनी रिसाएकी थिइन्।
लामो कपाल मनपर्ने भए पनि हालसालै कामको सहजताका लागि भनी छोट्टाएकी थिइन्। सारी औधी मनपर्ने भए पनि मेरो जाङे उनैले हो थोत्राउने। यसपालि नरिसाउन् पनि कसरी, यसै गर्न हो या के, सारीको कपडाबाट ब्लाउज बनाउन नपुग्ने भएर कुनै अर्को समय कपडा किनी सिलाउने भनिएको सारी नै सान्भीको बिहेमा हाइनेकमाथि। फेरि सुहाउँछ यार उस्तै।
पहिलोपटक हाइनेकमाथि सारी लगाउने मान्छे देखियो। लगाइदिने म नै हूँ। जीवन अनुभूतिको शृङ्खला हो। अनेक मिठा र प्रेमिल अनुभूतिहरू असङ्ख्य छन् नू’सँग जोडिएका।
प्रिय नू’ म तिम्रा यस्तै अनेक नखरामा जिउन पाउँ।
सारी लगाइदिँदै गर्दा प्रेमिल चकचक पनि गरियो। ‘छोरी कत्री भइन्?’ भनी छोरीको घरलाई अँगालोमा बेरियो। छोरीको पहिलो आवाज सुन्ने लालसाले कान पनि थापियो।
चार महिनाअघि मात्रै लोक सेवाको परीक्षा दिन मदनभण्डारी मेमोरियल कलेज जाँदाजाँदै बाटैमा मिन्स भएकी हुन्। ओहो! प्याड फेर्नका लागि त्यो ठाउँमा ट्वाइलेट नपाएको दु:ख। भएको एउटा होटललाई गरेको बिन्ती। धन्न प्याड म आफैले लिएर हिँड्दिन्छु उनका लागि। त्यसयता प्याड चाहिएको थिएन। अनुमानमा सपनाहरूको रङ्ग उडिरहेको थियो।
मेरा ती प्रेमिक चकचकको प्रतिउत्तरमा कति मुक्का ढाडमा भ्वाक्क-भ्वाक्क खाइयो लेखाजोखाको विषय नै हैन।
‘ल, यो पिनले आँचललाई काँधमा अडाउनू।’
ब्यागबाट पिन झिकेर दिइन्।
सम्बन्धलाई अडाउन पनि त्यो पिनजस्तै एक तत्त्व विश्वास चाहिन्छ। हरेक सम्बन्धहरू विश्वासमा अडेर दुनियाँसामु सुन्दर देखिएका हुन्छन्, आफू खुसी रहन्छन्। सारीमा पिन मात्रै राखिनँ, कान किटिक्क पारियो। बहाना पनि उस्तै टपमा कपाल जेलिएछ। सारीको आँचल अडाउन पिन दिँदा नै आँचल र कपाल गाँठो पारिदिऊँ लागेको थियो।
उनको सिङ्गल तस्बिर खिचेँ। सेल्फी पनि लिएँ। सेल्फी खिच्दा बारबार जिब्रो निकालेकी थिइन्, जुठो खान्न भनेर तर्किनेको जिब्रोलाई जिब्रोले छोइदिएँ।
‘अब झन् माया बढ्छ’ प्याट्ट पाखुरामा हानियो।
एकसुरे हेरिन्।
‘ए! हामीसँगै हिँड्ने मन भए चाँडो कपडा लगाउनू। नत्र जो पायो त्यहीसँग जोडिएर हिँडिन्न है हामी। बजारमा हाम्रो खानदानी इज्जत छ।’
‘अँ, उता साथीको बिहे छ। हाइनेकमाथि सारी लगाउनेले इज्जतको कुरा गर्ने?’
उनी एकाएक सिरियस भइन् म पनि भइहालेँ।
‘बाबा! सुन न!
भलै पीडा बाँड्न नसकुँला महसुस गर्न सक्छु। चोट, दुः ख र पीडा जसलाई पर्छ उसैले व्योहोर्ने हो। तर दुःख र सुख बाँड्न सक्छु। ‘लाज देखिन र भोक बढ्नबाट दुवैले दुवैलाई बचाऔँ। साथ तिम्रो पनि चाहिन्छ मेरो पनि। तिम्रो साथ हौसलाले त यो पुछार घरे शिर ठाडो पारेर उभिन सकेको छ। निष्काम कर्म गर्न नचुकौँ, निष्काम कर्मको फल अवश्य मिल्छ एकदिन। सुख दुःख त जीवन जिउने आधार नै हुन्।’
वातावरण पूरै शान्त भयो। उनले मुन्टो हल्लाएर स्वीकार गरिरहिन्।
***
सारी लगाइदिएँ, कपाल बाटिदिएँ, बाक्लो छ। कोरिदिँदा लट्टा फोड्दा दुख्यो भन्छिन्। रेजर लगाऊ र पातलो बनाऊ भनेको मान्दिनन्। मैले भनेको नमान्नु वा उल्टो गर्नु उनको खान्दानी बानी हो। हल्का शृङ्गार मन पराउने भएकाले ऐना हेर्न नपर्ने गरी सहयोग गरेँ। अन्तमा जुरुक्क उठाएर म खाटमा बसेँ, उनलाई काखमा राखेँ। केही बेर दुवै दुवैलाई हेरी मात्रै रह्यौँ।
‘तपाईंलाई सताइरहन पाउँ है!’
‘तिमीलाई हँसाइ रहन पाउँ है!’
‘लव यु बेबी!’
‘लव यु टू!’
दुवैले बिहानीपखको चिसो-चिसो नाक लडायौँ एकछिन्।
‘वाह! केटो, सारीमा क्या भव्य देखिएकी।’
निधारका केही त्यान्द्रा कपाल कानमाथि राखिदिँदै थिएँ, आमाले बाहिरबाट बोलाउनु भयो।
‘ए नू’ हैन, तिमेरूका खलकले सारी लगाउँदै छौ कि सारी सिलाएर लगाउने हो? ढिला भयो त। म बुढी मान्छे त तयार भइसकेँ। यसो कपाल बाँधिदिए पनि हुने, के हो के हो गुनगुन गरे कोठाबाहिर निक्लनु छैन।’
आमा फतफताउँदै धारातिर जानुभयो।
***
म बिदाइको बेलामा अलमलिन्न। हात हल्लाइहाल्छु। हिँडिहाल्छु। जानेहरू पनि गई हालुन् जस्तो लाग्छ। नजाउन् म आफ्नो बाटो लाग्छु। फर्किएर हेर्दिनँ। छुट्नेहरू गइरहेको पनि डाँडा नकट्दै हेरिरहुँ लाग्दैन तर निर्धक्क हेर्छु गइरहेको।
केहीबेरमा हामी देखिने तीन जना र नदेखिने चारजना फटाफट निस्कियौँ।