ऊ हिँडिरहेको थियो
दौडिन चाहेकै थिएन
तर नियतिले उसलाई दौडायो
दौड नै दौडको यो रङ्गमञ्चमा
ऊ यसरी दौडिँदै छ कि उसको
भूतले वर्तमानलाई नै
पछि छाडेर गैसक्यो
भविष्य त आफै हराइरहेछ
समय बित्न समय नै नलाग्दो रहेछ
उसका सपनाहरू स्खलित भैसके
ऊ चिहान खनिरहेछ
उसलाई अचेल उसका
सपनाहरूको चिताले पनि पोल्दैन
सपनाहरूको मलामी गएर फर्किनु
उसको दिनचर्या नै बनिसक्या छ
निसासिनु त आदत बनिसक्यो
मृत्युको पनि भय छैन उसलाई त
हरेक दिन हजरेक रात मर्छ ऊ
फेरि केही कुराले उठ भनेर
झकझकाउँछ अनि बिउँतिन्छ
आमाले उसलाई निःस्वार्थी
बन्न सिकाउनु भयो
तर यो समाजले
स्वार्थी नभएकै कारण उसलाई
स्वीकारेन
ऊ कालान्तरमा विलुप्त भैदियो
कसैले खोजेनन् उसलाई
फेरि आफ्नो अस्तित्व
बनाउन निस्कियो
आफै हरायो, आफै भेटियो
आफूले आफैलाइ भेट्दा
आँसु बर्सिए
अलिअलि हर्षका
अलिअलि विस्मातका
अलिअलि ग्लानीका
अलिअलि आत्म समीक्षाका
आफूले आफैलाई भेट्न पनि
मरेर बाँच्नु पर्दो रहेछ
ऊ फेरि मर्दैछ
बाँच्नका निमित्त!