एकातिर शैक्षिक रुपान्तरणको सवालमा
बेलगाम बहस चलाइएको छ, चलिरहेकै छ
विभिन्न विकल्पहरूको खोजी भइरहेकै छ
शैक्षिक प्रयोगशालामा परीक्षण पनि भैरहेकै छ
कतै तर्क र बहसका लागि
कतै चर्चा र परिचर्चाका लागि
कतै बौद्धिकता प्रदर्शनका लागि
र, कतै केही परिवर्तन गरौँ न त भन्नका लागि
अर्कातिर, हाम्रा शैक्षिक अभ्यासहरू
उही पुरानै ढाँचामा नै चलिरहेको छ
सिक्ने र सिकाउने कुराको जड
परीक्षामा सोधिने प्रश्नसँग अन्तरसम्बन्धित भएपछि
परीक्षामुखी मानसिकताभन्दा माथि जान नसकिने रहेछ
प्रश्न सोध्ने जिज्ञासु विद्यार्थीभन्दा
उत्तर खोज्ने बफादार विद्यार्थी हाम्रो रोजाइमा परेपछि
जित्ने र जिताउने अस्वस्थ होडबाजी चल्दोरहेछ
र, सिकारुको सिर्जनशीलता परीक्षाको प्राप्तांकमा बिलाउँदो रहेछ
विद्यार्थी मूल्यांकनका प्रक्रियामूखी औपचारिकता
पेपर-पेन्सील टेस्ट, मूल्यांकनको निर्धारित समयको घण्टे परीक्षा
प्राप्तांक वृद्धिका लागि नियन्त्रित परीक्षामुखी गतिविधि
घोकाइ, रटाइ, ठटाइ र कोचाइका निरन्तर श्रृंखला
अतिरिक्त समयको अतिरिक्त सिकाइ?
परीक्षामा लेख्ने तरिका, चोर्ने र चोराउने तरिका
सार्ने र सार्न उत्साहित गर्ने तरिका
हो, अहिले हामी एसइई ‘महान पर्व’ मनाउने तयारीमा छौँ
शैक्षिक गुणस्तर प्राप्तिको स्वैर कल्पनामा
फेरि एकपटक नयाँ छलाङ मार्ने अभियानमा छौँ
त्यसैले त हामी विद्यालय सञ्चालक/प्रधानाध्यापक गम्भीर छौँ
हामी शिक्षक/अभिभावक गम्भीर छौँ
एसइई परीक्षा र नतिजाको निरन्तर विश्लेषण/मूल्यांकन गर्ने
शैक्षिक गुणस्तर र रुपान्तरणकारी शिक्षाको खरो बहस गर्ने
हामी ‘शिक्षाविद्’ गम्भीर छौँ
पत्रकार, राजनीतिक दल, सरकार गम्भीर छौँ
शिक्षा मन्त्रालय, शिक्षाका कर्मचारीहरू गम्भीर छौँ
प्रदेश/स्थानीय तह गम्भीर छौँ
लब्धांक पत्रमा विद्यार्थीहरूको उच्च अंक प्राप्तिका खातिर
सिंगो देश नै यतिखेर गम्भीर छ
हो, यसैका लागि १०-४ को समय अपुग भयो
बिहान झिसमिसेदेखि साँझ अबेरसम्म
हामी विद्यार्थी ‘पढाइरहेका’ छौँ
हर्काइरहेका छौँ, थर्काइरहको छौँ र कक्षाकोठामा कोचिरहेका छौँ
जिन्दगी आफैमा निरन्तर परीक्षा हो भन्ने वास्तविकता भुलेर
केवल परीक्षा तयारीकै लागि परीक्षा लिइरहेका छौँ
परीक्षाको हाउगुजीमा विद्यार्थी र अभिभावक फसाइरहेका छौँ
निरन्तर विद्यार्थी खबरदारीमा हामी व्यस्त छौँ
पढ, पढ भनिरहेकाछौँ
निगरानी र हैरानीको चंगुलमा विद्यार्थीहरूलाई पेलिरहेका छौँ
लब्धांक पत्रको उच्च अंकसँगै
गुणस्तरीय शिक्षाको भाष्यमा
हामी निरन्तर अल्झिरहेका छौँ
विद्यार्थी–अभिभावक अल्झाइरहेका छौँ
रुपान्तरणकारी शिक्षाको नयाँ तलाउ पार गर्न
पुरानो डुंगा चढिरहेका छौँ
र, यसरी नै हामी गुणस्तरीय शिक्षाको नयाँ परिभाषामा
आफूलाई परिभाषित गरिरहेका छौं।