डेढ लिटरको थर्मस हातैमा राखेर बिस्तरामा पल्टिरहेको छ सुवास। रातको १ बजेको छ। सुत्छु भनेर ओछ्यानमा शरण लिएको पनि ३ घण्टा भैसक्यो।
केहीबेर मोबाइल चलायो र आजका प्रमुख घटनाक्रमहरू सरसर्ती हेर्यो। आँखा टट्टाउन थालेपछि मोबाइल राखेर फेरि सुत्न खोज्यो। अहँ! सुत्नै सकेन र मनमा कुरा खेलाएर बसेको छ।
‘राष्ट्र बैंकको परीक्षा आउन अब १५ दिन बाँकी छ, आफ्नो भने तयारी पुगेकै छैन’ मनमनै आफैलाई हकार्छ सुवास।
राजधानी आएर कीर्तिपुरको यो सानो कोठामा बसेको पनि डेढ वर्ष भैसक्यो, खै केही उपलब्धि हात लागेन। न सरकारी कुनै राम्रो ठाउँमा नाम निस्कियो न त केही कमाइ नै गर्न सकियो। यता र उता हल्लिँदै बितेछ यो डेढ वर्ष; लामो सुस्केरा हाल्छ र मनमनै आफैसँग बोल्दै जान्छ।
के-के न प्रगती गरिन्छ भन्ने अठोट लिएर व्यवस्थापनमा स्नातकोत्तर गर्न त आइयो, भरे केही न केही। घरमा फेरि बुवाआमाले काम गर्न पनि दिनुहुन्न।
‘त्यो १५/२० हजार कमाएर के गर्छस्? खर्च भैहाल्छ नि! त्यतिले जीवन धान्दैन अहिले महँगीमा, कतै नअलमलिई ढोका थुनेर २ वर्ष मज्जाले मेहनत गर्। सरकारी बैंकमा नाम निकाल्न प्रयास गर्, यता निजामतीतर्फका अधिकृत पनि भिड्दै गर्। दुइटामा एउटातिर त भैहाल्छ। पैसाको चिन्ता नगर्, मैले निजी विद्यालयमा निमावि तहमा पढएर पनि तँलाई काठमाडौं बसाएर पढाउन अनि बहिनी र भाइको स्कुल कलेजका खर्च धानेकै छु। त्यही भएर लगनशील भएर नाम निकाल्नतिर लाग्। एकैचोटि पछि पैसा त कमाइहालिन्छ नि’ भन्नुहुन्छ।
आफूलाई भने मास्टर्स तह पुगेर पनि घरमा त्यो ४/५ हजार खर्च माग्न जस्तो जटिल केही लाग्दैन।
ऊ थर्मस खोलेर पानी पिउँछ!
यो प्रशासन तर्फको सहायक पदमा प्रतिस्पर्धा पनि के साह्रो हो! पदसंख्या छ २५ वटा, कोटाहरू कटाएर आफूले भिड्ने भनेको त्यही १३/१४ मा हो। अनि आवेदन दिने चाहिँ छन् लगभग २५ हजार। देशमा बेरोजगारीको योभन्दा ज्वलन्त उदाहरण अर्को के होला र!
शैक्षिक योग्यता र सर्टिफिकेटले पनि मान्छेलाई साह्रै थिच्ने रहेछ। १० सम्म पढेको छिमेकी रामेले बिहान र बेलुका यही विश्वविद्यालय क्षेत्रमा चिया बेच्छ, दिउँसो पनि तरकारी फलफूलसम्म भेटेसम्मका कुरा बेच्छ। सबै मोजमस्ती गरेर पनि मासिक ४० हजार जति त मज्जाले बचत गर्छु भन्छ। आफूलाई भने ४ हजार जुटाउन पनि कति गार्हो भएको।
हाम्रो पढाइ पनि गतिलो भएन के! उद्यमी बनाउने पढाइभन्दा पनि विदेशीको सेवक बनाउने पढाइ छ। पढ्यो, लेख्यो, घोक्यो, पास भयो, छैन अरु केही व्यवहारिक ज्ञान। उद्यम गर्न एक त न पैतृक सम्पत्ति छ न त ऋण र अनुदान सहज रुपले पाउन सकियो, ब्याजदर पनि उस्तै चर्को। फेरि परिवारबाट पनि व्यापार व्यवसाय गर्छु भन्दा उत्तिसारो सहयोग पाइँदैन। नेपाली समाजले उद्यमशीलतालाई अंगाल्नै सकिरहेको छैन।
मनमनै कुरा खेलाउँछ अनि परिवार, समाज र राष्ट्र सबैमा आफ्नो असफलताको दोष थोपार्दै जान्छ!
सुवासले झल्यास्स सम्झियो। ओहो! कान्छीको जन्मदिन पो हो त साँची! १२ बजे जन्मदिनको शुभकामना दिन पनि भुलेछु, कस्तो प्रेमी हौ म! खिसिक्क हाँस्छ। हतारहतार इन्स्टाग्राममा जन्मदिनको शुभकामनासहितको कान्छीको सुन्दर तस्वीर स्टोरीमा राख्छ।
कान्छीसँग रिलेशनशिपमा बसेको पनि ५ वर्ष भैसक्यो। सुवासलाई चौपट्टै माया गर्छे र उसले पनि साँचो प्रेम गरेको छ। सम्बन्धमा दुवैजना खुसी भए पनि सुवासको कतै छिट्टै स्थायी जागीर होस् भन्ने उसको कामना छ। ऊ आफै पनि भर्खरै स्नातक सकेर परीक्षाहरू दिँदै र पढ्दै छे, नाम भने कतै निस्केको छैन।
दुई दिनअघि मात्र कान्छीले भन्दै थिई, ‘इन्जिनियरिङ सकेर २ वर्ष नेपालमै काम गरेपछि विदेश जाने मनसाय भएका मान्छे आएका थिए मलाई माग्न। चियासिया खुवाएर पठाइयो सोच्दै गरौंला, स्नातकको सर्टिफिकेटहरू आएपछि कुरा गरौँला भनेर। बाआमा भनिरहनुहुन्छ, राम्रो मान्छे आउँदा बिहे गरिहाल्नुपर्छ। केटीमान्छेको उमेर गुज्रेपछि त गाह्रो हुन्छ छोरी, अहिले पो हुलका हुल केटा हेर्न आउँछन त, ढिला भयो भने त आफै पछि केटा खोज्न जानुपर्ने हुनसक्छ। पढिसक्न दिनुहोस पहिला भनेर जसोतसो टारेको छु, धन्न भनेको चाहिँ मान्नुहुन्छ।’
कान्छीकै कुरा खेलिरहेका छन् सुवासको मनमा; कति माया गर्छे मलाई, जस्तो मान्छे आए पनि छोडेर जान्न पर्खिन्छु भनेर मलाई पढाइमा अझै मेहनत गर्न ढाडस दिन्छे। संघर्षको बेलामा साथ दिने प्रेमिका पो सँच्चा माया हो त। पछि सबै सेटल भएपछि आउने केटीहरू आशे मात्र हुन्छन्, आफ्नो भाग्य ओरालो लागेको बेला छोडिहाल्छन् नि प्रायःले त! त्यो पनि अहिलेको जमानामा।
मनमनै आफ्नै मनलाई बुझाउने मेलो गर्छ सुवास। यो टिकटक र अन्य सामाजिक संजालले पनि उधुमै मच्चाएको छ। सयथरी मान्छेका सयथरी विचार र व्यवहार। सबैलाई १५/२० सेकेण्डको भिडिओमा आदर्श पतिपत्नी बन्नुपरेको छ, सबै नाटक भ्युज र डलरकै लागि मात्र रहेछन्। बिहेमा उसैगरी आयातीत चटकहरूका प्रदर्शन।
त्यस्तै सबै जहिल्यै देखेपछि भावनात्मक केटीहरूमा आफ्नो श्रीमान यस्तो होस् उस्तो होस्, फलाना ढिस्काना सबै निपुणता होस् भनेर नचाहँदा नचाहँदै पनि अपेक्षाहरू बढिहाल्छ नि। अनि हामीजस्ता मध्यम वर्गीय केटाहरू ती सबै चाहनाहरू एकैपटक कसरी पूरा गर्न सकौंला र! कम्तीमामा केही वर्षको समय त चाहिन्छ नि!
सामाजिक संजालप्रति पनि आक्रोश थोपार्न थाल्छ सुवास। कान्छीलाई कति कुराउनु, आफूले केही गर्न सकिएन। उसलाई आफ्नो तरिकाले अर्कै परिवार बसाउन छुट दिने भनेर राम्रो केटा आउँदा मन लाग्छ भने मलाई नपर्ख माया, तिमीलाई घरमा साह्रै प्रेसर होला जस्तो छ पनि भनिहेरेँ। उल्टै हप्काइ पो खाइयो, सबै केटी उस्तै हुँदैनन भनेर।
अझ ‘माया नै गर्नुहुन्न तपाईं त मलाई, म जान्न के टाढा, मलाई विश्वास गर्नू, खुरुखुरु राम्ररी पढेर स्थायी जागीर हुनेबित्तिकै मलाई बिहे गरेर लग्नू। बारबार जा जा भनेजस्तो आशय जनाए एकदिन साँच्चै छोडेर जान्छु अनि थाहा हुन्छ।’
कान्छीका भनाइमा सायद माया देखेर पनि होला, मुसुक्क हाँस्छ सुवास।
नेपाली समाज पनि कहिल्यै उँभो लाग्ने भएन। केटाको कमाइ र केटीको उमेरलाई मात्र आधार मानी पक्षपाती व्यवहार प्रदर्शन गर्न पछि पर्दैन। थुक्क!
एकपटक फेरि समजालाई दोषी ठहर्याएपछि घडी हेर्छ सुवास। ३ बजिसकेछ। ए साँच्ची! लघुवित्तको भरेको आइपियोको नतिजा आज आउने कुरा थियो हेरौँ त भनेर मोबाइल स्क्रीनतिर आँखा र हात डुलाउँछ।
आज पनि परेन, ४० वटा भर्दा जम्मा दुइटा परेको छ, त्यही एउटा हजार मूल्य ब्लक र रिलिज हुँदै यता र उता लुकामारी खेल्ने रहेछ मेरो त!
हातमा खेलाइरहेको थर्मसको बिर्को झुक्केर खोलिन्छ र तन्नाभरि पानीपानी हुन्छ। सुवास फ्याट्ट बोल्छ- ‘अफिसर हुने मान्छेको ताल यस्तो छ अनि कहाँ हुन्छ र!’
ऊ हाँस्दै तन्ना फेर्नपट्टि लाग्छ।