प्रिय प्रविधि,
आज म तिमीलाई एउटा छोटो चिठी लेख्दैछु। तिमी मलाई प्रत्यक्ष रूपमा त सायद चिन्दैनौ होला तर तिमीले मलाई देखेका छौ, सुनेका छौ अनि मेरो मुटुको धड्कन अनुभव गरेका छौ।
तिमीले धेरैसँग एकैदिन यो काम गरेका हुन्छौ अनि बिर्सन्छौ होला खै को हो को भनेर। तर, मेरो संवेदनामा जोडिएको तिमी मेरो लागि एक आशा र भरोसा हौ। म तिमीलाई राम्रोसँग चिन्छु।
तिमी छक्क पर्छौ होला यो जमानामा पनि मलाई चिठी लेख्ने यो प्राचीन मान्छे को होला भनेर। मैले नै यो चिठी पत्र भन्ने कुरा इमेल, इन्टरनेटको रूप धारण गरेर विस्थापित गरिसकेँ भन्ठान्छौ होला। आज मेरै नाममा कसले हिम्मत गर्यो चिठी पठाउने भन्छौ होला। तर विश्वास गर मेरो गाउँमा तिमी आइपुगेकै छैनौ। कृपया यसलाई खोलेर पढिदेऊ अनि मनन गरिदेऊ है!
‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारा घन्काउँदै विश्वभर तिम्रो भव्य स्वागत गरिँदैछ रे। कतिपय विद्यालयहरू, संघ-संस्थाहरू, कलेजहरूमा ‘डिजिटल प्रविधि र नवीनता’ विषयमा कथा, कविता, निवन्ध र वक्तृत्वकलाजस्ता प्रतियोगितात्मक कार्यक्रमहरू पनि भइसकेका छन् रे।
धेरै ठाँउमा तिम्रो आगमनको लागि रातो कार्पेट बिछ्याएर दुलहीजस्तै तिमीलाई भित्र्याउन भव्य तयारी हुँदैछ रे। कति खुसी लाग्दै होला है तिमीलाई? तिम्रो जन्म त धेरै पहिला नै भइसकेको थियो। तिम्रो नाम र कामको बारेमा मानिसहरूले धेरै चर्चा र परिचर्चा गरेका छन् तर अब तिमी जवान भैसकेकी रहिछौ र त तिम्रो जोडी बाँधिएछ, लैङ्गिक समानतासँग।
अब म चिनाउन चाहन्छु म को हुँ भनेर। अहिलेसम्म त गर्भावस्थामा नै रहेकी एक भ्रूण हुँ म। ठिक मार्च आठकै दिन म पनि जन्म लिँदैछु यस धर्तीमा, एक छोरीको रूपमा।
सायद तिमी भित्रिएको धुमधाम र हर्षोल्लास पनि देख्छु कि! तिमीले नै चिनाइदिएकी थियौ रे मेरा आमाबाबुलाई म छोरा हुँ कि छोरी हुँ भनेर, म तीन महिनाकी हुँदा नै। मेरी आमाले अरूसँग कहिलेकाहीँ कुरा गरेको सुनेकी हुँ उहाँको पेटभित्रैबाट।
म तेस्रो छोरीको रूपमा मेरी आमाको कोखबाट जन्म लिँदैछु। मेरी आमा मभन्दा अगाडिका दुई दिदीहरू जन्मिँदा हस्पिटल नै जानुभएन रे। मेरी जेठी दिदी अपाङ्गता हुनुभएकी छ रे अनि माइली दिदी अलिक सुस्त मनस्थितिकी। म गर्भमा बसेपछि मेरो बुबाआमालाई हस्पिटल जान सुझाएछन् घर वरिपरि र आफन्तले। त्यसैले म चाहिँ अहिलेसम्म स्वस्थ छु रे।
त्यो कुरा तिमीले नै थाहा पाएको रे युएसजी गर्दा। तीन महिनामा नै झण्डै निमोठिएकी थिएँ रे म पनि। किनकी मेरो बुबा र घरपरिवारलाई अर्को छोरी चाहिएको थिएन रे।
‘अब छोरी नै किन जन्माउनु पर्यो? यो पनि कि त लाटी कि त अन्धी हुन्छे होला। म यसलाई फालिदिन्छु, आजकल गर्भपतन गर्न कानुनले दिन्छ’ भन्दै बुबाले मादक पदार्थ सेवन गरी गाउँमा हल्ला गर्दै हिँड्नु भएको थियो रे। सोही गाउँमा एक महिला अधिकारकर्मी दिदी पाहुनाको रूपमा आउनुभएको रहेछ र सुन्नु भएछ मेरो बुबाको हल्ला।
भोलिपल्ट घरमा आएर मेरी आमालाई सोध्नु भएछ र वास्तविकता थाहा पाउनु भएछ। स्थानीय पुलिसको सहायतामा हाम्रो घरमा छलफल भएछ र मेरो बुबालाई सावधानी दिइएको रहेछ, लिङ्ग पहिचान गरी गर्भपतन गराइएमा कानुनी सजाय हुन्छ भनेर। त्यसपछि घरमा गर्भपतनको कुरा त उठेन तर जन्मपूर्व नै मेरो बाबुबाट अपहेलित बन्न पुगेकी छु।
हेर न, तिम्रो अनुपस्थितिमा मेरा दिदीहरूको दर्दनाक अवस्था अनि तिम्रो उपस्थितिमा मैले जन्मनु अगावैदेखि पाउन थालेको अवहेलना!
मेरी आमा तिम्रो बारेमा धेरै सोच्नुहुन्छ। घरमा कोही आए कुरा गर्नुहुन्छ- प्रविधि त अलौकिक नै रहेछ, भगवानभन्दा पनि ठूलो भनी।
मेरी आमाले विश्वास गर्ने भगवान मात्र थियो रे। सत्यता त भगवानले मात्र देख्छन् भन्नुहुन्थ्यो रे पहिला। आजकल त प्रविधि जति ठूलो केही रहेनछ भन्नथाल्नु भएको छ। उहाँ यस मानेमा खुसी र विश्वस्त हुनुहुन्छ कि म स्वस्थ छु र यो कुराको विश्वास मेरी आमालाई तिमीले दिलाइदियौ।
उहाँले तिमीसँग प्रार्थना गर्नुहुन्छ- हे प्रविधि! तिमी यसरी आऊ कि तिमीलाई हाम्रो समाजमा भएको लैङ्गिक विभेदको बारेमा थाहै नहोस्। त्यसैले नयाँ प्रविधि तिमी एलियनजस्तै बनेर आऊ, जसले यहाँ सबैलाइ एकै देखोस्। तिम्रो प्रयोग सबैले समान रूपमा गरून्। विनाश होइन, विकासको रूपमा गरून्। तिमीलाइ एउटै घरको श्रीमानले मनोरञ्जनको साधन त श्रीमतीले आफ्नो स्वतन्त्रता र अधिकारको हननको रुपमा नबुझून्। अनि दुष्टहरूले यौन हिंसाको वस्तुको रूपमा त झन् प्रयोग गर्नै नसकून्।
मेरी आमासँगै गाउँका सबै महिलाहरूले यसपालि नारी दिवसको अवसरमा आयोजित कार्यक्रमहरू हेर्न अनि सुन्न चाहनुहुन्छ। तिमी कस्तो छौ त? तिमी अरू के के गर्न सक्छौ? साँच्चै तिमी महिला पहुँचको विस्तारको रूपमा आउँदैछौ त? आँतुर हुनुहुन्छ मेरा गाउँका महिलाहरू तिमीलाई सुन्न।
म आमाको पेट भित्रैबाट सबै कुरा सुनिरहेकी छु। तर अपसोच! मेरी आमा त त्यो दिन मलाई जन्म दिनको लागि हस्पिटलमा हुनुहुन्छ रे, हजुरआमा बुढी भएर कार्यक्रममा जान सक्नुहुन्न रे। अरू काकीहरूको त्यो दिन बारीमा मकै गोड्ने दिन छ रे।
उहाँहरूको सपना छ कि म जन्मेपछि प्रविधिको प्रयोग गर्न सकौँ। महिलाको यथास्थितिमा प्रविधिको प्रयोगले आमूल परिवर्तन ल्याउन सकौँ। लैङ्गिक समानताको लागि तिम्रो साथ लिएर गाउँ-गाउँ अनि ठाउँ-ठाउँबाट विश्वभर महिला सशक्तीकरणका आवाज बुलन्द पार्न सकौँ।
समानता त भएपछि देखिन्छ तर तिमी समतामूलक समाज निर्माणका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, यातायात, न्याय, प्रशासनजस्ता हरेक क्षेत्रमा जोडिएर आऊ। क्षेत्र-क्षेत्र अनि विभिन्न तह र तप्कामा छरिएर आऊ। मेरी आमाको विश्वाससँगै हातेमालो गरेर आऊ।
सभा सम्मेलन ठूला-ठूला तारे होटलका हलमा महिलाभन्दा पुरुष धेरै भएर तिम्रो दिवस नमनाइयोस्। कुना, कन्दरामा बसेका मेरा हजारौं आमाहरूलाई थाहा होस् कि अबका महिला उन्मुक्ति र उत्थानका लागि तिम्रो साथ जरूरी छ। अवसर पाएमा धेरै महिलाहरू भ्यालेन्टिना तेरेस्कोभा, जेन अस्टीन, माया आङ्गेलु, एलिजावेथ, भर्जिनिया उल्फजस्ता बन्न सक्छन्।
म आमाको गर्भभित्र छोरी छु, स्वस्थ छु भनेर बच्चाको स्थिति देख्न सक्ने तिमी प्रविधिले निर्मला पन्त दिदीको हत्यारा चिन्न सकेनौ रे! कि तिम्रो प्रयोग गरेनन् त्यहाँ? आजकल त सेटलाइटबाट सबै कुरा देख्न सक्छौ रे तिमी। सिसिटिभी भन्ने क्यामेरा जताततै राख्न मिल्छ रे। किन होला तिमीले निर्मला दिदीजस्ता हजारौं दिदीहरूको रोदन सुन्न र देख्न नसकेको? कि तिम्रो रेकर्डिङ बन्द थियो या तिम्रो फुटेज फालियो?
हेर अबको केही दिनमै तिमी दुलहीको रूपमा भित्रिँदैछौ। त्यसैले खराब नियतका मानिसहरूबाट हुने यस्ता दुरुपयोगको बारेमा सचेत हुनू। जसरी दुर्गा, काली, सरस्वती, लक्ष्मी, पार्वतीजस्ता शक्तिमाताहरू आवश्यकताअनुसार आफ्नो रूप, क्षमता र चरित्र परिवर्तन गर्थे त्यसरी नै परिवर्तनकारी भूमिका निर्वाह गर्न सक्ने भएर आऊ।
तिम्रो लैङ्गिक समानतासँग जोडिएको तिम्रो लगनगाँठो बलियो होस्। प्रविधिको तिम्रो नयाँ रूप अनि मेरो नयाँ रूप सँगसँगै हुर्काउँ। विकास र परिवर्तन निम्त्याउन हाम्रो साथ एकअर्काका लागि अपरिहार्य छ। तिमीलाई मेरो संसारमा अनि मलाई तिम्रो दुनियाँमा गलत तरिकाले प्रयोग नगरियोस्।
उही तिम्री,
संसार चिहाउन लागेकी गर्भे छोरी।