मेरो अन्तरमनमा यसरी उब्जने हरेक शब्दहरूलाई एक-एक गरी टुक्राएर हेर्यौ भने हरेक शब्दको एक मात्र मतलब निस्किन्छ, त्यो हो तिमी।
म त्यस्ता हरेक शब्दहरूलाई तिमी ठानी एक कागजमा कोर्न खोजिरहँदा मेरा आँखाबाट खसेको एक आँसुको ढिक्काले प्रेमका सबै मिठासहरूलाई एकैपटक मेरो मस्तिष्कमा खसालिदिन्छ अनि प्रश्न गर्छ- तिमी को हौ?
यस्तो प्रश्न गरिरहँदा एक मात्र प्रतिउत्तर आउँछ कि तिमी मेरो अन्तरमन हौ। त्यस्तो मनमा उब्जने हरेक शब्द हौ। हरेक शब्दको अर्थ हौ। अर्थसँग जोडिएको भाव हौ। अनि भावसँग जोडिएको म हौ। खासमा तिमी त म नै हौ।
हावामा उडान भएजस्तै, जुनकिरीमा उज्यालो भएजस्तै, फूलमा सुगन्ध भएजस्तै, घाममा न्यानोपन भएजस्तै, पानीमा निश्चलपन भएजस्तै मभित्र तिमी छौ। तिमी हुनुले नै म हुनुको अस्तित्व राख्छ। एक आमाले सन्तान जन्माए जसरी मेरो मनले जन्माएको सन्तानरूपी प्रेम हौ तिमी। सन्तान हुनुले जसरी एक आमा हुनुमा पूर्णता ल्याउँछ, त्यसरी नै तिमी हुनुले म हुनुमा पूर्णता ल्याउँछ।
तिमीसँगको मेरो प्रेमलाई तिमीसामु व्यक्त गरेर सधैँको लागि तिमीलाई मेरो प्रेम भन्ने हक पाएको दिन हो आज। म आफ्नो मनमा तिमीरूपी जन्माएको प्रेमलाई तिमीसँगै हुर्काउने वाचा गरेको दिन हो आज। प्रेमका भावहरूलाई तिमीसँगै महसुस गरेको दिन हो आज। म शिशिर बनेर रहिरहँदा तिमी वसन्त बनेर आएको दिन हो आज।
तिमी आउनुले मेरो खुसीको सीमा नाघेको दिन हो आज। भगवानप्रतिको विश्वास फेरि जागेको दिन हो आज। प्रेम सँच्चा हुनुले एकदिन अवश्य पूरा हुन्छ भन्ने भनाइको म जीवित उदाहरण बनेको दिन हो आज। एक बगरले खोली पर्खिएझैँ पर्खिरहेको अवस्थामा तिमी आउनु अनि म भित्रको प्रेमले अस्तित्व पाएको दिन हो आज। त्यसैले यो हाम्रो पहिलो प्रेम उत्सव।
पखेटाबिना आकाशमा उड्नुदेखि एक नयनभित्र डुब्नुको महसुस, केही नहुँदा पनि सबै भएजस्तोको महसुस, एकोहोरो केही सपनामा हराइरहनु, कसैसँग सपनामै घर बनाइरहनु, मनले धेरै उचाइ पाएजस्तो, एकै पटक ठूलो खुसीको लहर आएजस्तो। कतै उभिँदा कसैले आड लगाउने आश, कतै लड्दा कसैले हात समाउने विश्वास, एक नजरले हल्लाउने मन, त्यही नजरले फेरि शान्त बनाउने मन, ओहो! हाम्रो पहिलो प्रेमको यो एक वर्ष।
साँच्चै बयान गर्न सकिँदैन केही खुसीहरू, केही मिठासहरू अनि केही रंगिन समय। कसैले आफ्नो सपनालाई बाँच्न पाउँदा कस्तो महसुस गर्छ? आफू सबै खुसीहरूलाई एकैपटक जिउँदा कस्तो महसुस हुन्छ होला? यस्तै-यस्तै समय थियो मेरो लागि।
लाग्छ पूरै एक वर्ष एक पल सकिए जसरी सकिएछ। बस् म हाँसिरहेछु सपनीमै रहेर। तिमीलाई कसरी दिनु मेरो खुसीका प्रमाणहरू? तिमी नमाग्नु केही प्रमाणहरू तर तिमीलाई फेरि अनुभूति गर्ने इच्छा जागेछ भने ती रातहरूलाई सोध्नू जहाँ खुसीको मातले यी आँखा कहिले बन्द भएनन्। नत्र त्यो ऐनालाई सोध्नू जहाँ आफूभित्रको तिमीलाई देखेर कसरी नजानिँदो पाराले मुस्कुराउँथे यी ओठहरू।
अझै प्रमाण खोज्छौ भने त्यो गल्लीलाई सोध्नू, त्यो मौसमलाई सोध्नू, त्यो हावालाई सोध्नू, ती नजरलाई सोध्नू, ती बातहरूलाई सोध्नू, ती बिहानीहरूलाई सोध्नू। त्यो हरेक समयलाई सोध्नू जहाँ हरेक समय मेरो लागि हरेक कहानी बनेका छन् अनि कहिले नछुट्ने बानी बनेका छन्।
तर विडम्बना! समयको खेल, भाग्यका रेखा अनि भगवानको इच्छा जुन अनियन्त्रित भएको कुरालाई सहर्ष स्वीकार गर्नुको विकल्प रहेन। त्यसैले प्रेम हुनुले आफैमा भएको तिमीलाई जीवन्तसम्म सँगै राखुँला तर पनि तिम्रो भौतिक साथ छुट्टिनुको विकल्प रहेनछ।
जे, जसरी, जस्तोसुकै कारण भए पनि तिमीले आफ्नो कर्तव्य पूरा निभाउन बिर्सनूले यो प्रेम टुहुरो कहलिन बाध्य छ। प्रेमका रङ्गिन सपनाहरू रंगहीन भएका छन्। प्रेमसँगै अमूर्त रहने भनि आएका खुसीहरू अस्तित्वहीन भएका छन्। त्यसैले यो प्रेमको अन्तिम वर्ष पनि।
तिमीसँगै हुनुले मात्रै प्रेममा पूर्णता आउँछ भन्ने त छैन। मेरो मनले जन्माएको प्रेम मभित्र नै पूर्ण निर्भर छ। त्यसो त प्रेम आफै अपूर्ण छ जसलाई पूर्ण बनाउन खोज्नु नै मेरो मूर्खता हो। प्रेम निश्चल छ, अमूर्त छ, अमूल्य छ। त्यसैले तिमीसँगको यो प्रेम रहिरहनेछ अनि तिमी मभित्र जीवन्त रहिरहनेछौ।
र, आज यो मेरो प्रेमको पहिलो वर्ष र अन्तिम पनि।