सहस्र वेगसँग आयो अदृष्य ताकत
छेवैमा पुगेर सुस्तरी सुनायो
समाजको एउटा छवि
र भन्यो
‘कुर्नु हुँदैन समाजले लेखिदिने इतिहास’
बिरक्तिँदै किन हिँड्छ्यौ
सप्को भित्र लुकाएर अनुहार
किन भित्रभित्रै पिउँछ्यौ
डिलैनेर पुगेको आँखाको आँसु
त्यसलाई-
पोखिन देउ...
बग्न देउ...
र बगाइदेउ...
तिमीप्रति कोरेको लक्षमण रेखा
आउ,
घामको मुस्कान ओँठमा सजाउ
आकाशको रंगले पोत हृदयको भित्ता
चराका पखेटाहरू उनेर
उन्मुक्त उड
अनि हेर
आँधीको वेगमा तिम्रो तागत
पानीको बहावमा तिम्रो निरन्तरता
अनि फेर आफैंले
समाजको जिर्ण बनेको इतिहास
नारी तिमी कमजोर छैनौ-
एकपटक लेखी हेर
आफैंले आफ्नो इतिहास
र इतिहासको पानामा लेख तिमीले
तिमी जस्तै
युग डोर्याउने चेलीको
जीवनगाथा
बनाउ अदम्य इतिहास
टेक स्वतन्त्रताका पाइलाहरू
मेटीदेउ तिमी उपर कोरिएको अनगिन्ती रोकावटका गन्तव्य
हिम्मतले-
ता~~तो अनि रा~~तो भएर उक्ल
तिमी यो पृथ्वीको छाती चिरेर
आकाश छुन ज्वालामुखी बनेर ।