मायाको हुलाकी बाटो
छोडेर हिँडेको वर्षाैँपछि
कसले पठायो फेरि
मायाको बुट्टे रूमाल
गरेर सहयोगको याचना
आफैंले गलहत्त्याएको सहयोद्धालाई
लेखेको भावुक प्रेमपत्रमा
गरिएको थियो स्वार्थको एक कचाैरा बान्ता
मायाको नाटक
छलछाम, धोका र तिकडमको धुन
सत्तामोहको नाङ्गो दृश्य
र
बान्ताग्रस्त अक्षरहरूको संवाद
टुलुटुलु हेरिरहेको छ देश
सत्ताको राजनीति जस्तै
कसरी गन्हाउन सक्छ यतिबिघ्न माया ?
सम्भावित दुर्घटनाका प्रश्नहरू छोडेर
हलबाट निस्किए दर्शकहरू
पुन: शुरु हुँदैथियो
नाटकको दोस्रो अध्याय
प्रिय दर्शकहरू !
तिम्रा प्रश्नका जवाफ नखोजेसम्म
यसरी नै चलिरहने छ
नाैलो नाटकको अन्त्यहीन श्रृङ्खला
र
सत्ताको खेल ।।